अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। प्रवक्ताबाट राजीनामा दिएका राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरू बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गरेका छन्।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामापत्र बुझाएपछि पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका थिए। केन्द्रीय सदस्य किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधिहरू दुवैतर्फबाट बन्द गर्न आह्वान पनि गरेका छन्। प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजिर बसाउने उनको भनाइ छ।
अहिले नेतृत्वको टकरावका कारण फुटबलको हित नहुने भन्दै राईले अहिले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गरे। पदाधिकारीको रूपमा समितिको कामको विरोध गर्न नमिल्ने भएकाले स्वतन्त्र तरिकाले खबरदारी गर्न राजीनामा दिने निर्णय भएको प्रवक्ता किरण राईले बताए। प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने उनको भनाइ छ।