युरोकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड, स्पेन, बेल्जियम, स्विट्जरल्यान्ड्स, इटाली, डेनमार्क, चेक परिपब्लिक र युक्रेन प्रतिस्पर्धा
युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने आठै टोलीको टुंगो लागेको छ । मंगलबार अबेर राति भएको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा युक्रेन विजयी भएसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको हो ।
युरोकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा इंग्ल्यान्ड, स्पेन, बेल्जियम, स्विजरल्यान्ड्स, इटाली, डेनमार्क, चेक रिपब्लिक र युक्रेन रहेका छन् । शुक्रबार राति हुने पहिलो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्ड्सले स्पेनको सामना गर्नेछ । स्विट्जरल्यान्ड्स विश्वकप विजेता फ्रान्स र स्पेन विश्वकपको उपविजेता टोली क्रोएसियालाई पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका टोली हुन् ।
सोही दिन हुने अर्काे खेलमा बेल्जियम र इटाली भिड्नेछन् । बेल्जियम युरोकपको साविक विजेता पोर्चुगल र इटाली अस्ट्रियालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका टोली हुन् ।
शनिबार राति हुने क्वार्टरफाइनल चरणको पहिलो खेलमा डेनमार्क र चेक रिपब्लिक तथा सोही दिन हुने क्वार्टरफाइनल चरणको दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्नेछन् । डेनमार्कले प्रिक्वार्टरफाइनल चरणको खेलमा गेराथ बेलको टोली वेल्स र चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गरेका थिए । यस्तै, मंगलबार भएको खेलमा इंग्ल्यान्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा युक्रेनले स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।
अतिरिक्त समयमा युक्रेन विजयी
अर्तेम दोभ्बीकले अतिरिक्त समयको पनि अन्तिम मिनेटमा गोल गरेपछि १० जनामा सीमित स्विडेनलाई १–० ले पराजित गर्दै युक्रेनले युरोकप २०२० को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल थप ३० मिनेट लम्बिएको थियो । त्यसअघि निर्धारित समयको २७औँ मिनेटमै ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । खेलको ४३औँ मिनेटमा इमिल फोर्सबर्गले प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि स्विडेनले पहिलो हाफमै खेल १–१ को बराबरीमा फर्काएको थियो ।
अतिरिक्त समयको नवौँ अर्थात् खेलको ९९औँ मिनेटमा मार्कस डानिइल्सनले रातो कार्ड पाएपछि स्विडेन १० जनामा समेटिन पुगेको थियो । खेल टाई ब्रेकरतर्फ अघि बढिरहेको अवस्थामा अतिरिक्त समयको पनि अन्तिम मिनेट अर्थात् इन्जुरी समयमा दोभ्विकको गोलमार्फत युक्रेनले जित निश्चित गरेको थियो ।
दोभ्विक खेलमा प्रयोग गरिएका १२ मध्येका एक ‘सब्स्टिच्युड’ खेलाडी हुन् । उनले नजिकको दूरीबाट हेडिङ गोल गर्दै टोलीको अघिल्लो चरणको यात्रा निश्चित गरेका थिए । युक्रेन समूहगत चरणबाट मुस्किलले प्रिक्वार्टरफाइनलमा आइपुगेको टोली हो । समूह सीमा रहेको युक्रेन प्रतियोगिताको सबै समूहको तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारभित्र रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । प्रिक्वार्टरफाइनल चरणको खेलमा भने युक्रेन समूह ईको विजेता टोली स्विडेनलाई स्तब्ध बनाउँदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ ।
क्वार्टरफाइनल चरणको खेल
शुक्रबार, १८ असार
स्विजरल्यान्ड्सविरुद्ध स्पेन (राति ९:४५ बजे, सेन्ट पिटर्सबर्ग, रुस)
बेल्जियमविरुद्ध इटाली (राति
१२:४५ बजे, म्युनिख, जर्मनी)
शनिबार, १९ असार
चेक रिपब्लिकविरुद्ध डेनमार्क (राति ९:४५ बजे, बाकु, अजरबैजान)
इंग्ल्यान्डविरुद्ध युक्रेन (राति
१२:४५ बजे, रोम, इटाली)