
विराटनगर भन्सारले आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेन । कोरोना संक्रमणकालमा अघिल्लो वर्षको भन्दा अधिक राजस्व संकलन गर्न सफल भए पनि लक्ष्यभन्दा ६ अर्ब ६७ करोड कम राजस्व असुलीमा चित्त बुझाउनुपरेको छ ।
सार्वजनिक प्रगति विवरणअनुसार विराटनगर भन्सारले आर्थिक वर्ष ०७७/७८ मा ८८ दशमलव ४५ प्रतिशत अर्थात् कुल ४० अर्ब ८१ करोड ९० लाखबराबर मात्र राजस्व संकलन गरेको छ । जब कि लक्ष्यचाहिँ ४६ अर्ब १४ करोड ९५ लाख रहेको थियो ।
भन्सार प्रमुख शिवप्रसाद भण्डारीका अनुसार गत वर्ष फेरि वैशाखदेखि कोरोनाको दोस्रो लहरले गर्दा लकडाउन सुरु भएकोले विराटनगर भन्सारको राजस्व असुलीमा अघिल्लो वर्षझैँ प्रत्यक्ष प्रभाव परेको थियो । त्योभन्दा अघिका महिनाहरूमा भने साउनदेखि चैत महिनासम्मको राजस्व असुली प्रगति सन्तोषजनक रहेको थियो ।
भन्सारले गत वर्ष वैशाखमा ५ अर्ब ४९ करोड लक्ष्य रहेकोमा ३ अर्ब ५२ करोड, जेठमा ५ अर्ब ४९ करोड लक्ष्य रहेकोमा ३ अर्ब २७ करोड अनि असारमा ४ अर्ब २५ करोड लक्ष्य रहेकोमा ३ अर्ब ७२ करोडबराबर मात्र राजस्व संकलन गरेको थियो । तीभन्दा अघिल्लो महिनाहरू माघ र फागुनबाहेक सबैमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको थियो ।
अघिल्लो वर्ष २० अर्ब कम राजस्व असुली
आर्थिक वर्ष ०७६/७७ मा विराटनगर भन्सारले ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्बबराबर मात्र राजस्व संकलन गरेको थियो । जब कि अघिल्लो वर्षको लक्ष्य ४९ अर्ब ६४ करोड रहेको थियो ।