मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जलविद्युतकाे सेयरमा संस्थापकको चलखेल

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०९:१५:००

जलविद्युत् कम्पनीमा लगानी गरेका संस्थापक लगानीकर्ताले ३ वर्षको लकिङ पिरियड समाप्तिपछि सोझै दोस्रो बजारमा सेयर बिक्री गर्न पाउने प्रावधान छ । संस्थापक सेयरलाई सर्वसाधारणसरह नै कारोबार गर्न पाइने सुविधाले संस्थापक लगानीकर्तालाई कम्पनीबाट बहिर्गमन हुने सहज बाटो खोलिदिएको छ । यही सुविधाको लाभ उठाउँदै जलविद्युत् कम्पनीको सेयरमा चलखेल बढिरहेको छ ।

विशेष गरी लकिङ पिरियड खोलेलगत्तै हकप्रद सेयरको घोषणा गर्ने तथा धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन आवेदन दिनुअगावै ठूलो मात्रामा सेयर बिक्री गर्ने प्रवृत्ति पछिल्लो समय जलविद्युत् कम्पनीहरूमा मौलाउन थालेको एक लगानीकर्ताले बताए । ‘साधारणसभाबाट हकप्रदको घोषणा मात्रै गरेर भए पनि सेयर मूल्य बढाउने र संस्थापक लगानीकर्ताले ठूलो हिस्सामा सेयर बिक्री गर्ने प्रवृत्ति मौलाएको छ,’ उनले भने, ‘अहिले धेरैजसो जलविद्युत् कम्पनीले हकप्रदलाई मूल्य पासो बनाइरहेका छन् ।’ 


केही वर्षअघि जलविद्युत् कम्पनीहरूले अनावश्यक रूपमा हकप्रद सेयर जारी गर्न थालेपछि धितोपत्र बोर्डले त्यसलाई रोक नै लगाएको थियो । एकपटक हकप्रद जारी गरेको वर्ष दिन पूरा नभई फेरि हकप्रद जारी गर्न नपाइने व्यवस्था नै गरिएको थियो ।  विद्युत् नियमन आयोगले जारी गरेको विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिकाले बैंकको कर्जा तिर्न हकप्रद सेयर जारी गर्न नपाइने व्यवस्था नै गरेको थियो । तर, हाल निर्देशिका संशोधनका क्रममा उक्त प्रावधान हटाइएको छ भने कम्पनीहरूले कुन ऋण तिर्ने प्रयोजनका लागि हकप्रद जारी गर्न लागेको हो, जानकारी दिनुपर्छ ।

१ प्रतिशतभन्दा धेरै सेयर हुने आधारभूत सेयरधनीले अग्रिम रूपमा हकप्रदबापतको रकम जम्मा गरेको हुनुपर्ने, संकलन भएको रकम ऋण तिर्नकै लागि मात्र प्रयोग गर्न पाउने केही नियम राखेर सहज गरिएको छ । यो पहिलो संशोधनसहित मस्यौदा तयार भएको छ । तर, पुराना कतिपय व्यवस्थामा नियामक निकायले धितोपत्र बोर्डले आँखा चिम्लिँदा यी क्षेत्रका कम्पनीहरूको मूल्य उच्चदरमा बढाएर आधारभूत सेयरधनीहरूले आफ्नो हिस्सा घटाउने गर्दै आएका छन् । ‘दुई महिनायता सेयर बजारमा यो प्रवृत्ति निकै मौलाएको छ,’ नेप्सेका एक अधिकारीले भने । केही समयअघि राधी विद्युत् कम्पनी, हिमालयन पावर पार्टनरमा हकप्रद तथा उच्चदरमा बोनस सेयर घोषणा गर्ने र मूल्य उच्चमा पुगेपछि सञ्चालकहरूले नै सेयर बिक्री गरेको नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । अहिले पुनः केही कम्पनीहरूको हकप्रद जारीको खबर बजारमा प्रवाह गरिएको छ । यही कारण कम्पनीहरूको मूल्य उच्चदरमा बढेको छ । 

हकप्रद जारीमा कडाइ गर्न नसकिने भए वा आधारभूत सेयरधनीलाई सेयर बिक्री गर्न रोक लगाउने अवस्था नभए कम्तीमा संस्थापक सेयर साधारण सेयरमा परिवर्तनपछि मात्रै कारोबार गर्ने व्यवस्था गर्नुपर्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । ‘संस्थापकहरूलाई हकप्रद घोषणापछि सेयर बिक्रीमा रोक लगाउन सकिँदैन,’ नेप्सेका ती अधिकारीले भने, ‘तर लकिङ पिरियडपछि सोझै सेयर किनबेच गर्न नपाइने र त्यसअघि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएमा लगानीकर्ता पहिले नै सूचित भने हुन पाउँथे ।’ 

हाल लकिङ पिरियड सकिएपछि जलविद्युत् कम्पनीको संस्थापक सेयर सोझै सर्वसाधारण सेयरसरह कारोबार हुने गर्छ । तर, सेयर किनबेचअघि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने व्यवस्था गरिएमा संस्थापकहरूको सेयर बिक्रीको जानकारी सबैले प्राप्त गर्ने थिए । सेयर बजारमा सूचनाको निकै महत्व हुन्छ । यस्ता सूचनाले नै बजारमा चलखेल कम गर्न, मूल्य पासो रोक्न सहयोग गर्छ ।