१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ श्रावण १८ सोमबार o६:३८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

म्यानमारमा २०२३ अगस्टसम्म संकटकाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार o६:३८:oo

निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२३ को अगस्टसम्म संकटकाल जारी रहने घोषणा गरेको छ । सेनाका प्रमुख जनरल मिन आङ हेल्गेन्सले आइतबार सरकारी टेलिभिजनमार्फत दिएको आधा घन्टा लामो भाषणमा संकटकाल दुई वर्ष थपिएको घोषणा गरेका हुन् । यसै वर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई हटाउँदै मिन आङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सैनिक शासन लागू गरेकै दिन सेना प्रमुख किम आङले एक वर्षको संकटकाल घोषणा गरेका थिए । सैनिक कुपछि दैनिकजसो म्यानमारमा सेना र प्रदर्शनकारीबीच झडप भइरहको छ । जनरल मिन आङले म्यानमारमा शान्ति कायम गर्न सेनाले कारबाही गरेको भन्दै आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् । 

जनरल मिन आङले आफ्नै शासनकालमा म्यानमारमा स्वतन्त्र र निष्पक्ष बहुदलीय निर्वाचन हुने दाबीसमेत गरेका छन् । तर, उनले म्यानमारमा कहिले निर्वाचन हुने भने बताएनन् । ‘अघिल्लोपटकको निर्वाचनमा निकै धाँधली भएको थियो, अब हुने निर्वाचनमा यस्तो हुने छैन,’ जनरल मिन आङले भने, ‘निर्वाचित पार्टीले नै देशमा अशान्ति मच्चाइरहेको छ ।’ सेना र प्रदर्शनकारीबीचको झडपमा अहिलेसम्म सयौँ व्यक्तिको निधन भएको छ । गोली लागेर बाँचेका धेरैजसो प्रदर्शनकारीको अवस्था राम्रो नभएको स्थानीय एजेन्सीहरूले जनाएका छन् । म्यानमारमा प्रजातन्त्र पुनर्वहाली गर्ने उद्देश्यका साथ आन्दोलन चलिरहँदा कोभिड–१९ को महामारी पनि एकैसाथ देखियो । जसकारण आन्दोलन सुस्ताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार म्यानमारमा तीन लाख संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म यहाँ नौ हजार तीन सय जनाले ज्यान गुमाएका छन् । सरकारमाथि म्यानमारमा कोरोना नियन्त्रण गर्न प्रभावकारी रूपमा पिसिआर टेस्ट तथा भ्याक्सिन सहज रूपमा उपलब्ध नगराएको आरोप छ । जनरल मिन आङले भने आफूमाथि केही निजी मिडिया तथा सामाजिक सञ्जालले झुठो समाचार फैलाइरहेको आरोप लगाएका छन् । 

जनरल किम आङले सरकारले सकेसम्म सबै जनतासमक्ष भ्याक्सिन उपलब्ध गराउने अभियानका साथ नीति निर्माण भइरहेको जानकारी दिएका छन् । साथसाथै, जनतालाई राहत प्रदान गर्ने उद्देश्यका साथ बिदा उपलब्ध गराइरहेको उनले जनाए । जनताले सरकारको कार्यमा सहयोग गरेको अवस्थामा मात्र म्यानमारमा शान्ति बहाली हुने उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो सरकारले भ्याक्सिनलाई पहिलो प्राथमिकतामा राखेको छ, तर केही झुठा समाचार आएका छन्, विशेषतः सामाजिक सञ्जालमा सक्रिय नेटवर्कहरूले नभएको समाचार बनाइरहेका छन्, हामीले भ्याक्सिनलाई पहिलो एजेन्डा बनाएका छौँ ।’

 ‘भ्याक्सिन वितरणमा  सरकारको हस्तक्षप’
जनरल किम आङले कोभिड–१९ बाट जनतालाई सुरक्षित गर्न सरकारले काम गरिरहेको जनाएका छन् । किम आङले कोभिड–१९ विरुद्ध सरकारको कार्य प्रशंसा गरे पनि वास्वतमा त्यस्तो केही उल्लेखनीय काम नभएको बैंककस्थित बिबिसीका संवाददाता जोनाथन हेडले जनाएका छन् । आन्दोलनमा घाइते भएकालाई उपचार गरिरहेका डाक्टरहरूलाई सैनिकले कब्जामा लिएको उनले दाबी गरेका छन् ।

साथै, निजी अस्पताल वा क्लिनिकले भ्याक्सिन वितरण गर्दा सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ । ‘सेनाले प्रदर्शनकारीलाई सहयोग गरेका दर्जनौँ चिकित्सकलाई गिरफ्तार गरेको छ, सेनाको डरले चिकित्सक लुक्न बाध्य भएका छन्,’ बिबिसीका पत्रकार जोनाथनले भने, ‘कोभिड–१९ का विरामी अक्सिजनको पहुँचभन्दा बाहिर छन्, जसका कारण उनीहरू घरमै मर्न बाध्य भएका छन् ।’ पत्रकार जोनाथनले सेनाका प्रमुखको भाषणले म्यानमार जनता पुनः एकपटक प्याजको खेती गर्न बाध्य हुने भनी प्रतिक्रिया दिएका छन् । ‘यो एक किसिमको अनौठो भाषण हो, राज्य र म्यानमारको परम्पराभन्दा बाहिर निस्केर भाषण आएको छ, यसले शान्त भएका जनता उग्र हुन सक्छन् र पुनः एकपटक सडकमा प्याजका साथ प्रदर्शनकारी आउनेछन् ।’ 

सेना प्रमुख मिन आङले दुई वर्ष संकटकाल थप गरेपछि नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले विरोध गरेको छ । ‘सेनाले म्यानमारमा गृहयुद्धको तयारी गरेको छ, मिन राष्ट्र र जनतालाई कोठाभित्रै राखी शासन चलाउने योजनामा छ,’ एनएलडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।