एकपटक अलेक्जेन्डर सिकन्दर आफ्ना सेनापतिसित रिसाए । सेनापतिले आफूलाई विगतमा लगाएका गुन र गरेको सेवाका कारण सिकन्दर उनलाई बर्खास्त गर्न पनि सक्दैनथे । साथै, उनी उनलाई यथावत् सेनापतिको पदमा राखिरहन पनि सक्दैनथे । त्यसैले, सिकन्दरले सजायस्वरूप उनलाई सुबेदार पदमा घटुवा गराइदिए ।
सिकन्दरले सोचेका थिए, सेनापति हुँदा पाएको मान, सम्मान सम्झेर यो एक दिन गिडगिडाउँदै आउँछ र आफूलाई पुनः सेनापति बनाइदिन अनुनय विनय गर्नेछ । सेनापतिको घटुवा भएको महिनौँ बित्यो, तर उनी कहिल्यै दुःखी पनि देखिएनन् र आफूलाई पुनः सेनापति बनाइदिने अनुनय लिएर सिकन्दरको अगाडि आउँदा पनि आएनन् । त्यसैले, एक दिन सिकन्दरले नै उनलाई बोलाउन पठाए ।
एक सिपाहीले उनलाई बोलाएर ल्याए । सुबेदारलाई आफूनजिकै बस्न आदेश दिएपछि सिकन्दरले सोधे– तिमी त घटुवा भएपछि पो बढ्ता खुसी देखिएका छौ । सेनापतिबाट सुबेदारमा झर्दा तिमीलाई कुनै दुःख लागेन ?
सुबेदारले जवाफ दिए– मलाई किन दुःख लाग्नु सरकार ? म सेनापति हुँदा मेरो पदको डरले गर्दा पनि तल्लो तहका सिपाहीहरू नजिक पर्दैनथे । मसित बोल्दैनथे । तर, अहिले सुबेदार भएपछि उनीहरू मकहाँ आउँछन् । दुःखसुखका कुराकानी गर्छन् । जसले मलाई असाध्यै खुसी दिन्छ । रह्यो कुरो पदको, एउटा सिपाही जुन पदमा रहे पनि गर्ने त देशको रक्षा नै हो । म हिजो सेनापति हुँदा पनि देशकै रक्षा गरिरहेको थिएँ । आज सुबेदार हुँदा पनि देशकै रक्षा गर्न पाइरहेको छु ।
देशको रक्षाभन्दा ठूलो र साँचो खुसी अर्को के हुन सक्छ र म दुःखी हुनु सरकार ? सुबेदारका कुरा सुनेर सिकन्दरलाई आफ्नो गल्ती महसुस भयो । उनले आफ्नो गल्ती स्वीकार गर्दै ती सुबेदारलाई पुनः सेनापति नै बनाए ।