१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २६ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २६ शनिबार o८:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दैनिक १० बालबालिका हराउँछन्  : १३ वर्षमा ३१,७१५ हराए, १३,८१२ अझै भेटिएनन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २६ शनिबार o८:१२:oo

घटना १ : काभ्रेमा बजार निस्केकी किशोरी हराइन्

लकडाउनका कारण विद्यालय बन्द भएपछि काभ्रे चौरीदेउराली– ७ मदनकुडारीकी १३ वर्षीया उषा पाठक घरमै थिइन् । १४ कात्तिक ०७७ को बिहान गाउँकै बजार निस्केकी उनी त्यसपछि घर फर्किनन् । छोरीको पर्खाइमा रहेका बुबा रमेश पाठक भन्छन्, ‘बजार हिँडेकी छोरी अहिलेसम्म घर फर्केकी छैन । नखोजेको ठाउँ छैन, प्रहरीलाई भनियो, आफन्तकहाँ धाइयो । तर, अहिलेसम्म पत्तो लाग्न सकेन ।’ बुबा रमेशका अनुसार गाउँबाट बेपत्ता भएलगत्तै उषा काठमाडौंस्थित पुरानो बसपार्कमा एक महिलासँगै देखिएकी थिइन् । तर, हालसम्म न ती महिलाबारे भेउ पाउन सकिएको छ, न उषाबारे नै कुनै जानकारी छ । 

घटना २ : ललितपुरमा १४ वर्षीया किशोरी अचानक बेपत्ता

ललितपुर महालक्ष्मी– ७ की १४ वर्षीया ग्रेसी शर्मा पनि एकाएक घरबाटै बेपत्ता भइन् । ९ मंसिर ०७७ मा हराएकी उनी अस्वस्थ थिइन । हराएलगत्तै उनकी आमा रञ्जिता शर्माले स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिइन् । भएजति सबै नाता–कुटुम्बकहाँ खोजी गर्न पुगिन् । खोजतलासका लागि बालबालिका खोजतलास समन्वय केन्द्रलाई पनि गुहारिन् । तर, ग्रेसीको पत्तो अझै लाग्न सकेको छैन । आफन्त सुरेन्द्र महर्जनका अनुसार बेपत्ता छोरी घर फर्कने आसमा उनीकी आमा रञ्जिता सधैँ बाटो हेर्ने गर्छिन् । 

घटना ३ : विद्यालयपरिसरबाटै हराइन् रामेछापकी किशोरी

रामेछाप दोरम्बा– ६ की १६ वर्षीया विनिता तिमल्सिना उपचारका लागि बुबा राम तिमल्सिनासँगै काठमाडौं आएकी थिइन् । वसन्तपुरस्थित काका शिव तिमल्सिनाको डेरामा बस्दै आएकी उनी गणेशस्थानस्थित शान्ति निकुञ्ज माविको परिसरबाट १७ पुसमा एकाएक बेपत्ता भइन् । खोजीका लागि आफन्तले प्रहरी कार्यालयमा जाहेरी दिए । खोजतलासका लागि बालबालिका खोजतलास समन्वय केन्द्रमा पनि निवेदन पर्‍यो । तर, उनी अहिलेसम्म फेलापर्न सकेकी छैनन् । छोरी फर्कने आशामा उनका बुबा सधैँ बाटो हेर्ने गर्छन् । 

...                                        ...


काभ्रेकी उषा, ललितपुरकी ग्रेसी र रामेछापकी विनिता बेपत्ता भएको असाधारण घटना होइनन् । बेपत्ता किशोरी–किशोरीको संख्या निकै ठूलो छ, त्यसमा किशोरी धेरै छन् । बेपत्ता भेटिनेको संख्या पनि उल्लेखनीय नै छ । 

बेपत्ता बालबालिका खोजतलाससँग सम्बन्धित बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार मुलुकभरबाट दैनिक १० बालबालिका बेपत्ता हुन्छन्, जसमध्ये बालिकाको संख्या ७६ दशमलव ५७ प्रतिशत छ । 

तथ्यांकले मुलुकभर छोराभन्दा छोरी धेरै हराइरहेको देखाउँछ । खोजीका निम्ति आफन्त मात्र होइन, राज्यका सबै निकाय परिचालन भएको देखिन्छ । तर, फेला पर्नेको संख्या भने निक्कै कम देखिन्छ । 

केन्द्रका अधिकृत सन्तोष अधिकारीले पनि बेपत्ता हुनेमा छोराभन्दा छोरी धेरै रहेको बताए । ‘नयाँ कानुनअनुसार १८ वर्ष उमेरभन्दा तलकालाई बालबालिका भनिन्छ । यस उमेरभन्दा तल बेपत्ता भएका सबै घटना हामीकहाँ दर्ता हुन्छन्,’ उनले भने, ‘विगतदेखिकै तथ्यांक विश्लेषण गर्दा बेपत्ता हुनेमा छोराभन्दा पनि छोरीको संख्या धेरै छ ।’ 

पछिल्लो ११ महिनाको तथ्यांकअनुसार मुलुकभरबाट तीन हजार चार सय सात बालबालिका बेपत्ता भएको जाहेरी प्रहरीकहाँ परेको थियो । जसमध्ये एक हजार नौ सय २२ बालबालिका फेला परे । बाँकी एक हजार चार सय ८५ बालबालिकाको अवस्था अझै अज्ञात छ । जसमा बालिकाको संख्या एक हजार एक सय ६४ छ । यो बेपत्तामध्ये कुल संख्याको ७८ दशमलव ३८ प्रतिशत हो । 

केन्द्रको विगत १३ वर्षयताको तथ्यांकअनुसार मुलुकभर यस अवधिमा ३१ हजार सात सय १५ बालबालिका बेपत्ता भए । जसमध्ये १७ हजार नौ सय तीनजना फेला परे । बाँकी १३ हजार आठ सय १२ बालबालिका अझै बेपत्ता छन् । बेपत्ता हुनेमध्ये ६३ दशमलव ३४ प्रतिशत बालिका छन् । अर्थात् यस अवधिमा बेपत्ता हुने कुल बालबालिकामध्ये बालिकाको संख्या आठ हजार सात सय ४९ रहेको छ । 

केन्द्रको पछिल्लो ११ महिनायताको तथ्यांकअनुसार सबैभन्दा धेरै बालबालिका प्रदेश २ मा हराइरहेका छन् । जसमध्ये अधिकांश बालिका छन् । पछिल्लो ११ महिनामा प्रदेश २ बाट मात्रै आठ सय १५ बालबालिका हराएका थिए । जसमध्ये तीन सय ७८ फेला परे । बाँकी चार सय ३७ को अवस्था अझै अज्ञात छ । जसमध्ये बालिकाको संख्या तीन सय ८४ छ । अर्थात् ८७.८७ प्रतिशत बालिका रहेका छन् ।

कहाँ जान्छन् बालबालिका ? 

बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार बेपत्ता अधिकांश बालिका घरेलु मजदुरका रूपमा बन्धक छन् । केही मनोरञ्जन क्षेत्र र यौनबजारमा समेत पुग्ने गरेका छन् । केन्द्रका अधिकृत अधिकारीले भने, ‘बेपत्ता हुने अधिकांश बालिका घरेलु मजदुर बन्न पुगेका छन् । केही मनोरञ्जन क्षेत्रमा बन्धक बन्न पुगेका छन् । केही भने यौनबजारमा यौनदासी बन्न पुगेका छन् ।’ 

राष्ट्रिय बालपरिषद्का प्रमुख मिलन धरेलले हराएका बालबालिका चार उद्देश्यका लागि प्रयोग भएका देखिएको बताए । ‘घटना विश्लेषण गर्दा हराएका बालबालिका चार उद्देश्यका लागि प्रयोग भएको देखिन्छ । जसमध्ये घरेलु मजदुर, वेश्यावृति, सर्कस र अंग ट्रान्सप्लान्ट हुन् । यीमध्ये अधिकांश सीमापार पुगेको देखिन्छ । केही भने मुलुकभित्रै पनि रहेका छन्,’ उनले भने । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले फेला नपरेका बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेको हुन सक्ने बताए । ‘मुलुकभर दैनिक बालबालिका हराइरहेको घटना हामीकहाँ दर्ता हुन्छन् । प्रहरीले खोजी गर्छ, केही फेला पर्छन्, केही फेला पर्दैनन् । फेला नपरेका मानव बेचबिखन तथा ओसारपसारमा परेका हुन सक्छन्,’ उनले भने, ‘किनकि हामीकहाँ खुला सीमा छ । ‘ट्राफिकिङ’मा परेकामध्ये कति घरेलु मजदुरका रूपमा प्रयोग भएका होलान् । कति वेश्यावृत्तिमा लगाइएका होलान् । अर्को बेपत्ता हुनेको संख्या धेरै देखिनुमा फेला परेका परिवारका सदस्यले प्रहरीलाई जनकारी नदिनु पनि हो ।’

केन्द्रका अधिकृत अधिकारीले खुला सीमाका कारण प्रदेश २ बाट धेरै बालबालिका हराएको हुन सक्ने बताए । ‘खुला सिमाना पनि होला, अर्को वैवाहिक सम्बन्धका कारण पनि हुन सक्छ,’ उनले भने, ‘किनकि त्यस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन छ । परिवारको मञ्जुरीविना गरिएको विवाह छ भने प्रहरीमा उजुरी आउँछ । तर, भेटिएको खबर आउँदैन ।’ 

वैदेशिक रोजगारीमा गएका परिवारमा पनि बेपत्ताको समस्या देखिएको छ । झापा दमकका ३८ वर्षीय पदम राई (परिवर्तित नाम) सात वर्षपछि मलेसियाबाट फर्कंदा घरमा न श्रीमती थिइन्, न छोरा नै । रन्थनिएका राई खोजीमा जुटे । टोल–छिमेकीसँग सोधे । नाता–कुटुम्बकहाँ पुगे । तर, बेपत्ता श्रीमती र छोराको केही पत्तो लागेन । 

जाहेरी बोकेर उनी अब स्थानीय प्रहरी चौकी पुगे । नाबालक छोरा हराएको सूचना बालबालिका खोजतलास समन्वय केन्द्रमा पनि गरे । अनुसन्धानपछि खुल्यो, श्रीमतीले दोस्रो विवाह गरिसकेकी रहिछिन् । बेपत्ता छोरा पनि उनीसँगै रहेछन् । 

काठमाडौं विशालनगरका ३५ वर्षीय सुविन श्रेष्ठ (परिवर्तित नाम) वैदेशिक रोजगारका क्रममा दक्षिण कोरिया थिए । श्रीमती र पाँच वर्षीय छोरा विशालनगरस्थित घरमै बस्थे । उता कोरियामा श्रेष्ठको कमाइ राम्रै थियो । यता घरमा पनि श्रीमतीसँगको सम्बन्ध सुमधुर थियो । त्यसैले दंगदास थिए, श्रेष्ठ । कमाएजति रकम श्रीमतीलाई पठाउँदै गए, जब नेपाल फर्कने समय नजिकिँदै गयो । श्रीमतीसँगको सम्बन्धमा दरार बढ्दै गयो । तनावमा रहेका श्रेष्ठले बज्रपात त तब भोगे जब श्रीमतीसहित नाबालक छोरा बेपत्ता भएको खबर सुने । आहत मन लिएर उनी नेपाल फर्के । श्रीमती र छोराको खोजीमा जुटे । प्रहरी चौकीमा जाहेरी दिए । बेपत्ता छोरा खोज्न बालबालिका खोजतलास समन्वय केन्द्रलाई पनि गुहारे । अनुसन्धानपछि खुल्यो, उनकी श्रीमती पनि दोस्रो विवाह गरेर गइछिन् । बेपत्ता छोरा उनीसँगै रहेछन् ।

ad
ad
ad
ad