१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ११ शुक्रबार
  • Sunday, 29 September, 2024
टेकराज थामी काठमाडौं
२o७८ असार ११ शुक्रबार o८:५o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सन्तोषी सुब्बा हत्या प्रकरण : बाबुआमाको उपचार गर्ने भनाइले  अभियुक्तको रहस्य खुल्यो

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ११ शुक्रबार o८:५o:oo

सन्तोषी सुब्बाको हत्यालगत्तै दक्षिणकाली नगरपालिका–७ बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिना बाबुआमाको उपचार गर्न भन्दै ट्याक्सी रिजर्भ गरेर काठमाडौंतर्फ लागे । यसक्रममा उनले एक आफन्तलाई बुबाको उपचार गर्न काठमाडौं हिँडेको भने । अर्र्का व्यक्तिसँग भने आमाको उपचार गर्न जान लागेको बताए । अन्ततः विरोधाभास उनको यही अभिव्यक्ति हत्याको रहस्य खोल्ने कडी बन्यो ।

काठमाडौं महानगरपालिका–७ बस्दै आएकी सुब्बाको क्षतविक्षत शव फेला परेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको तथ्य खोज्न प्रहरीले मृतकको मोबाइल फोन विश्लेषण गर्‍यो । तर, शंकास्पद त्यस्तो कुनै नम्बर फेला परेन । त्यसपछि प्रहरी हत्या भएको दिन घटनास्थल आसपास सक्रिय मोबाइल नम्बरको विश्लेषणमा लाग्यो । यसक्रममा घटनाका दिन मृतकको आसपास सक्रिय एउटा नम्बर देखियो । प्रहरीले सो मोबाइल नम्बरको डिटेल उतार्‍यो । व्यक्ति पहिचान भयो । तुरुन्तै शंकास्पद व्यक्तिको खोजीमा जुट्यो । 

त्यसक्रममा शंकास्पद व्यक्तिको मोबाइल नम्बर काठमाडौंमा सक्रिय रहेको खुल्यो । पछ्याउँदै जाने क्रममा असन कमलाक्षीस्थित घरको डेरामा सुरेश तिमल्सिना फेला परे । तर, उनले घटनामा आफ्नो संलग्नता इन्कार गरे । प्रहरीले जब उनलाई अपर्झट काठमाडौं आउनुको उद्देश्य सोध्यो, त्यसक्रममा उनले दुई आफन्तमध्ये एकलाई बुबाको र अर्कोलाई आमाको उपचार गर्न काठमाडौं आएको बताएको खुल्यो । अनुसन्धान गर्दै जाँदा उनले झुटो बोलेको पाइयो । विरोधाभास यही अभिव्यक्तिले उनको कर्तुतलाई उदांगो बनाइदियो । 

‘घटनालगत्तै हामी दक्षिणकाली गयौँ । अनुसन्धान सुरु गर्‍यौँ, भएजति सबै उपाय लगायौँ । पछि एक व्यक्तिको गतिविधि शंकास्पद देखियो । उनलाई काठमाडौंबाट पक्राउ गर्‍यौँ । बयान लिने क्रममा उनले दुईमध्ये एक आफन्तलाई बुबाको र अर्कोलाई आमाको उपचार गर्न काठमाडौं गएको बताएको खुल्यो । तर, अनुसन्धानपछि उनका आमाबुबा कोही बिरामी नभएको पाइयो,’ घटना अनुसन्धानपछि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘अन्ततः उनको विरोधाभास यही अभिव्यक्ति नै हत्याको रहस्य खोल्ने कडी बन्यो । घटना भएको २४ घन्टाभित्रै अनुसन्धानलाई टुंगोमा पुर्‍यायौँ ।’

जंगली जनावरको आवाज नक्कल गर्न दक्षिणकाली पुगेकी थिइन् सुब्बा
काठमाडौंकी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण प्रतिभा थियो । यही प्रतिभालाई नै उनले जीवन गुजाराको माध्यम बनाएकी थिइन् । यसका लागि उनी विद्यालय–विद्यालय आवाज सुनाउन हिँड्थिन् । निषेधाज्ञाका वेला विद्यालय बन्द थियो । फुर्सदको यही मौका सदुपयोग गर्न उनी ५ असारमा दक्षिणकालीको जंगल पुगेकी थिइन् । त्यस रात उनी दक्षिणकालीकै गेस्ट हाउसमा बसिन् । भोलिपल्ट  जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न जंगल पसिन् । साँझ परेपछि उनी दक्षिणकालीकै एक होटेलमा बसिन् ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार सोही होटेलमा मदिरा पिउँदै थिए अभियुक्त सुरेश । खाजा खाएपछि घर फर्कन र होटेलमा बस्न पैसा नभएको सुब्बाले आफ्नो पीडा होटेल साहुजीलाई सुनाइन् । मदिरामा मस्त सुरेशले सबै व्यवस्थापन गरिदिने प्रलोभन दिए । सुब्बा ढुक्क भइन् । साँझ ८ बजे सन्तोषी सुब्बा सुरेशसँगै बाहिर निस्किइन् । दक्षिणकाली–काठमाडौं चल्ने बसको सहचालक सुरेशले ‘गेस्ट हाउस खुला नभएकाले बसमा रात बिताउन दिने’ भने । सुब्बा पनि राजी भइन् । दुवै दक्षिणकालीस्थित पार्कमा राखिएको बसतर्फ लागे ।

‘मृतक वेलावेला दक्षिणकाली जानेआउने गरेको देखिन्छ । यही क्रममा उनी ५ असारमा दक्षिणकाली गएकी रहिछिन् । यसक्रममा दुवैको भेट खाजा खाने होटेलमा भयो । यही भेट सुब्बाको हत्याको कारण बन्यो,’ एसपी कोइरालाले भने । पार्कनजिकै पुगेपछि सुरेशले सुब्बालाई हातमा समाते । पार्कबाट जंगलतर्फ लगे । र, एक्कासि लडाए । जबर्जस्ती गर्न खोज्दा सुब्बाले प्रतिकार गरिन् । नशाको सुरमा रहेका सुरेशले सुब्बाकै सल ताने अनि घाँटीमा कसे । बेहोस भएपछि ढुंगाले टाउको किचे र नजिकैको जंगलमा लगेर फाले । त्यसपछि उनी फरार भए । घटनामा संलग्न तिमल्सिना सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई हाल दक्षिणकाली नगरपालिका–७ बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका वेला अभियुक्तले लगाएका कपडा, मृतकको मोबाइल, मेमोरी कार्डसमेत बरामद गरेको छ ।

‘हत्याका अभियुक्तले सलले घाँटीमा थिचेको देखिन्छ । त्यसपछि टाउकोमा ढुंगाले किचेकाले नै सुब्बाको प्राण गएको हुन सक्छ । सुरेशले बलात्कार प्रयास गरेको देखिन्छ,’ महाशाखाका एसपी कृष्ण पंगेनीले भने ।