चालू युरोकप २०२० च्याम्पियनसिपबाट आठ टिम पहिलो चरणबाटै बाहिरिए । प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ २४ टोलीले आ–आफ्नो समूहमा प्रतिस्पर्धा गरेका थिए । जसबाट १६ टोली प्रिक्वार्टर फाइनलमा पुगेका छन् । यद्यपि, बाहिरिएका आठ टोलीको प्रदर्शन नराम्रो थिएन । शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थानमा आफूहरूलाई उभ्याउन नसक्दा ती आठ टिम घर फर्कन बाध्य भएका छन् । पोल्यान्ड, टर्की, हंगेरी, फिनल्यान्ड र स्कटल्यान्ड दोस्रो चरणमा पुग्ने दाबेदारी टोलीकै रूपमा थिए । यिनीहरूको युरोकपमा एक किसिमले दुःखद अन्त्य भएको छ ।
टर्की
चालू युरोकपमा टर्कीलाई डार्क हर्स उपाधि दिइएको थियो । कम्तीमा नकआउट स्थान बनाउने लक्ष्य राखेको टर्कीले एक खेल पनि जित्न सकेन । लगातार तीन खेलमा हारको सामना गरेको टर्कीले अहिलेसम्मकै खराब फुटबल खेलेको स्थानीय खेलकुद पत्रिका फनाटिकले लेखेको छ । यो पत्रिकाले टर्कीको फुटबल इतिहास कमजोर भएको जनाएको छ । ‘यो समाप्त हो,’ फनाटिक पत्रिकाले मुख्य हेडलाइन बनाएको छ, ‘बिस्तारै टर्कीको फुटबल इतिहास पनि मेटिँदै छ ।’ यसैगरी फोटोम्याक पत्रिकाले वर्तमान फुटबल टोलीले गर्विलो इतिहास बनाएको टर्कीलाई बदनाम गरेको आरोप लगाएको छ । यसै पत्रिकामा डेमिर्कोलको स्तम्भमा खेलअनुसार टर्कीले शून्य अंक नै पाउनुपर्ने उल्लेख भएको छ ।
हंगेरी
टर्कीको तुलनामा हंगेरीको टीमले मिडियामा प्रशंसा पाएको छ । जर्मनीविरुद्धको जितनजिक पुगेको हंगेरी अन्तिममा बराबरी नतिजाका साथ प्रतियोगिताबाटै बाहिरियो । समूह एफको अन्तिम खेलकै प्रदर्शनका आधारमा हंगेरिन खेलाडीलाई ‘बहादुर’ संज्ञा दिइएको छ । ‘खेलाडीले उत्कृष्ट प्रदर्शन गरे, सबैलाई बधाई छ,’ हंगेरियन खेलकुद दैनिक पत्रिका जेम्जिटीले लेखेको छ, ‘हामी नजिकबाट बाहिरियौँ, तर खेल सानदार थियो ।’ हंगेरीमा खेलाडी पुग्दा पनि राम्रै स्वागत भएको पत्रिकाले जनाएको छ । हंगेरीले तीन खेलको दुई सय ७० मिनेटमा युरोपकै उत्कृष्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको जेम्जिटीले प्रशंसा गरेको छ ।
‘हंगेरीले विश्व च्याम्पियन, साविक विजेता तथा सर्वाधिक विजेता टोलीविरुद्ध पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको थियो,’ पत्रिकाले लेख्छ, ‘सहभागी अन्य टोलीले यस्तो किसिमको बल पोसेसन तथा उत्कृष्ट खेल देखाएको जस्तो लाग्दैन ।’ हंगेरीका अधिकांश खेलकुद पत्रिकाले वर्तमान फुटबल टोलीले भविष्यमा एउटा आशा देखाएको भनेका छन् ।
फिनल्यान्ड
लामो समयपछि फिनल्यान्ड युरोकपमा छनोट भएको हो । छनोट प्रतियोगिताको नतिजाअनुसार फिनल्यान्डलाई चालू युरोकपकै ‘अन्डर डग’ उपाधि दिइयो । डेनमार्कसँगको पहिलो खेलमा तीन अंक बटुल्दै फिनल्यान्डले नकआउट चरण बाटो बलियो बनाएको थियो । त्यसपछि दुई खेलमा आशाविपरीत नतिजा बेहोर्दा फिनल्यान्डको यात्रा पहिलोचरणसम्मै मात्र सीमित भयो । यद्यपि निकै कम अन्तरमा फिनल्यान्ड बाहिरिएको हो । फिनल्यान्डका खेल पत्रकार जाने कोसुनेले खेलाडीहरूले दोस्रो खेलमा जितका लागि कमै प्रयास गरेको आरोप लगाएका छन् । ‘दोस्रो तथा तेस्रो खेल महत्वपूर्ण थियो, त्यसमा खेलाडीहरूले गोलका लागि प्रयासरत भएनन्, केवल रक्षात्मक रणनीति देखियो,’ खेल पत्रकार कासुनेले भने, ‘तीनवटै खेलमा बल पोसेसन तथा एट्याकिङमा कमजोर नै पाए ।’
स्टकल्यान्ड
स्टिभ क्लार्कको प्रशिक्षणमा रहेको स्कटल्यान्ड पछिल्लो समय मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छैन । प्रशिक्षक स्टिभले युरोकपमा खराब रणनीति अपनाएको आरोप स्थानीय मिडियाहरूले लगाएका छन् । अधिकांश स्कटिस मिडियाहरूले प्रशिक्षक स्टिभलाई परिवर्तन गर्नुपर्ने माग राखेका छन् । उनको प्रशिक्षणमा स्कटल्यान्डले अगामी दिनमा पनि खराब नतिजा नै ल्याउने दाबी विश्लेषकहरूले गरेका छन् । अर्को वर्ष कतारमा हुने विश्वकपमा स्कटल्यान्ड छनोट हुनका लागि सुरुमै प्रशिक्षक परिवर्तन हुनुपर्ने माग छ । ‘यदि यस्तै रणनीति र पुरानै प्रशिक्षक भए स्कटल्यान्डको फुटबल एक दिन पतन हुनेछ,’ विश्लेषक भन्छन् ।
पोल्यान्ड
रसियाको सेन्ट पिटरबर्गमा स्विडेनसँग स्तब्ध भएपछि पोल्यान्डको यात्रा पहिलो चरणमै सीमित भयो । पोल्यान्ड फुटलब संघका अध्यक्ष बोनिएकले टोलीमा के गल्ती भएको भन्ने प्रश्न गरेका छन् । उनी भन्छन्, ‘हामी कहाँ चुक्यौँ, तीनवटै खेल राम्रो नै थियो ।’ समूह चरणमा पोल्यान्डको खेल स्तरमा कमी नआएको तर भाग्यले साथ नदिँदा मात्र बाहिरिएको अध्यक्ष बोनिएको भनाइ छ । स्लोभाकिया तथा स्वेडनविरुद्ध पोल्यान्ड नै राम्रो भएको उनले दाबी गरेका छन् ।
स्लोभाकिया
मुख्य प्रशिक्षक स्टेफान टार्कोभिकले यो एक महिनाभित्र खराब नतिजा मात्र हात पारे । कतार विश्वकप छनोटमा स्लोभाकिया बलियो स्थानमा छैन । युरोकपमा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोटको असफलता बिर्साउने प्रयासमा प्रशिक्षक स्टेफान थिए । तर, स्लोभाकिया पहिलो चरणबाटै बाहिरियो । स्विडेन र स्पेनसँग स्लोभाकिया नराम्रोसँग पराजित भयो । यसकारण समर्थक र स्थानीय मिडियाले प्रशिक्षक र खेलाडीको आलोचना गरेका छन् । मिडियाहरूले स्लोभाकियाको फुटबललाई सही दिशामा पुर्याउन वर्तमान टोलीका खेलाडी नै परिवर्तन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । आउँदो दिनमा स्लोभाकियाले मिडफिल्ड र एट्याकिङमा जोड दिनुपर्ने सुझाब उनीहरूले दिएका छन् ।
एजेन्सीको सहयोगमा