मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार २२:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा–निधि भेटवार्ता : पौडेल समूहले जथाभावी विवाद झिकेको भन्दै आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार २२:२५:००

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच मंगलबार साँझ भेटवार्ता भएको छ । देउवाको कोर टिमभित्र रहेर लामो समय काम गरेका निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि देउवा–निधिबीच दूरी बढेको छ । 

पार्टीका औपचारिक बैठकमा निधिको सहभागिता पातलिएको थियो । तर, क्रियाशील सदस्यताको विवादले महाधिवेशन नै प्रभावित भएको अवस्थामा देउवा र निधिबीच मंगलबार साँझ करिब एक घन्टा छलफल भएको छ । देउवालाई भेट्न निधि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका थिए । 

भेटमा उपसभापति निधिले अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताका विषयमा समायोजन समितिले सर्वसम्मत रूपमा निर्णय गरेर केन्द्रीय समितिबाट समेत अनुमोदित भइसकेका नेता–कार्यकर्ताको विषयमा पौडेल समूहले अनावश्यक विवाद झिकेको भन्दै आपत्ति जनाएका छन् । 

निधि अन्य राजनीतिक दलबाट आएकाहरूको समायोजन समितिका संयोजक हुन् । ‘हामीले सर्वसम्मत निर्णय गरी केन्द्रीय समितिमा पेस गरेका हौँ । केन्द्रीय समितिले पनि ती विषयलाई टुंग्याइसकेको थियो । अब फेरि तिनै विषय झिकेर विवाद गर्नुको मतलब के हो ?’ निधिले भनेका थिए । 

निधिले बाग्लुङ, सप्तरीलगायत जिल्लामा निर्णय भइसकेको फाइल पुनः खोल्ने काम भएको भन्दै त्यो विधिसम्मत नभएको दाबी गरेका थिए । 

जवाफमा देउवाले ती विषयमा पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा आफ्ना कुरा राख्न सुझाब दिएका छन् । देउवाले क्रियाशील सदस्यताको विवाद सुल्झाएर पार्टीको १४औँ महाधिवेशन गर्ने वातावरण बनाउनसमेत आग्रह गरेका थिए । क्रियाशील सदस्यको विवादबारे छलफल गर्न देउवाले बुधबार दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । 

देउवालाई निधिको आग्रह– सम्पर्क कार्यालय खोल्दै छु, तपाईं पनि आइदिनुस्
सभापतिमा उम्मेदवारी दिने तयारी गरेको भन्दै उपसभापति निधिले देउवालाई यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘मैले पहिले पनि भनेको छु, अहिले पनि भन्छु, सभापतिमा मैले तयारी अघि बढाएको छु, मलाई समर्थन गरिदिनुस् । चाँडै सम्पर्क कार्यालय पनि खोल्दै छु । त्यसमा तपाईं पनि आइदिनुस्,’ निधिले भनेका थिए । 

जवाफमा देउवाले आफूलाई अन्तिमपटक सहयोग गर्न आग्रह गरेका थिए । ‘तपाईं उठ्ने होइन । म उठ्छु । यो मेरो अन्तिमपटक हो । यसपटक तपाईंले मलाई अन्तिमपटक सहयोग गर्नुस् । त्यसपछि १५औँ महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो,’ देउवाले भनेका थिए । 

मन्त्रिपरिषद् समावेशी बनाउन सुझाब
उपसभापति निधिले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ध्यानमा राख्न सुझाब दिएका छन् । गत वर्ष निधिले कांग्रेसको विधानमा समेत समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गर्न अडान लिएका थिए । ‘मन्त्रिपरिषद् विस्तार र गठबन्धनका दलहरूको अवस्थाका विषयमा छलफल भयो । उपसभापतिज्यूले मन्त्रिमण्डल विस्तारलाई समावेशी बनाउन ध्यानाकर्षण गराउनुभयो,’ स्राेतले भन्यो । 

त्यसक्रममा निधिले प्रस्तावित सहकारी बैंक स्थापना, राजर्षि जनक विश्वविद्यालयको जग्गा प्राप्तिको प्रक्रिया, महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रको संगठनात्मक संरचनालगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।