१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २६ शनिबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २६ शनिबार ११:५४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इटालीको काँचुली फेरेका प्रशिक्षक मान्सिनी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २६ शनिबार ११:५४:oo

रसिया विश्वकपमा छनोट नभएको इटालीले तीन वर्षभित्र युरोकप २०२० मा आफूलाई दाबेदार बनाएको छ, इटाली सन् १९६८ पछि दोस्रोपटक च्याम्पियन बन्ने अभियानमा छ, प्रशिक्षक रोबर्टो मान्सिनीले खेलाडीलाई च्याम्पियन नै हुने भावना जगाएका छन् 

सन् २०१८ को रसिया विश्वकप फुटबल प्रतियोगितामा इटाली छनोट नै भएन । ब्राजिल र जर्मनीपछि सर्वाधिक चारपटक विश्वकप उपाधि उचालेको इटालीजस्तो फुटबलकै शक्तिशाली टोली रसियाले आयोजना गरेको विश्वकपमा छनोट नहुँदा सबै आश्चर्य र स्तब्ध भएका थिए । छनोट चरणको असफलतापछि तत्काल खेलाडी, प्रशिक्षक तथा संघले तिखो आलोचना सामना गरे । त्यसवेला स्थानीय पत्रिकालाई एउटा मौका चाहिएको थियो, प्रशिक्षकविरुद्ध रिस पोख्ने ।

उनीहरूले त्यो अवसर पाए । जुन दिन इटाली विश्वकपमा छनोट भएन, त्यसको भोलिपल्ट नै स्थानीय पत्रिकाहरूले पहिलो पृष्ठमै ब्यानर हेडिङसहित समाचार बनाएका थिए । धेरैजसो पत्रिकाहरूले इटालीले विश्व फुटबलमा कमाएको गर्विलो इतिहास मेटिएको जनाए । इटालीको चर्चित पत्रिका कारिएरे डेलो स्पोट्र्सले ‘युरोप तथा विश्व फुटबलमा इटालीको युग समाप्त’ भएको भनी समाचार लेखेको थियो । अर्को एक पत्रिकाले ‘इटालीको फुटबल डुब्यो’ भनी समाचार लेख्यो । अहिले उनै पत्रिकाहरूले आफ्नो नजर परिवर्तन गरेका छन् ।

खेलाडी, प्रशिक्षक तथा संघको प्रशंसा स्थानीय पत्रिकाहरूले गरिरहेका छन् । तीन वर्षअघि प्रयोग भएका शब्द सच्याउँदै ला गाजेटा पत्रिकाले भनेको छ, ‘गल्ती सबैबाट हुन्छ, इटाली फुटबललाई माया गर्ने सबैले राम्रो नै चाहन्छन्, आलोचना नै परिवर्तनको एउटा माध्यम हो, तीन वर्षको कडा मिहिनेतपछि इटाली पुरानै शक्तिमा फर्किएको छ ।’ इटालियन स्थानीय पत्रिकाहरूले राष्ट्रिय फुटबल टोलीको प्रशंसाले भरिएका शब्द खर्चिनुको एउटै कारण छ, चालू युरोकप २०२० मा इटाली फाइनलमा पुगेको छ ।

सन् १९६८ मा च्याम्पियन भएयता इटाली युरोकपको अन्तिम दुई स्थानमा पुगेको हो । यो अवधिमा इटाली सन् २००० र २०१२ को संस्करणमा फाइनलमा पुगेको थियो । उपाधि भिडन्तमा इटालीले अब आइतबार मध्यराति विम्बली रंगशालामा इंग्ल्यान्डको सामना गर्नेछ । अहिले इटाली सन् १९६८ पछि उपाधि भिडन्तमा पुग्नुपछाडि मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीलाई श्रेय दिइएको छ । मान्सिनीको अथक प्रयासकै कारण इटालीले तीन वर्षभित्र आफूलाई नयाँ फुटबल शक्तिका रूपमा परिचय दिएको गाजेटाले जनाएको छ । 

हुन त तीन वर्षअघि गाजेटाले नै इटालीलाई मान्सिनी र मान्सिनीलाई इटाली आवश्यक भएको स्पष्ट पारेको थियो । सम्भवतः गाजेटाको यो भनाइ यही वेला प्रमाणित भएको छ । विश्वकप छनोटको असफलताको ६ महिनापछि नै मान्सिनी इटाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बनेका थिए । इटालियन फुटबल संघले मान्सिनीसँग दुई वर्षको सम्झौता गरेको थियो । 

क्लबस्तरीयमा नाम कमाएका मान्सिनीले पहिलोपटक राष्ट्रिय टोली सम्हाल्दा निकै दबाबको महसुस गरेका थिए । मान्सिनीकै प्रशिक्षणमा म्यानचेस्टर सिटीले ४४ वर्षमा पहिलोपटक इंग्लिस प्रिमियरसिप लिग जितेको थियो । सन् २०१३ मा सिटी परित्याग गरेपछि उनी गालातासारी, इन्टर मिलान र सेन्ट पिटरवर्गमा आबद्ध भए । इटालीको राष्ट्रिय टोलीबाट उनले ३६ पटक प्रतिस्पर्धा गरेका छन् । सन् १९८८ को युरोकपमा उनले पनि राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । 

५६ वर्षीय मान्सिनी इटालियन फुटबल र समर्थकबीच नौलो व्यक्ति होइनन् । मान्सिनीले इटाली टोलीको जिम्मेवारी पाउँदा आफूमाथि धेरै दबाब हुने जनाएका थिए । किनभने उनले इटालीलाई शून्य अवस्थाबाट उठाउनुपर्ने थियो । ‘जिम्मेवारी निकै ठूलो थियो, इटालीले फुटबलमा जुन नाम कमाएको थियो, त्यसलाई फेरि फर्काउनुपर्ने मेरो काँधमा थियो,’ सुरुवाती दिनबारे प्रशिक्षक मान्सिनी भन्छन्, ‘मेरो पहिलो प्रयास नै युरोकपमा इटालीलाई छनोट गराउनु नै थियो, यसलाई नै पहिलो लक्ष्य बनाएँ ।’ 

तर, मान्सिनीले सुरुका दिनमा सोचेजस्तो नतिजा दिलाउन सकेनन् । पहिलो पाँच गेममा इटालीले जित नै निकाल्न सकेन । मान्सिनीको प्रशिक्षणमै छैटौँ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल साउदी अरेबियासँग थियो । फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको साउदी अरेबियामाथि इटालीले बल्ल २–१ को नतिजा निकाल्यो । यद्यपि, छैटौँ खेलमा जितको स्वाद चाखे पनि उनको आलोचना भयो । मान्सिनी यति मान्छन् कि, साउदी अरेबियाविरुद्धको जितले इटालीको भाग्य नै परिवर्तन भयो । 

‘हामीले जितको ट्याग साउदी अरेबियापछि नै बिछ्यायौँ,’ उनले भने, ‘त्यसपछि हामीलाई अहिलेसम्म कसैले रोक्न सकेका छैनन् ।’ मान्सिनीको प्रशिक्षण्मा इटालीले यो तीन वर्षभित्र ७४ प्रतिशत स्पष्ट जित निकालेको छ । यही जित प्रतिशतकै कारण अहिले मान्सिनी इटालीकै सबैभन्दा उत्कृष्ट प्रदर्शकका रूपमा दरिएका छन् । फेरि मान्सिनी जहाँ जान्छन्, त्यहाँको टोलीलाई उपाधि दिलाएरै छाड्छन् । 

म्यानचेस्टर सिटी, फ्लोरिन्टा तथा लाजियोका प्रशिक्षकका रूपमा रहँदा उनले उपाधि दिलाएका थिए । ‘हामीले देखेका छौँ, उनले क्लबहरूलाई उपाधि दिलाएका छन्, समर्थकले चाहने भनेकै क्लबले उपाधि जितेको देख्ने हो,’ इटालियन फुटबल राइटर डेनियल भेरी लेख्छन्, ‘अबको पालो इटालीलाई युरोकप च्याम्पियन बनाउने हो ।’ 

इटालीलाई युरोकप च्याम्पियन बनाउने सपनाका साथ अगाडि बढेका मान्सिनीले खेलाडीलाई संगठित बनाएको स्पोर्टस् राइटर डेनियलले बताएका छन् । ‘हामीले मान्सिनीको आगमनसँगै खेलाडीमा धेरै परिवर्तन देख्न पाएका छौँ, एक किसिमले खेलाडीलाई च्याम्पियन हुने भावना उनले जगाएका छन्,’ डेनियलले भने, ‘मैदानमा खेलाडीहरूको मनोभावना नै फरक छ, प्रत्येक दिन नयाँ दिनजस्तै खेलाडीले लिन्छन् र अघिल्लो दिनमा के भयो भन्ने उनीहरूले बिर्सने गरेका छन् ।’ 

यदि रणनीतिक कुरा गर्ने हो भने इटालीको खेल रक्षात्मक थियो । एट्याक्ट र मिडफिल्ड क्षेत्रभन्दा पनि डिफेन्स बलियो बनाउने रणनीति अघिका प्रशिक्षकहरूले बनाएका थिए । यो धारणा र नीतिलाई पूरै परिवर्तन मान्सिनीले गरेका छन् । फुटबलमा काउन्टर एट्याक्ट र आक्रामक नीति नै आधुनिक फुटबलको पहिचान भन्ने मान्यताका साथ मान्सिनीले खेलाडीलाई यसैमा अभ्यस्त बनाएका छन् । इटाली फुटबललाई पुनर्जीवित गर्ने क्रममा मान्सिनीले काउन्टर एट्याक्टलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । जुन चालू युरोकपमा यसको झल्को देखिन्छ । ‘बल पोसेसनदेखि काउन्टर एट्याक्टसम्म इटाली निकै बलियो देखिएको छ,’ युरोपियन फुटबल राइटर जेम्स होर्नकास्टलले विश्लेषण गरेका छन्, ‘सही समयमा छिटो निर्णय गर्न सक्ने खुबीको विकास भएको छ ।’ 

मान्सिनीले ४–३–३ को रणनीतिमै तीन वर्ष सफलता प्राप्त गरेका हुन् । १७ खेलमा इटालीले ५३ गोल गर्नु नै काउन्टर एट्याक्टको उदाहरण हो । यो १७ खेलमा इटालीले केवल तीन गोल मात्र व्यहोरेको थियो । मान्सिनीले इटालीलाई अपराजित राख्नुको अर्को रहस्य युवाशक्ति हो । उनले यू–२१ राष्ट्रिय टोलीका ६ खेलाडीलाई पोलिस गरेका छन् । निकोलो बारेला, गिओर्गिओ चिलिनी र लिओनार्डो बुनुचीजस्ता खेलाडी यू–२३ टोलीकै हुन् । पछिल्लो समय उनले मन पराएका खेलाडीमध्ये गिआकोमा रास्पाडोरी पर्छन् । 

गिआकोमालाई अहिले इटाली फुटबलकै लिजेन्ड पाओलो रोसीसँग तुलना गर्छन् । एक फुटबल टोली शक्तिशाली हुनुमा टिमसेट हुनुपर्ने प्रमुख कारण मान्सिनीको विश्वास छ । यसैकारण नै उनले टोलीमा बढीजसो सिरिए लिगमै आबद्ध खेलाडीलाई नै पहिलो रोजाइमा राखेका छन् । रसिया विश्वकपमा इटाली छनोट नभएदेखि अहिलेसम्म मान्सिनीले ६७ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका छन् । जसमध्ये उनले ३५ खेलाडीलाई डेब्यु गराएका छन् । 

यो योजनालाई मान्सिनीको पुनर्जागरण मानिएको छ । ‘इटाली टोली एकढिक्का र एकीकृत बनाउने क्रममा मान्सिनीले त्यसको गहिराइ बुझेका थिए, प्रतिभावान् युवा खेलाडी नै भविष्य हुन् भन्ने कुरा बुझेका थिए,’ फुटबल राइटर जेम्सले भनेका छन्, ‘अहिलेको सफलताको मुख्य कारण नै युवाहरूको शक्ति हो ।’