मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Wednesday, 18 December, 2024
विजयराज खनाल काठमाडौं
२o७८ श्रावण १ शुक्रबार १o:५१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको २९ करोड कित्ता प्रोमोटर सेयर पब्लिक हुन सक्ने, बाफियाको व्यवस्था कार्यान्वयन गरिदिन सञ्चालकको माग

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार १o:५१:oo

बैंक स्थापना भएको १० वर्षपछि संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्न पाउने व्यवस्था बाफियामा छ, त्यसअनुसार १० प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न पाइन्छ, राष्ट्र बैंकले पुनः एकपटक यो व्यवस्था कार्यान्वयन गर्न दिए करिब २९ अर्ब रुपैयाँ मूल्यको सेयर सर्वसाधारणमा परिणत हुनेछ

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन भए तत्कालै २९ करोड कित्ता सेयर सर्वसाधारणमा परिणत हुने देखिएको छ । सो व्यवस्था कार्यान्वयन गरिदिन बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले राष्ट्र बैंकसँग मागसमेत गरेका छन् । बजार कारोबार रकम उच्चदरमा बढेको समयमा सेयर बिक्री गर्न सजिलो हुने भएकाले राष्ट्र बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्राइज बैंकका अध्यक्ष मोतीलाल दुगडले बताए । ‘अब राष्ट्र बैंकले बैंकहरूको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन हुन सक्ने व्यवस्था कार्यान्वयन गरिदिनुपर्छ,’ दुगडले भने । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन २०७४ अनुसार बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको १० वर्ष पुगेपछि पुँजी बजार, बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावसमेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक सेयर क्रमशः सर्वसाधारण सेयरमा परिणत गर्न सकिन्छ । यसअघि करिब २० प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन गर्न दिइएको थियो । ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेका अधिकांश बैंकहरूले प्रत्येकपटकमा १० प्रतिशतका दरमा सेयर स्वामित्व घटाएर ५१ मा सीमित पारेका थिए । एकैपटकमा सेयर परिवर्तन गर्दा पुँजी बजारमा असर पर्न सक्ने भन्दै क्रमिक रूपमा परिवर्तन गर्न दिइएको थियो । 

अन्य मुलुकमा लकिङ पिरियडपछि संस्थापक सेयर राख्नैपर्ने अनिवार्य गरिएको छैन । तर, नेपालमा त्यस्तो व्यवस्था भएका कारण बैंकका संस्थापकहरूलाई लगानी फिर्ता गरी बाहिर निस्कन सजिलो छैन । ‘नेपाल राष्ट्र बैंकले बैंक र व्यवसायी छुट्याउने नीति लिएको अवस्थामा संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्दा लगानीकर्तालाई बहिर्गमनको उपयुक्त विकल्प हुन सक्छ,’ दुगडको भनाइ छ । हुन त अहिले संस्थापक सेयर बिक्री गर्नै नसकिने पनि होइन, तर बिक्रीपछि पनि सेयरधारक संस्थापककै रूपमा रहन्छ । संस्थापक सेयर बिक्री सम्बन्धमा विभिन्न नियमहरू रहेका छन् । यसले पनि सेयर बिक्री सहज छैन । विशेष गरी संस्थाको पुँजीको २ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नुपर्दा नयाँ किन्नेले राष्ट्र बैंकको ‘फिट एन्ड प्रपर टेस्ट’मा सहभागी हुनुपर्छ । २ प्रतिशतभन्दा कम संस्थापक सेयर बिक्रीका लागि राष्ट्र बैंकको अनुमति चाहिँदैन । तर, २ प्रतिशतभन्दा धेरै सेयर रहेको संस्थापकले खण्डीकरण गरेरसमेत विनास्वीकृति सेयर बिक्री गर्न पाउँदैन । 

भारतमा भने केही समयअघि मात्रै केन्द्रीय बैंक आरबिआईको आन्तरिक कमिटीले निजी बैंकहरूमा संस्थापकहरूको सेयर हिस्सा २६ प्रतिशत पु¥याउन प्रस्ताव गरेको छ । तर, पाँच वर्षको लकिङ पिरियडपछि भने २६ प्रतिशतबाट पनि कम गर्न सकिने प्रस्ताव गरेको थियो । यस्तो हिस्सा १५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । 
हाल बैंकिङ क्षेत्रको प्रतिफलसमेत घट्दै गइरहेको र वार्षिक १५ प्रतिशतभन्दा कम हुन थालेको भन्दै धेरै सञ्चालकहरू यो क्षेत्रप्रति निरुत्साहित हुन थालेका छन् । सेयर बजार उच्च भएको समयमा बैंकहरूको सेयर मूल्यमा समेत सुधार भएकाले धेरैले यही समयमा बहिर्गमनको सोच बनाएका हुन् । 

१० प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन भए करिब २९ अर्बको सेयर थपिन्छ 

सबै वाणिज्य बैंक स्थापना भएको १० वर्ष पुगिसकेको छ । सर्वसाधारणमा सेयर जारी गरेका २५ वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ९५ अर्ब रुपैयाँबराबर छ । यसमध्ये १ खर्ब ६१ अर्ब रुपैयाँ (१ अर्ब ६१ करोड कित्ता) संस्थापक सेयर र १ खर्ब ३४ अर्ब रुपैयाँ (१ अर्ब ३४ करोड कित्ता) सर्वसाधारण सेयर छ । यिनमा १४ वटा बैंकहरूको संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१–४९ को हाराहारीमा छ । बैंक अफ काठमाण्डूको भने अहिले नै ७१ प्रतिशत सेयर सर्वसाधारणसँग छ । यस आधारमा थप १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न राष्ट्र बैंकले स्वीकृति दिएमा अंकित मूल्य (रुपैयाँ एक सय)का आधारमा २८ अर्ब ५९ करोड रुपैयाँको सेयर बजारमा सहज कारोबारमा आउनेछ । सर्वसाधारणको तुलनामा संस्थापक सेयरको कारोबार सहजै हुने गरेको छैन । 

हाल बजारमा संस्थापक सेयर सहजै कारोबारमा आउन सक्ने वातावरण बनाइएको छ । यद्यपि, सहजै बिक्रीमा भने आइरहेको पाइँदैन । चालू आवको जेठसम्ममा सेयर बजारमा १२ खर्ब ४७ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा १४ अर्ब रुपैयाँबराबरका संस्थापक सेयर किनबेच भएको छ । १० संस्थापक सेयर परिवर्तन भए सर्वसाधारणका रूपमा करिब २९ करोड कित्ता सेयर थपिनेछ र यसले बजारमा सेयर आपूर्तिमा केही वृद्धि भने हुनेछ । हाल साधारण सेयर मात्रै दैनिक करिब २ करोड ५० लाख कित्ता कारोबार भइरहेकाले थपिने आपूर्ति खपत हुन केही समय लागे पनि ठूलो प्रभाव भने पर्ने देखिँदैन । राष्ट्र बैंकले भने संस्थापक सेयर परिवर्तन सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको छैन । 

‘अहिलेसम्मको व्यवस्थाले संस्थापक सेयरको स्वामित्व न्यूनतम ५१ प्रतिशत राखेको छ,’ राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘अन्य नीतिगत व्यवस्थाहरू के हुने वा नहुने, मौद्रिक नीति आएपछि नै थाहा हुनेछ ।’  बैंकप्रति उत्तरदायी हुन कोही न कोही आवश्यक हुने भन्दै संस्थापक हुनुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले अंगीकार गर्दै आएको छ । त्यस्तै, बैंकमा सर्वसाधारणको भन्दा संस्थापकको हिस्सा धेरै हुनुपर्ने मान्यतामा समेत राष्ट्र बैंक रहँदै आएको छ ।