मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १५ मंगलबार १०:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशबाट कोरोना खोप लगाएर  आउने सीधै गन्तव्यमा जान पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १५ मंगलबार १०:०९:००

विदेशबाट कोरोना खोपको पूरै डोज लगाएर आउने पर्यटक र नेपाली दुवैले सीधै गन्तव्यमा जान पाउने भएका छन् । सरकारले विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा नयाँ प्रावधानमा यस्तो सुविधा दिएको हो । 

नयाँ प्रावधानअनुसार कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएकालाई सीधै गन्तव्यमा जान दिने व्यवस्था गरिएको हो । तर, १० दिन क्वारेन्टिनमा भने स्थानीय तहको रोहबरमा बस्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई १० दिनको होटेल क्वारेन्टिन खर्च व्यहोर्ने निर्णय यसअघि गरेको थियो । विदेशबाट आउने सबै यात्रुले भने ७२ घन्टाभित्रको पिसिआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट साथमा बोक्नुपर्नेछ । यता खोप नलगाएकाहरूको हकमा भने ७ दिन मात्र होटेल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिएको छ । 

यात्रुले पिसिआर रिपोर्टसहित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा रहेको फाराम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्नेछन् । आफ्नो रीतिरिवाजअनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सिसिएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइनेछ ।

निजले घरमा बसेको ११औँ दिनमा भने कोभिड–१९ परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुईजना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिने भएको हो ।

७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने भएको छ ।

होटेल क्वारेन्टिनमा बसेको ७औँ दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।

नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय संघ–संस्था तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरूको परिवार भने अब होटेलमा क्वारेन्टिन बस्नुपर्नेछैन । परराष्ट्र मन्त्रालयको सिफारिसका आधारमा उनीहरू स्वयं क्वारेन्टिनमा बस्न सक्नेछन् । नेपाल आएको १०औँ दिनमा कोरोना नेगेटिभ आएपछि उनीहरूलाई काममा फर्कन दिइनेछ । विदेशबाट फर्कने नेपाली कर्मचारी १० दिन घरमै बस्ने गरी घर जान पाउनेछन् ।