१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १९:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूनिकट केन्द्रीय कमिटी बैठकमा माधव नेपालले उठाएका चार विषय, सदस्यहरूले दिए थरीथरीका सुझाब (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १९:२६:००

आफूनिकट केन्द्रीय कमिटी बैठकमा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चार विषय उठान गरेका छन् । बिहीबार सुरु भएको बैठकमा नेपालले कोरोना महामारी नियन्त्रण, बाढीपहिरो रोकथाम तथा पीडितलाई राहत, महाकाली घटना र वर्तमान राजनीति र पार्टीको अवस्थाबारे विषय प्रवेश गराएका छन् । 

बैठकको अध्यक्षता गर्ने क्रममा नेपालले यी विषय उठान गरेका हुन् । नेपालले एकता प्रक्रिया र वार्ता अघि बढिरहेको उल्लेख गर्दै सम्मानजनक एकतामा जोड दिएका छन् । ‘केही विषयमा सहमति भएका छन्, केही विषय अझै मिल्न बाँकी छन् । एकता हाम्रो इच्छा र चाहना हो, एकताका लागि हामी अझै प्रयासरत छौँ,’ नेपालको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने । 

नेपालले अहिलेसम्मका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे जानकारी गराएको नेतृ दिलु पन्तले जानकारी दिइन् । नेपालले विधि र पद्धतिमै जोड दिँदै अध्यक्ष ओलीले गल्ती–कमजोरी स्वीकार गर्दै अघि बढ्न तयार भए एकता सम्भव भएको बताएका छन् । 

नेपालले छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिने काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले बाढी र पहिरोबाट पीडित नेपाली जनतालाई गाँस, वासको व्यवस्था गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र उद्धारको काममा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले महाकालीमा तुइन तर्ने क्रमा एसएसबीका जवानले डोरी काटेपछि नेपाली युवा बेपत्ता भएको विषयमा यथार्थ सार्वजनिक गर्न तथा दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । 

नेपालले धारणा राखेपछि एमाले उपाध्यक्ष एवं नेपालपक्षीय कार्यदलका संयोजक भीम रावलले १०बुँदे सहमतिबारे विस्तृतमा जानकारी गराएका थिए । उनले कतिपय विषयमा विमति भए पनि एकताको आधार तयार पार्न कार्यदलले १०बुँदे सहमति गरेको स्पष्ट पारेका छन् । उनले कार्यदलमा भएको पटक–पटकको छलफल र सहमतिबारे सविस्तार बताएका थिए ।

बैठकमा नेताहरूले आ–आफ्ना सुझाब दिएका छन् । बिहीबार विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, रामकुमार झाँक्री, प्रेमल खनाल, सावित्रा भुसाल, रविन्द्र अधिकारी, अरुण नेपाल, निरादेवी जैरु, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, सुरेन्द्र मानन्धर, बलदेव चौधरी, भानुभक्त जोशी, नीरज आचार्यलगायतले धारणा राखेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा धारणा राख्ने क्रममा सदस्यहरूले थरीथरीका सुझाब दिएका छन् । बिहीबार धारणा राख्ने प्रायले सम्मानजनक एकता आवश्यक भएको र त्यसमा जोड दिनुपर्ने बताएका छन् । एकताको नाममा आत्मसमर्पण गर्न नहुने र सम्मानजनक एकताका लागि अन्तिम अवस्थासम्म पहल गर्नुपर्ने मत धेरैको रहेको एक सदस्यले बताए । 

केहीले नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् भने केहीले मिल्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।

बैठकको ठोस एजेन्डा नभएकाले आ–आफ्नो ढंगबाट सुझाब दिने काम भएको केन्द्रीय सदस्य नीरज आचार्यले बताए । उनका अनुसार बैठक शुक्रबार पुनः बस्नेछ ।