पाल्पाको तिनाउ गाउँपालिका– ३ माथिल्लो सिद्धबाबा मन्दिरनजिकै माथिबाट खसेको ढुंगा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.२च ७३८७ नम्बरको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुंगा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका– ११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।
घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकाेमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जिपचालक चापाकोट नगरपालिका– ५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।