१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भक्तपुरको नगरकोट होमस्टेमा पर्यटकलाई झ्याउरे भजनको मनोरञ्जन दिँदै स्थानीय । फाइल तस्बिर
२०७८ असार १२ शनिबार ०९:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ मा होमस्टे : कोही पूर्वाधार विस्तारमा र कोही अलमलमै 

Read Time : > 1 मिनेट
२०७८ असार १२ शनिबार ०९:१६:००

सरकारले आन्तरिक र बाह्य पर्यटकका लागिसमेत नेपाली संस्कृति, ग्रामीण परिवेश, स्थानीय खानाजस्ता विषयको जानकारी दिने तथा पारिवारिक वातावरणमा पनि रात बिताउन र ग्रामीण परिवेशमा रमाउन चाहनेका लागि सहज होस् भन्ने उद्देश्यले होमस्टे सुरुवात ग¥यो । सहरको पैसा गाउँमा पुगोस् भन्ने सोच पनि यसमा समावेश थियो नै । 

बिस्तारै होमस्टेहरू खुल्दै गए । नेपाल पर्यटन बोर्डले यसमा सहजीकरण पनि गर्दै गयो । आन्तरिक तथा बाह्य पर्यटक पनि बिस्तारै होमस्टेमा बढ्न थाले । ग्रामीण सामुदायिक होमस्टेको परिकल्पना गरिए पनि होमस्टे सहरमा पनि खुल्दै गए । समुदाय नै मिलेर खुल्ने होमस्टेमा सबैको अवसरको परिकल्पना गरिए पनि निजी होमस्टे पनि खुल्न थाले । पर्यटन क्षेत्रमा जसले सेवा दिन सक्छ, पर्यटक त्यहीँ आकर्षित हुने हुन् । 

होमस्टेले बढएको पर्यटनले नेपाली पनि गाउँ घुम्न लालायित हुन थाले । बिस्तारै होमस्टे खुल्नेक्रम बढ्दै गयो । देशमा प्रादेशिक संरचना र स्थानीय तहलाई पनि सरकार मान्नेक्रमसँगै होमस्टे स्थानीय तहमै दर्ता र सञ्चालन हुने भए । 

त्यसपछि देशमा कति होमस्टे छन् भन्ने तथ्यांकसमेत अन्योलमा रहेको छ । होमस्टे एसोसिएसन नेपालका कोषाध्यक्ष सुरज बाँस्तोला स्थानीय तहले दर्ता गर्न पाएपछि होमस्टेको तथ्यांक सही रूपमा पाउन त्यति सहज नभएको बताउँछन् । नेपाल पर्यटन बोर्डले समेत होमस्टेबारे दिँदै आएको जानकारी बन्द गरेको छ । हाल देशमा १ हजारभन्दा बढी होमस्टे रहेको अनुमान गरिएको छ । होमस्टे एसोसिएसनका कोषाध्यक्ष बाँस्तोलाका अनुसार ७ सय सामुदायिक होमस्टे र व्यक्तिगत रूपमा सञ्चालनमा रहेका होमस्टे ३ सयको संख्यामा रहेको अनुमान गरिएको छ । 

कोभिड–१९ पछि अलमलमा होमस्टे

पर्यटन वर्ष २०२० मनाउने सुरसार हुँदै गर्दा होमस्टेको लहर पनि थियो । त्यसपछि विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले सामुदायिक होमस्टे सञ्चालनका लागि लगानी गरे । कर्मचारी पाल्नुनपर्ने र घरको भाडा तिर्नुनपर्ने भए पनि त्यसका लागि कोठा थप्नुपर्‍यो । अन्य पूर्वाधार पनि तयार गर्नैपर्‍यो । कोषाध्यक्ष बाँस्तोला भन्छन्, ‘सामुदायिक होमस्टे सञ्चालनमा सहभागी हुने परिवारका लागि २ लाख रुपैयाँ पनि ठूलो हो । अहिले त्यही लगानीमा बनेका कोठा र पूर्वाधारले बजार पाउन नसकेपछि ग्रामीण क्षेत्रका होमस्टे सञ्चालक पुरानै अवस्थामा फर्कन बाध्य छन् ।’ 

कोभिड–१९ को महामारीलाई केही होमस्टेले भने अवसरका रूपमा प्रयोग गरेका छन् । उनीहरू यो समयलाई पूर्वाधार विस्तारको सही समयका रूपमा बुझिरहेका छन् । भक्तपुरको नगरकोट, काभ्रेको पात्लेखेत, इलामको श्रीअन्तु, नवलपुरको अमलटारी, लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारीलगायतका केही नाम चलेका सामुदायिक होमस्टेले कोभिडलाई अवसरका रूपमा लिँदै क्षमता विस्तार तथा स्तरीकरण गरिरहेको कोषाध्यक्ष बाँस्तोलाको भनाइ छ ।  

हाल चर्चामा आउने प्रायः होमस्टेले कृषि विकास बैंकबाट सहुलियत रूपमा कर्जा लिएर क्षमता तथा पूर्वाधार विस्तारमा लागेका छन् । कृषि विकास बैंकसँग निजी तथा सामुदायिक होमस्टेलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता भएकाले त्यही सहुलियत कर्जा लिएर पूर्वाधार विस्तार गर्न सहज भएको बाँस्तोला बताउँछन् । 

सबै यो समयको सदुपयोगमा भने लागेका छैनन् । धेरै होमस्टे सञ्चालकहरू अहिलेको अवस्थामा अलमलमै रहेका पनि छन् । भविष्य के हुने भन्ने चिन्ताका कारण उनीहरू होमस्टे सञ्चालनमा खासै उत्साहित नदेखिएको बाँस्तोला बताउँछन् । उनी भन्छन्, ‘भर्खर–भर्खर सुरु भएका वा नेपाल पर्यटन वर्ष २०२० को आसमा सुरु गरेका धेरै होमस्टे अहिले अलमलमा छन् ।’

होमस्टेले विदेशीभन्दा आन्तरिक पर्यटकलाई बढी सेवा दिने गरेका छन् । अझ भनौँ, होमस्टेका धेरै ग्राहक आन्तरिक पर्यटक नै हुन् । कोषाध्यक्ष बाँस्तोलाका अनुसार होमस्टेका ग्राहकमा विदेशी पर्यटक ३० प्रतिशत र स्वदेशी पर्यटक ७० प्रतिशत रहने गरेका छन् ।