मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १६ शनिबार ०८:५७:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : तीन राष्ट्रिय रेकर्ड र सहभागितामै रोकियो नेपाल

Read Time : > 4 मिनेट
२०७८ श्रावण १६ शनिबार ०८:५७:००

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट सहभागी गौरिका, एलेक्स शाह तथा कल्पना परियाले आ–आफनो इभेन्ट्समा राष्ट्रिय कीर्तिमान बनाएका छन्, सोनिया भट्ट र सरस्वती चौधरीले औसत प्रदर्शन गरेका छन्

गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालको सहभागितामा खासै केही पविर्तन आएन । उही पुरानै कथा नै दोहोरिएको छ । यद्यपि जापानको टोकियो सञ्चालन भइरहेको ओलम्पिकमा नेपालले ठूलो चर्चाबीच सहभागिता जनाएको थियो । शुक्रबार एथलेटिक्स विधाको सय मिटर स्पिन्टमा धाविका सरस्वती चौधरीको निराशजनक प्रदर्शनसँगै नेपालको टोकियो ओलम्पिक यात्रा पनि समाप्त भएको छ । 

ठ्याक्कै एक साताभित्र चार खेलका पाँचै नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तीन खेलाडीले मात्र राष्ट्रिय रेकर्ड राख्न सफल भए । बाँकी दुई खेलाडी औसत देखिएका छन् । सुटिङका कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय रेकर्ड राखेका छन् । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी चौधरीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकेनन् । ओलम्पिकजस्तो खेलकुदकै महाकुम्भको मेलामा राष्ट्रिय रेकर्ड स्थापित गर्नुको मज्जा नै अलग हुन्छ । यो वेला परियार, सिंह र शाहले यस्तै अनुभूति गरेका छन् । भट्ट र चौधरीले भने ओलम्पिक सहभागी नै करिअरकै ठूलो उपलब्धिका रूपमा लिएका छन् । 

टोकियो ओलम्पिकका नेपाली ओलम्पियन यही उपलब्धि नै ठूलै सफलता मानेर घर फर्किने तयारीमा छन् । समग्रमा भन्नुपर्दा योपटकको नेपालको ओलम्पिक सहभागिता केवल ‘सहभागिता’मै सीमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र सम्बन्धित खेलका पदाधिकारीले टोकियो जानुअघि नै खेलाडीले राष्ट्रिय रेकर्ड र व्यक्तिगत प्रदर्शनमा सुधार हुने अपेक्षा राखेको बताएका थिए । 

कोभिड– १९ का कारण खेलाडीहरूले राम्रोसँग तयारी गर्न नपाएको र यसै कारण ओलम्पिकमा सोचेजस्तो नतिजा नआएको भन्ने तर्क प्रस्तुत अब खेल पदाधिकारीले गर्न सक्छन् । आधिकारिक रूपमा नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता जनाएको हो । समग्रमा नेपाली खेलाडीका प्रदर्शन यस्ता छन् । 

कल्पना परियार (सुटिङ)

सुटिङकी परियारले दश मिटर एयर राइफलमा आफ्नै रेकर्ड सुधार गरी राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । गत शनिबार टोकियोमा परियारले नै पहिलो खेल खेलेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी परियारले ६१६.८ स्कोर गर्दैै राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि कल्पनाकै नाममा १३ औँ दक्षिण एसियाली खेलकुदमा ६१४.५ स्कोरको रेकर्ड थियो । ओलम्पिकमा राष्ट्रिय रेकर्ड बनाउने क्रममा उनले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.१, चौथोमा १०४.१ स्कोर गरेकी थिइन् । 

पाँचौँ तथा अन्तिम सिरिजमा उनले १०३.४ स्कोर गर्दै राष्ट्रिय रेकर्ड बनाइन् । दोस्रो चरणमा पुग्न नसकेकी परियार समग्रमा ४६औँ स्थानमा रहिन् । परियारले ओलम्पिकजस्तो मेघा इभेन्ट्समा राष्ट्रिय रेकर्ड राख्न पाउँदा ज्यादै खुसी भएको बताइन् । निरन्तर रूपमा प्रशिक्षण गर्न पाउँदा आफ्नो रेकर्डमा थप सुधार हुने उनी बताउँछिन् । ‘यस्तो प्रशिक्षण आउने दिनमा पाए, मेरो व्यक्तिगत प्रदर्शनमा अझ सुधार हुन सक्छ,’ परियारले भनिन् । 

सोनिया भट्ट (जुडो)

कल्पनाले राष्ट्रिय रेकर्ड राखेकै दिनमा जुडोकी सोनियाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । ड्र निस्कदा भट्टले महिला जुडो विश्व वरीयताकै नवौँ स्थानमा रहेकी रसियन खेलाडी एरिना डोलगोभासँग प्रतिस्पर्धा गर्ने तय भयो । विश्व च्याम्पियनसिपमै राम्रो नतिजा निकालेकी इरिनाले टोकियोमा ओलम्पिक कमिटीको झन्डामुनि प्रतिस्पर्धा गरेकी थिइन् । पहिलोपटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी भट्टले रिङमा आफूले सक्दो इरिनालाई रोक्ने प्रयास गरेकी थिइन् । तर, जति मिहिनेत लगाए पनि भट्ट इरिना सामु केवल १ मिनेट १६ सेकेन्ड मात्र टिक्न सकिन् । उनी निप्पोन आधारमा पहिलो चरणबाटै बाहिरिइन् । भट्ट वाइल्ड कार्डमार्फत टोकियोमा प्रतिस्पर्धा गरेकी हुन् । दुई वर्षदेखि ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत सोनिया प्रशिक्षणमा थिइन् । सोनियाले पनि टोकियो ओलम्पिकमा खेल्नु नै अहिलेसम्मकै उपलब्धिका रूपमा लिएकी छिन् । अन्य खेलाडीले जस्तै उनले पनि ओलम्पिक खेल्ने सपना पूरा भएको बताएकी छिन् । 

एलेक्स साह (पौडी)

नेपाली पौडीमा पछिल्लो समय स्टार खेलाडीका रूपमा चम्किरहेका एलेक्स शाहले सय मिटर फ्रिस्टायलमा आफ्नै रेकर्ड भंग गरे । सय मिटर हिटमा शाहले ५३.४१ सेकेन्डमा नया राष्ट्रिय कीर्तिमान राखे ।

उनी आफ्नो समूहमा पहिलो भए पनि दोस्रो चरणमा पुग्न सकेनन् । तर, टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य भने शाहले पूरा गरेका छन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औँ सागमा शाहले ४३.१३ सेकेन्डको रेकर्ड राखेका थिए ।

टोकियो अक्वेटिक सेन्टरमा शाह सहभागी इभेन्ट्समा सातजना खेलाडी थिए । उनले कोसोभोका ओल्ट कोन्डिरोली तथा प्यालेस्टाइनका याजान अल बावावलाई पछि पारे ।

शाहले पहिलो ५० मिटर २५.८१ सेकेन्डमा पूरा गरेका थिए । शाहले दोस्रो ल्यापको सुरुदेखि नै स्पिड बढाउँदै कोसोभो तथा प्यालेस्टाइनका खेलाडीलाई मौका नै दिएनन् । शाहले सहभागिता जनाएको हिटमा ७० जना खेलाडी थिए । समग्रमा उनी ५९औँ स्थानमा रहे । 

गौरिका सिंह (पौडी) 

नेपाली पौडी इतिहासकै सर्वाधिक सफल खेलाडी गौरिका सिंहको यो दोस्रो ओलम्पिक सहभागिता थियो । सन् २०१६ को रियो ओलम्पिकमा उनी सहभागीमध्ये कान्छी खेलाडीका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सिंहले टोकियोमा राष्ट्रिय रेकर्ड सुधार्ने बताएकी थिइन् । टोकियोमा लक्ष्य भेटाए पनि सिंहको प्रदर्शन भने सामान्य नै रह्यो । सय मिटर फ्रिस्टायल हिटमा सिंह चार खेलाडीमध्ये तेस्रो भइन् । उनले निर्धारित दूरी १ मिनेट ०.११ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सिंहले लङ कोर्समा राष्ट्रिय कीर्तिमान स्थापित गरेकी हुन् । सन् २०१९ को दक्षिण कोरियामा भएको फिना विश्व च्याम्पियनसिपमा उनले १ मिनेट ०.६२ सेकेन्डको रेकर्ड बनाएकी थिइन् । यसअघि उनले १३औँ साग तथा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सट कोर्समा रेकर्ड बनाएकी थिइन् ।

सिंहले टोकियोमा राष्ट्रिय रेकर्ड सुधार गर्ने लक्ष्य पूरा भएको बताएकी छिन् । ‘मैले सकेसम्म ओलम्पिकका लागि राम्रो तयारी गरेकी थिएँ, रेकर्ड राख्न पाउँदा खुसी छु,’ सिंह भन्छिन्, ‘सट कोर्समा प्रशिक्षण गर्न पाउँदा योभन्दा राम्रो नतिजा आउन सक्थ्यो ।’ 

सरस्वती चौधरी (एथलेटिक्स )

टोकियो ओलम्पिकमा नेपालबाट अन्तिम प्रतिस्पर्धीकी रूपमा एथलेटिक्सकी चौधरीले शुक्रबार प्रतिस्पर्धा गरेकी थिइन् । चौधरी भाग्यमानी खेलाडी हुन् । गोपीचन्द्र पार्कीको स्थानमा चौधरीले ओलम्पिक खेल्न अवसर पाएकी हुन् ।

नेपाल ओलम्पिक कमिटी तथा नेपाल एथलेटिक्स संघको गल्तीका कारण गोपीले अन्तिम समयमा ओलम्पिक गुमाए । महिला कोटामा चौधरी भाग्यमानी खेलाडी हुँदै टोकियो ओलम्पिकमा स्थान पक्का गरिन् ।

हुन त चौधरीको ओलम्पिक खेल्ने सपना असम्भवजस्तै थियो । तर, चिट्ठा परेपछि चौधरीले सय मिटर स्पिन्टमा प्रतिस्पर्धा गर्न अवसर पाइन् । यद्यपि उनले आफ्नो रेकर्डसमेत सुधार गर्न सकिनन् । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ।

निकै छोटो समयको तयारीसाथ हिँडेकी चौधरीले ओलम्पिक खेल्ने सपना पूरा भएको बताइन् । ‘ओलम्पिक खेल्न लक्ष्य पूरा भएको छ,’ खेलपछि उनले भनिन्, ‘टोकियोमा नेपालको नाम राख्न पाएँ, यसैमा गर्व छ ।’ अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण गर्न पाउँदा आगामी दिनमा प्रदर्शन अझै सुधार हुने उनको भनाइ छ । 

छनोट चरण पार गरेका संगिना र दीपक
ओलम्पिकमा केवल दुई खेलाडीले मात्र छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाए । सन् २००४ मा संगिना वैद्य तथा सन् २००८ मा दीपक विष्टले मात्र छनोट चरण पारी गरी ओलम्पिकमा स्थान सुरक्षित गरेका थिए । संयोगले वैद्य र विष्ट तेक्वान्दोका खेलाडी हुन् । 

वैद्य र विष्टबाहेक अन्य नेपाली खेलाडीले हालसम्म अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले प्रदान गरेको वाइल्ड कार्ड तथा अन्य कोटा माध्यमबाट ओलम्पिकमा सहभागी भएका छन् । यसपटक दुई वाइल्ड कार्ड तथा तीन खेलाडी युनिभर्सालिटी कोटाबाट टोकियोमा स्थान पक्का गरेका हुन् ।