१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १० बिहीबार
  • Saturday, 29 June, 2024
साल्ट ट्रेडिङ कर्पोरेसनमा कार्यरत कर्मचारी बिक्री भएको सामानको हिसाब गर्दै । फाइल तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२o७८ असार १० बिहीबार o९:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारी दुई कम्पनीबाट २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्न बन्द

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १० बिहीबार o९:५१:oo

सरकारी दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा खाद्यान्न तथा ग्यास बिक्री बन्द गरेका छन् । सरकारको निर्देशनअनुसार १८ दिन सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरेर दुवै संस्थानले मंगलबारबाट छुट मूल्यको बिक्री बन्द गरेको जनाएका छन् ।

गत १५ असारमा आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निषेधाज्ञाभरि दुवै कम्पनीबाट चामल, चिनी, पिठो, तेल, ग्यासलगायतमा २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । उनले तालुक मन्त्रालय र दुवै संस्थानसँग समेत छलफल नगरी बजेटमा घोषणा गरेका कारण कार्यान्वयन गर्न अलमल भएको थियो ।

पछि अर्थमन्त्री पौडेलकै संयोजकत्वमा अर्थ मन्त्रालयमा बैठक बसेर बजेट सार्वजनिक भएको एक हप्तापछि २१ जेठबाट छुट मूल्यका खाद्यान्न बिक्री थालिएको थियो । साल्ट ट्रेडिङले उपत्यकाको भक्तपुरको सूर्यविनायक, जडीबुटी, जावलाखेल, कालीमाटी र सतुंगलमा बिक्री केन्द्रबाट २० प्रतिशत छुटसहित पिठो ४४ रुपैयाँ, चिनी ६३.२० रुपैयाँ, नुन १६ रुपैयाँ, भटमासको तेल १ सय ८८ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार १ सय २० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको थियो ।

खाद्य कम्पनीले कर्णालीको सिमी ९६ रुपैयाँ र विभिन्न प्रकारका चामलमा २० प्रतिशत छुट दिएको थियो । सरकारले बुधबारदेखि निषेधाज्ञामा निकै खुकुलो पारेपछि २० प्रतिशत छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने विषयलाई प्राथमिकताबाट हटाएको हो । ७ असारसम्म मात्रै छुट मूल्यमा खाद्यान्न बिक्री गर्न निर्देशन भएको र त्यसपछि कुनै निर्देशन प्राप्त नभएकाले स्थगित गरेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

‘हामीले सुरुमा ३१ जेठसम्म मात्र छुट मूल्यमा खाद्यान्न र ग्यास बिक्री गर्न निर्देशन थियो । त्यसपछि असार ७ सम्म कायम राख्नू भनेर अर्को पत्र दिइएको थियो’ राजभण्डारीले भने, ‘७ असारपछि भने कुनै पत्र आएको छैन । त्यसैले हामीले छुट मूल्यमा खाद्यान्न र ग्यास बिक्री गर्न बन्द गरेका छौँ ।’

खाद्य कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले पनि मंगलबारबाट छुट मूल्यमा खाद्य सामग्री बिक्री गर्न बन्द गरेको बताइन् । खाद्य कम्पनीले चामल र कर्णालीको सिमी बिक्री गरेको थियो । निषेधाज्ञाका वेला छुट कायम गरेपछि उपभोक्ताको भिड बढेको थियो । भिडले कोरोना भाइरस सर्ने जोखिम बढेको भन्दै दुवै कम्पनीले छुट मूल्यमा सामग्री बिक्री गर्न थालेको तेस्रो दिन २४ जेठबाट बिहान ९ बजेसम्म मात्रै सेवा दिएका थिए । जसकारण, धेरै उपभोक्ताले छुट मूल्यको उपयोग गर्न पाएका थिएनन् ।

साल्ट ट्रेडिङद्वारा ७३ लाखको सामग्री बिक्री

साल्ट ट्रेडिङ कर्पोरेसनले छुट मूल्य लागू भएपछि ठूलो परिमाणमा खाद्यान्न बिक्री गरेको छ । निषेधाज्ञा जारी हुनासाथ दैनिक करिब १ लाख रुपैयाँको कारोबार गर्दै आएको थियो । तर, सरकारको निर्देशनमा २१ जेठदेखि ७ असारसम्म १८ दिन सीमित खाद्यान्नमा छुट दिँदा मात्रै ७३ लाख ४१ लाख ६ सय २४ रुपैयाँको बिक्री गरेको छ । यो बिक्री रकम नुन, चिनी, पिठो, भटमास तेल र ग्यासको मात्रै हो ।

साल्ट ट्रेडिङको सहायक महाप्रबन्धक राजभण्डारीका अनुसार यो अवधिमा ४ लाख ८ हजार रुपैयाँबराबरको २५ हजार ५ सय १ किलो नुन, १९ लाख २५ हजार रुपैयाँबराबरको ३० हजार चार सय ६० किलो चिनी, ६ लाख ३७ हजार रुपैयाँबराबरको १४ हजार ४ सय ८६ किलो पिठो बिक्री भएको छ । त्यस्तै, २४ लाख ४४ हजार रुपैयाँबराबरको १३ हजार चार लिटर भटमासको तेल र १९ लाख २६ हजार रुपैयाँबराबरको १७ सय २० सिलिन्डर एसटिसी ग्यास बिक्री गरेको छ ।

खाद्य कम्पनीले करिब सात करोडको खाद्यान्न बिक्री गर्‍यो, १.३८ करोड छुट दियो
१६ वैशाखदेखि निषेधाज्ञा सुरु भएपछि खाद्य कम्पनीको चामल, गेडागुडीलगायतको बिक्री खासै थिएन । तर, २१ जेठबाट २० प्रतिशत छुटमा चामल र कर्णालीको सिमी बिक्री गर्ने निर्णय भएपछि ठूलो परिमाण बिक्री भएको छ । कम्पनीको सूचना अधिकारी शर्मिला न्यापाने सुवेदीका अनुसार छुट मूल्यमा कुल ६ करोड ९१ लाख ३४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ । कम्पनीले छुट मूल्यमा प्रतिव्यक्ति १ बोरा चामल र २ किलो कर्णालीको सिमी बिक्री गरेको थियो ।

प्रतिबोरा चामलमा करिब ३ सय रुपैयाँ छुट भएकाले चामल खरिदमा उपभोक्ताको आकर्षण धेरै थियो । छुट अवधिसम्म ४१ सय घरपरिवारले सेवा लिएको उनले बताइन् । उनका अनुसार १ करोड ३८ लाख रुपैयाँबराबरको छुट उपभोक्ताले उपभोग गरेका छन् । खाद्य कम्पनीले अरुवा मोटा, अरुवा मकवानपुर, अरुवा सोना मसिनो, स्टिम सोना मसिनो, अरुवा मध्यम, स्टिम रन्जित, स्टिम जिरा मसिनो चामलमा छुट दिएको थियो । यसमध्ये जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी थियो । कम्पनीले मार्सी र बासमती चामलमा भने छुट दिएको थिएन ।

ad
ad
ad
ad