१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार १o:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १o:५१:oo

मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो 

गत आव ०७७/७८ मा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्बले बढ्दा कर्जा लगानी ८ खर्ब वृद्धि भएको छ । गत आवमा वाणिज्य बैंकहरूको निक्षेप ३४ खर्ब ८७ अर्बबाट वृद्धि भएर ४२ खर्ब १ अर्ब पुगेको हो । 

त्यस्तै, कर्जा लगानी २९ खर्ब ३ अर्बबाट बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको तथ्यांक छ । सो अवधिमा निक्षेप २० दशमलव ४८ प्रतिशतले बढ्दा कर्जा लगानी २८ दशमलव १६ प्रतिशतले बढेको छ । गत आवको मौद्रिक नीतिले भने कर्जा लगानीको वृद्धि २० प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २ खर्ब ३७ अर्ब रुपैयाँले कर्जामा वृद्धि भएको छ । 

बैंकहरूले निक्षेप रकमको करिब ८८ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् । बैंकहरूले प्राथमिक पुँजी र निक्षेप रकमसमेत जोडेर हुने रकमको भने ७७ दशमलव ३८ प्रतिशत कर्जा लगानी गरेका छन् । 

यसलाई सिसिडी रेसियो भनिन्छ । कोभिड प्रभावका कारण राष्ट्र बैंकमा राख्नैपर्ने अनिवार्य नगद मौज्दात कुल निक्षेपको ४ प्रतिशतबाट घटाएर ३ प्रतिशत बनाउनुपर्ने व्यवस्थाले समेत बैंकहरूसँग कर्जा लगानीका लागि थप स्रोत उपलब्ध भएको हो । त्यस्तै, राष्ट्र बैंकले यो अवधिमा बैंकहरूलाई करिब १ खर्ब ४८ अर्ब रुपैयाँ पुनर्कर्जासमेत लगानीका लागि उपलब्ध गराएको थियो ।  

कोभिडको प्रभावबीचमा पनि कर्जा विस्तार उच्च भएको भन्दै राष्ट्र बैंकले कर्जा लगानी प्रवृत्तिको अध्ययन गरिरहेको बताए पनि हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । कर्जा लगानी प्रवृत्ति अध्ययन गरिरहेको राष्ट्र बैंकले यसैअनुरूप आगामी मौद्रिक नीतिमा ठोस कदम चाल्ने आशंका गरिएको छ । 

करिब १० महिनाको तथ्यांकले भने सबैभन्दा धेरै कर्जा सेयर धितोमा बढेको देखिन्छ । यो ८७ प्रतिशतसम्मले वृद्धि भएको छ । यद्यपि, बैंकरहरूले गत आव अन्त्यसम्म कुल कर्जाको ५ प्रतिशत मात्रै सेयर धितो कर्जा गएको प्रक्षेपण गरेका छन् । यस आधारमा असारसम्ममा सेयर धितोमा १ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  

१७ बैंकको निक्षेपभन्दा कर्जा वृद्धि धेरै

१७ वाणिज्य बैंकको निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी देखिएको छ । नेपाल बैंक, नबिल, मेगा, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेपभन्दा कर्जा वृद्धि धेरै देखिएको हो । एक वर्षमा नेपाल बैंकको २० अर्बले निक्षेप बढ्दा ३७ अर्बले कर्जा बढेको छ ।

त्यस्तै, नबिलको करिब ३५ अर्बले निक्षेप बढ्दा कर्जा ५२ अर्बले, मेगाको करिब १३ अर्बले निक्षेप बढ्दा कर्जा २७ अर्बले बढेको छ । इन्भेष्टमेन्ट बैंकको निक्षेप ७ अर्बले बढ्दा कर्जा १५ अर्बले र स्ट्यान्डर्डको निक्षेप करिब ३ अर्ब रुपैयाँले घट्दा कर्जा १४ अर्बले बढेको हो ।

निक्षेप रकम घट्नेमा नेपाल एसबिआई बैंकसमेत छ । बैंकको अघिल्लो आवको तुलनामा ४ अर्बले निक्षेप रकम घटेर १ खर्ब ६ अर्बमा सीमित भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा सिभिल, सिटिजन्स र एनआइसी एसियाको कर्जा लगानी भने सबैभन्दा धेरैले बढेको छ ।

सिभिलको कर्जा लगानी करिब ५५ प्रतिशतले बढेर ८३ अर्ब रुपैयाँ पुगेको हो । सिटिजन्स र एनआइसी एसिया दुवैको कर्जा लगानी ५२ प्रतिशतले बढेर क्रमशः १ खर्ब २३ अर्ब र २ खर्ब ६४ अर्ब पुगेको हो ।

ad
ad
ad
ad