१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १४ सोमबार
  • Friday, 05 July, 2024
२o७८ असार १४ सोमबार १२:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रूपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठले गरेको हस्तक्षेपविरुद्ध चौतर्फी विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १४ सोमबार १२:४o:oo

सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भएको छ । सरकारवादीमा मुद्दामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका मन्त्रीले नै अनुसन्धान र मुद्दा प्रक्रियामा हस्तक्षेप गरेको भन्दै संयुक्त राजनीतिक संघर्ष समिति, दलित अधिकारकर्मी, विद्यार्थी संगठन, संघसंस्था र राजनीतिक भ्रातृ संगठनहरूले देशैभरि विभिन्न ठाउँबाट विरोध गरेका छन् । 

१ असारमा कोठा खोज्न गएकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले जात थाहा पाएपछि कोठा नदिएको भन्दै सुनारले ३ असारमा महानगरीय वृत्त अनामनगरमा जाहेरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई पक्राउ गर्न ४ असारमै पक्राउ पुर्जी लिएको थियो । तर, ६ असारमा मात्रै घरधनी प्रधानलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको क्रममा रहेको मुद्दामा शिक्षामन्त्री श्रेष्ठले ८ असारमा प्रहरी वृत्तमै पुगेर पीडक प्रधानलाई रिहा गराएपछि दलित अधिकारकर्मी विरोधमा उत्रिएका हुन् । 

काठमाडौंमा विरोध प्रदर्शन गर्दै संयुक्त राजनीतिक संघर्ष समिति र जनवर्गाीय संगठनहरूले जातीय विभेद र छुवाछुतको मुद्दामा पीडकको संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् । क्रियाशील दलित पत्रकार संघले सरकारले नै जातीय विभेदलाई संरक्षण दिने काम गरेको भन्दै हस्ताक्षर संकलन अभियान चलाएको छ । 

जातीय विभेदको मुद्दामा बहालवाला मन्त्रीले नै हस्तक्षेप गरेपछि त्यसको विरोधमा दर्जनौँ जिल्लामा विरोध प्रदर्शन, राँके जुलुस र पुत्ला दोहन भएको छ । गोरखामा दलित युवाहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै गोरखाबजारमा संयुक्त सचेत दलित संघर्ष समितिले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो । युवा अभियान्ता सुमित्रा मंग्राती र आशा उपरकोटीको संयोजनमा विरोध प्रर्दशन भएको हो । 

दलितहरूमाथि भइरहेका जातीय विभेद र सबैखाले विभेदको विरुद्धमा दबाबस्वरूप विरोध कार्यक्रम गरिएको अभियन्ता आनन्द नेपालीले बताए । प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 

यस्तै, खोटाङमा संयुक्त दलित संघर्ष समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ । विभेदकारी समाजको परिवर्तन गर्ने घोषणा गर्ने कम्युनिस्ट सरकारको शिक्षामन्त्रीबाटै यस्तो हर्कत भएको भन्दै एमालेकै कार्यकर्ताले विरोध गरेका छन् । 

तेह्रथुमका दलित अधिकारकर्मीले पनि सरकारलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । उता चितवनमा पनि संयुक्त दलित संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । 

घटनाका विषयमा बृहत् नागरिक आन्दोलन, राष्ट्रिय दलित आयोग, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनलगायतले विरोध गरेका छन् । 
 घटनाको विरोधमा जारी भएका प्रेस विज्ञप्तिहरू :

 

 

 

 

 

 

 

 

 

 

 

 

ad
ad
ad
ad