मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार १८ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १८ शुक्रबार o६:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘फ्रन्टलाइनर्स’ को सम्मानमा बनाइएको चित्र महानगरले मेट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १८ शुक्रबार o६:o७:oo

‘वी वील राइज अगेन’ अर्थात् हामी फेरि उठ्नेछौँ नारासहित कोरोना महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्नेहरूको सम्मानमा सडकका भित्तामा कोरिएको रंगिन चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ, किपा शेर्पा, विशाल महर्जनले बनाएको चित्र बुधबार महानगरले मेटाएको हो । 

रत्नपार्कको आकाशे पुलको भित्तामा बनाएको चित्र गैरकानुनी भएकाले मेटाएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘महानगरपालिकाले २०५८ देखि नै वाल पेन्टिङ प्रतिबन्ध नै लगाएको छ । पछिल्लो अवस्थामा त झन् सर्वोच्च अदालतले पनि वाल पेन्टिङ, होडिङ बोर्ड हटाउन आदेश नै दिएको थियो,’ उनले भने, ‘महानगरले जे निर्णय गरेको छ, सोहीअनुसार चित्र हटाएका हौँ ।’ 

महामारीको अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स, सुरक्षाकर्मीको सम्मानमा बनाइएको सन्देशमूलक चित्र महानगरले हटाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । चित्रका परिकल्पनाकार डुजाङ शेर्पा प्रक्रियागत रूपमा चित्र बनाउँदा पनि महानगरले हटाउनु दुखद भएको बताउँछन् । ‘यो दुखद कुरा हो । यो चित्र हटेपछि राम्रो काम गर्नु पाप रहेछ भन्ने बुझेका छौँ,’ उनले भने, ‘यो चित्र बनाउनुमा हाम्रो कुनै स्वार्थ छैन । हामीले सबै कागजी प्रक्रिया पुर्‍याएर यो काम सुरु गरेका थियौँ । सुरुमा हामीले वडाध्यक्षबाट सिफारिस लिएर आयौँ । त्यो सिफारिस हामीले यहाँका ट्राफिक प्रहरीलाई देखायौँ । हामीलाई उहाँहरूले पनि काम गर्न प्रेरित गर्नुभयो ।’ कोरोना महामारीका वेला अग्रपंक्तिमा काम गर्नेहरूप्रति सम्मानका लागि आफूहरूले चित्र बनाएको शेर्पाले बताए ।