मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार ३१ बिहीबार १४:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा एक वर्षमा २० किलोमिटर सडक कालोपत्रे

Read Time : > 1 मिनेट
२०७८ असार ३१ बिहीबार १४:५३:००

लमजुङमा आर्थिक वर्ष ०७७/७८ मा २० किलोमिटर सडक कालोपत्रे भएको छ । प्रादेशिक सडकअन्तर्गत  गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आर्थिक वर्ष ०७७/७८ मा २० किलोमिटर सडक कालोपत्रे गरेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार राईनास नगरपालिकाअन्तर्गत तनहुँको नेपालडाँडा–तार्कुघाट–धमिलीकुवा–बोराङखोला सडकअन्तर्गत १० किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै, मध्यनेपाल नगरपालिकाअन्तर्गत भोर्लेटार–बाँग्रे–नेटा सडकअन्तर्गत दुई किलोमिटर सडक कालोपत्रे भएको छ भने बेंसीसहरदेखि बाग्लुङपानी–घलेगाउँ सडकअन्तर्गत तीन किलोमिटर सडक कालोपत्रे भएको छ । 

बेंसीसहर नगरपालिकाअन्तर्गत रानीकुवादेखि पुरानकोट सडक पनि एक किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए । उनका अनुसार सुन्दरबजार नगरपालिकामा हाँडेटारदेखि कुमालगाउँसम्म एक किलाेमिटर सडक कालोपत्रे गरिएको छ । 

बेंसीसहरदेखि काउलेपानीतर्फ रानीकुवाको माथिल्लो क्षेत्रमा एक किलाेमिटर सडकको कालोपत्रे भएको छ । यस्तै, राईनासको हर्राबोट–राइनासकोट अन्तर्गत दुई किलोमिटर सडक पनि चालू आवमै कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कोरोना महामारीको समयमा पनि सडक निर्माणलाई प्राथमिकता दिई विकास निर्माणका कामलाई निरन्तरता दिइएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख गिरीको भनाइ छ ।

गिरीका अनुसार प्रादेशिक सडकअन्तर्गत चालू आर्थिक वर्षमा सबैभन्दा धेरै राईनास नगरपालिकामा सडक कालोपत्रे भएको छ । गण्डकी प्रदेश सरकारले चालू आवमै काम हुने गरी लमजुङका ४० वटा सडक योजनाका लागि बजेट विनियोजन गरेको थियो । 

गण्डकी प्रदेश सरकारले चालू आवका लागि जिल्लाको विभिन्न स्थानीय तहमा सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि करिब ७० करोड बजेट विनियोजन गरेको थियो । चालू आवमा प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजनामध्ये १६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन भएको थियो । 

जिल्लाका ग्रामीण सडकमा पहिलोपटक २० किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख गिरीको भनाइ छ ।