मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २१ सोमबार
  • Wednesday, 18 December, 2024
मार्क हर्टसगार्ड
२o७८ असार २१ सोमबार o८:१९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु संकटसम्बन्धी तेल कम्पनीका दण्डनीय झुट

पेट्रोलियम कम्पनीहरूले जलवायु परिवर्तनबारे दशकौँ बोलेका झुटको मूल्य समग्र मानवजगत्ले भोगिरहेको छ

Read Time : > 2 मिनेट
मार्क हर्टसगार्ड
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o८:१९:oo

पृथ्वीमाथि वर्षौंदेखि अपराध भइरहेको छ । हामीले यसको प्रभाव यो गर्मीमा अमेरिकाको पश्चिमी भेगमा उच्च तापमान र वन डढेलोका रूपमा देख्यौँ । सन् २०२० मा यति धेरै ठूला चक्रवात आए कि वैज्ञानिकले सबैलाई दिन पुग्ने नाम भेटेनन् । एक विश्वव्यापी प्रक्षेपणअनुसार समुद्री सतह कम्तीमा २० फिटसम्म बढ्नेछ । अहिले एउटै आशा यो अनवरत वृद्धिलाई ढिलो बनाउन सकिन्छ कि भन्नेमा छ । ढिलो गरेर निकालिएको समयमा हाम्रा बालबालिकाले यसको सामना गर्ने उपाय निकाल्न सक्लान् भन्ने छ । 

यस अपराधले विश्वभरका असंख्य मानिस या मारिएका छन् या त विस्थापित भएका छन् । अर्बौं डलरको आर्थिक क्षति भएको छ । अत्यन्त महत्वपूर्ण पर्यावरणीय प्रणाली तथा वन्यजन्तुको वासस्थान गुमेको छ । यसबाट सबैभन्दा बढी सीमान्तकृत समुदाय प्रभावित भइरहेका छन् । बंगलादेशका समुद्री किनारछेउका किसानका उब्जनी कम भइसकेको छ । सिकागो र अन्य ठूला सहरमा बसोवास गर्ने न्यून आय भएका परिवार सहरकै सम्पन्न परिवारभन्दा उच्च तापक्रमबाट प्रभावित छन् । 

यस अपराधबाट सबैभन्दा बढी प्रभावित हुनेमा आजका युवा पनि हुनेछन् । जलवायु परिवर्तनका कारण समग्र मानव सभ्यताको अस्तित्वमै प्रश्न उत्पन्न भएको छ । यद्यपि यस विपत्का लागि जिम्मेवार अपराधी उन्मुक्त छन् । तिनका अपराधलाई जारी राखेर उनीहरू ठूलो रकम कमाइरहेका छन् । तिनको अपराध सार्वजनिक रूपमा पहिचान नभएको पनि होइन । तर, तीविरुद्ध कदम नचालिनु दुःखद छ ।

त्यस्ता अपराधी पेट्रोलियम उद्योग हुन्, जसले विगत ४० वर्षदेखि जलवायु परिवर्तनबारे झुट बोल्ने अपराध गरे । सम्भवतः यो इतिहासमै सबैभन्दा प्रभावशाली कर्पोरेट झुट हो । यसले जलवायु परिवर्तनविरुद्ध सार्वजनिक चेतना र सरकारी कदमलाई लामो समय कुण्ठित बनाइदियो । सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनाव प्रचारका क्रममा जो बाइडेनले ठूला तेल कम्पनीलाई तिनका झुटका लागि कारबाही गर्ने बताएका थिए । चुनाव जितेका बाइडेनले वाचा पूरा गर्छन् कि गर्दैनन्, हेर्न बाँकी छ । 

जलवायु उष्णता वास्तविक खतरा हो कि होइन भन्ने बहसमा चार दशक खेर गयो, जबकि यस अवधिमा जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण कदम चाल्न सकिन्थ्यो

विश्वको सबैभन्दा ठूलोमध्ये एक एक्जोन–मोबिलका आन्तरिक रेकर्डले देखाएअनुसार सन् १९७० को दशकको अन्तिमसम्म कम्पनीमा आबद्ध वैज्ञानिकले उसका शीर्ष पदाधिकारीलाई विश्वव्यापी उष्णताबारे बताएका थिए । मानवको कदमले उत्पन्न हुने विश्वव्यापी उष्णताले निम्त्याउने विपत्को मुख्य कारण पेट्रोलियम इन्धन हुनेसमेत तिनले जानकारी गराएका थिए । थप खोजबाट सेभ्रोन, सेल र अन्य ठूला तेल कम्पनीलाई पनि तिनको उत्पादनले पृथ्वीको मौसमलाई विषम बनाउनेबारे थाहा भइसकेको पत्ता लागेको छ । 

सन् १९९० को दशकको सुरुदेखि तेल कम्पनीले तिनका उत्पादनबारे प्रेस, सर्वसाधारण र नीति–निर्माताको आँखामा छारो हाल्न करोडौँ डलर पिआरमा खर्च गरे । तिनको उद्देश्य ‘विश्वव्यापी उष्णता सिद्धान्त मात्रै हुने तर यथार्थमा नहुने विषय’ देखाउनु थियो । जसमा उनीहरू सफल भए । तेल कम्पनीनजिकका राजनीतिज्ञ र समूहले तिनको झुटलाई विस्तार गर्न मुख्य भूमिका खेले । समाचार संस्था त्यसमा पनि विशेष अमेरिकाका मिडियाले ती झुटलाई दोहो¥याइरहे । 

फलस्वरूप विश्वले जलवायु उष्णता वास्तविक खतरा हो कि होइन भन्ने बहसमा चार दशक खेर फाल्यो । जब कि यो समयमा जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण कदम चाल्न सकिन्थ्यो । नवीकरणीय ऊर्जामाथि लगानी बढाएर त्यसतर्फको संक्रमण सुरु गर्नुको साटो यस अवधिमा पेट्रोलियम पदार्थको खपत बढाइयो ।

आज पृथ्वीलाई तातो बनाइरहेको आधाभन्दा बढी हरितगृह ग्यास सन् १९९० पछि उत्सर्जन भएको हो । जब कि यस अवधिसम्म एक्जोन र ठूला तेल कम्पनीलाई तिनको उत्पादनले उत्पन्न गर्ने जोखिमबारे राम्रोसँग जानकारी भइसकेको थियो । मिडियाले पनि जलवायु परिवर्तनसम्बन्धी समाचारमा ठूला तेल कम्पनीको झुट उल्लेख नगरेकाले सार्वजनिक बहसमा तिनको अपराध आएन ।

विशेषतः आजको इन्टरनेट युगमा पनि अधिकांश मानिसको समाचारको मुख्य स्रोत रहेको टेलिभिजनले अझै पनि यसलाई उल्लेख गरिरहेका छैनन् । आजको दिनसम्म तेल कम्पनी, तिनको नेतृत्वकर्ता र तिनले खटाएका प्रोपोगान्डाकारी, तिनले लगानी गरेका राजनीतिज्ञहरू तिनका अपराधको सजायबाट बचिरहेका छन् ।

न कुनै आर्थिक दण्ड भएको छ, न कारावास सजाय नै । यस सम्बन्धमा उपयुक्त रिपोर्टिङ नगरेकोमा समाचार संस्थाहरूले पनि सर्वसाधारणसँग माफी माग्नुपर्छ । तेल कम्पनीको झुटको कारण खेर गएका ४० वर्ष अब फिर्ता आउँदैनन् । जलवायु संकटको गम्भीर असर देखिन सुरु भइसकेको छ । तीसँग जुध्न एकदमै धेरै पैसा चाहिन्छ । यसको सबैभन्दा ठूलो हिस्सा ठूला तेल कम्पनीबाटै तिराइनुपर्छ । 

(‘द नेसन’का पर्यावरण संवाददाता हर्टसगार्ड जलवायुसम्बन्धी समाचारलाई सबल बनाउन गठित विश्वव्यापी मिडिया संस्था ‘कभरिङ क्लाइमेट नाउ’का कार्यकारी निर्देशक हुन्) गार्जियनबाट