रोल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ । शुक्रबार रोल्पा नगरपालिकाको रेउघामा लुम्बिनी प्रदेश सांसद दीपेन्द्र कुमार पुनले रिबन काटेर सेवा केन्द्रको शुभारम्भ भएको घोषणा गरे । लामो समयको प्रयासपछि रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको भन्दै सरोकारवालाहरूले खुसी व्यक्त गरे ।
सेवा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद दीपेन्द्रकुमार पुन ‘सिजल’ले रक्तसञ्चार सेवा केन्द्र स्थापनाका लागि रेडक्रससहित सरोकारवाला निकायहरूले विभिन्न चरण पार गर्दै आएको चर्चा गरे । यसअघि आपतकालीन रूपमा विभिन्न व्यक्तिको सहयोगमा रगत अभाव पूर्ति हुँदै आए पनि अब भने त्यो समस्या दूर भएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारले रगत अभावका कारण रोल्पालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । स्थानीय तहहरूको तर्फबाट बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रेडक्रसको अगुवाइमा जिल्लाका दशवटै स्थानीय तहले आर्थिक साझेदारी गरेको बताए । उनले रक्तसञ्चार सेवा केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा तीन लाख दिएको र अहिलेको नीति तथा कार्यक्रममै राखेर पाँच लाख विनियोजन गरिएको जानकारी दिए । अन्य गाउँपालिकाले पनि रकम उपलब्ध गराएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्थापनासँगै त्यसको दिगोपनका लागि पनि सोच्नुपर्ने भन्दै कोष खडा गरेर गएमा दीर्घकालीन हुने बताए । ‘रक्तदान जीवन दान’ भन्ने नारालाई अझ प्रभावकारी तथा व्यापक बनाई रगत दान गर्न अभिप्रेरित गर्नुपर्नेमा उनको जोड थियो । प्रजिअ सापकोटाले कोषका लागि भन्दै १५ दिनको रुपैयाँ २० हजार तलब दिने घोषणासमेत गरे ।
रक्तसञ्चारको शुल्क निर्धारण
ब्लड बैंक सञ्चालनका लागि रेडक्रसले एकजना ल्याब टेक्निसियन नियुक्त गरेको छ भने एकजना रोल्पा अस्पतालले उपलब्ध गराउने गरी सम्झौता भएको छ । यसअघि नै सरोकारवाला निकायको बैठकले ब्लड प्रयोगमा आवश्यक ब्लड बैंकलगायतका सामग्री किन्नका लागि शुल्कसमेत निर्धारण गरेको छ । जसअनुसार बिरामीले ब्लड प्रयोग गरेमा नौ सय रुपैयाँ खर्च लाग्नेछ ।
सरकारले निःशुल्क ब्लड लिने प्रावधान बनाएका कारण ब्लड प्रयोग गरेबापत तिर्नुपर्ने नौ सय रकम सरकारले तिरिदिने र रगत प्रयोगकर्ताले निःशुल्क पाउने रोल्पा अस्पतालका डा. प्रकाश बहादुर बुढाले बताए । तर, रगत प्रयोग नगरेमा रक्त दाताको क्रम म्याचिङका लागि लाग्ने तीन सय ५० रुपैयाँ भने बिरामीले व्यहोर्नुपर्नेछ । त्यस्तै, जुनसुकै व्यक्तिले पनि रगत समूह जाँच गर्नुपरेमा ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । लामो समयदेखि रगत अभावलाई टार्न विनोद डाँगी नेतृत्वका युवाहरूको समूह ‘ब्लड फर रोल्पा’, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत युवाहरू र स्वास्थ्यकर्मीले समेत रगत दिँदै आएका थिए ।