Skip This
बिमा व्यवसाय २७ प्रतिशतले बढ्यो, तर बढेन पहुँच
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार o८:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिमा व्यवसाय २७ प्रतिशतले बढ्यो, तर बढेन पहुँच

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार o८:३९:oo

करिब १० अर्बका बिमा पोलिसी निष्क्रिय 

गत आर्थिक वर्ष ०७७/७८ मा बिमा व्यवसाय करिब २७ प्रतिशतले वृद्धि भएको छ । बिमा समितिको तथ्यांकअनुसार गत आवमा कम्पनीहरूले १ खर्ब ५२ अर्बको बिमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले १ खर्ब २० अर्बको बिमाशुल्क संकलन गरेका थिए । 

कोरोना महामारीले विश्वका हरेक क्षेत्र प्रभावित भइरहँदा नेपालको बिमा क्षेत्रमा भने खासै प्रभाव परेको देखिँदैन । कम्पनीहरूले अनलाइनमार्फत पनि सेवा सञ्चालन गरेकाले व्यवसायमा असर नपरेको समितिले जनाएको छ । लकडाउन अवधिमा तुलनात्मक बिमा पोलिसी कम बिक्री भएकाले आगामी वर्ष भने बिमा क्षेत्र प्रभावित हुन सक्ने समितिको अनुमान छ । यद्यपि, समितिले बिमाशुल्क भुक्तानी अवधि, मोटर बिमाशुल्कलगायतमा छुट प्रदान गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

जीवन बिमा व्यवसायमा २८ प्रतिशत वृद्धि
गत आर्थिक वर्षमा जीवन बिमा व्यवसाय २८ प्रतिशतले बढेको छ । समितिको तथ्यांकअनुसार चालू आवको असार मसान्तसम्ममा कम्पनीहरूले १ खर्ब २० अर्ब रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले ९४ अर्ब ३८ करोड रुपैयाँ जीवन बिमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । 

गत आवमा जीवन बिमा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत ४१ अर्ब ९७ करोड संकलन गरेका छन् । नवीकरण बिमाशुल्कबापत भने ७८ अर्ब ३५ करोड संकलन गरेका छन् । त्यस्तै, वैदेशिक रोजगार बिमाशुल्कबापत ६३ करोड रुपैयाँ आर्जन गरेका छन् । सो अवधिसम्ममा कम्पनीहरूले ७९ लाख २६ हजार जीवन बिमा पोलिसी बिक्री गरेका छन् । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीहरूले जारी गर्ने वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी भने करिब ५० प्रतिशतले घटेको छ । गत आवमा कम्पनीहरूले ६ लाख ८६ हजार ६ सय ४७ वैदेशिक रोजगार बिमा पोलिसी बिक्री गरेका थिए भने अघिल्लो आवको सोही अवधिमा १३ लाख ८१ हजार पोलिसी बिक्री गरेका थिए । गत आवमा लकडाउनका कारण वैदेशिक रोजगारी पूर्ण रूपमा प्रभावित भयो । सोही कारण गत आवमा पोलिसी बिक्री संख्या ह्वात्तै घटेको हो । 

२२ प्रतिशतले बढ्यो निर्जीवन बिमा व्यवसाय 

चालू आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरूले ३१ अर्ब ७० करोड बिमाशुल्क संकलन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा २२ दशमलव ५४ प्रतिशतले बढी हो । बिमा समितिको तथ्यांकअनुसार अघिल्लो आवमा कम्पनीहरूले २५ अर्ब ८७ करोड बिमाशुल्क संकलन गरेका थिए । गत असार महिनामा मात्रै कम्पनीले ३ अर्ब ५० करोडको व्यवसाय गरेका छन् । 

गत आवमा निर्जीवन बिमा कम्पनीहरूले २७ लाख ३१ हजार बिमा पोलिसी जारी गरेका छन् । असारमा मात्रै कम्पनीहरूले ३ लाख २९ हजार पोलिसी जारी गरेको समितिको तथ्यांक छ । कम्पनीहरूमा ४ हजार ९ सय ३५ कर्मचारी कार्यरत छन् । २० वटा निर्जीवन बिमा कम्पनीका ९ सय ४४ वटा शाखा सञ्चालनमा छन् । गत असारमा मात्रै कम्पनीहरूका ४२ वटा शाखा थपिएका थिए । 

 व्यवसाय बढ्यो, तर बढेन पहुँच
गत आवमा जीवन बिमा व्यवसायमा उत्साहजनक वृद्धि देखिए पनि बिमा पहुँचमा भने खासै वृद्धि भएन । लकडाउनका कारण गत आवमा बिमा पहुँच बढ्न नसकेको समितिको भनाइ छ । समितिका अनुसार गत आवमा बिमा पहुँच करिब २५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने बिमाको पहुँच २३ प्रतिशत रहेको थियो । 

जीवन बिमा कम्पनीहरूले जारी गर्ने वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसीलाई समेत गणना गर्ने हो भने गत आवमा बिमाको पहुँच २७ प्रतिशत पुगेको छ । गत आवमा नेपालमा सञ्चालित सबै बिमा कम्पनीहरूको शाखा कार्यालय संख्या २ हजार ९ सय ३३ पुगेको छ । अघिल्लो आवमा शाखा संख्या जम्मा २ हजार ७ सय ४२ थिए । त्यस्तै, कर्मचारीको संख्या १० हजार ७ सय ५२ पुगेको छ । जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ३८ अर्ब २१ करोड पुगेको छ भने निर्जीवन बिमा कम्पनीहरूको १९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । 

करिब १० अर्बबराबरका बिमा पोलिसी निष्क्रिय 
गत आवमा करिब १० अर्बबराबरका जीवन बिमा पोलिसी निष्क्रिय भएका छन् । बिमा समितिको तथ्यांकअनुसार गत आवमा १९ जीवन बिमा कम्पनीका ६३ हजार ३ सय ३१ बिमा पोलिसीबराबर ९ अर्ब ८८ करोड १४ लाखबराबरका जीवन बिमा पोलिसी व्यतीत भएका छन् । 

जीवन बिमा कम्पनीहरूको संख्या थपिँदै जाँदा पोलिसी व्यतीत हुने क्रम पनि बढ्दै गएको छ । कम्पनीहरूबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण पोलिसी व्यतीत हुन थालेको समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कम्पनीहरूले नियमभन्दा बाहिर गएर अभिकर्ताहरूलाई विभिन्न सुविधा दिन थालेपछि अभिकर्तामार्फत नै बिमितहरूले पोलिसी व्यतीत गराउन थालेको उनले बताए ।  

ad
ad
ad
ad