पूर्वनिर्धारित सूचीअनुसार बिर्तामोड नगरपालिका क्षेत्रका यातायात मजदुरले शुक्रबार खोप लगाउने पालो थियो । सयौँको संख्यामा पुगेका उनीहरू स्थानीय देवी मावि खोप केन्द्रमा चर्काे घाममुनि बिहानैदेखि लाइनमा उभिएका थिए । तर, दिनभर लाइनमा बसिसकेपछि नगरपालिकाले खोप नभएको भन्दै उनीहरूलाई यसै फिर्ता पठायो ।
त्यसको केही समयपछि बिर्तामोड नगरपालिकाका कोरोना फोकलपर्सन ओम खड्का एक स्थानीय होटेलमा देखिए । त्यहीँ रहेका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले उनको गतिविधि शंकास्पद पाइएपछि तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले केरकार गर्दा दुई सय डोज खोप लुकाएको अवस्थामा भेटियो ।
‘अहिले विद्यार्थीको परीक्षा धमाधम हुँदै छ । झापामा लकडाउन भएकाले कसरी सहज गर्ने भन्ने विषयमा छलफल गर्दै थियौँ । सुरुमा खड्काले हामीलाई नदेखेर होटेलको रिसेप्सनको काउन्टरमा खोप राखे,’ अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले भने, ‘स्वास्थ्यको गाडी देखेपछि हामीलाई शंका लाग्यो र होटेलका स्टाफलाई सोध्दा उल्टै खोप अर्कैतिर लुकाए । पछि खड्का पनि आएपछि केरकार गर्दा खोप भेटियो । उनीहरूले बारम्बार दोधारे कुरा गरेपछि हामीले जिल्ला प्रशासन कार्यालयमा खबर गर्यौँ ।’
खोपसहित खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । ‘स्थानीयले होटेलमा खोप लुकाएको सूचना दिएपछि हामीले गएर खोप र कर्मचारीलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘खोप लुकाउनेलाई कारबाही गर्ने हाम्रो कार्यक्षेत्रमा पर्दैन । स्वास्थ्य कार्यालय झापालाई शुक्रबार साँझ नै बुझायौँ ।’
तर, बिर्तामोड नगरपालिकाले भने खोप लुकाएको नभई खोप लिन जाँदा गलत बुझाइ भएको प्रतिक्रिया दिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव सिवाकोटीले भने, ‘बिहीबार स्वास्थ्य कार्यालयले मागेजति खोप पठाइदिएन । शुक्रबार अलिकति पठाएको थियो । त्यही लिन जाँदा स्थानीयले खबर गरेका हुन् ।’