Skip This
ओखलढुंगामा चक्रपथ र पुल निर्माणको काम समयअगावै सकियो, बोनस दाबी गर्दै ठेकेदार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७८ असार ४ शुक्रबार १७:३o:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

ओखलढुंगामा चक्रपथ र पुल निर्माणको काम समयअगावै सकियो, बोनस दाबी गर्दै ठेकेदार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ असार ४ शुक्रबार १७:३o:oo

विकास निर्माणका आयोजना वर्षाैँ अलपत्र पर्ने समस्या रहेको ओखलढुंगामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् । निर्वाचन क्षेत्रस्तरीय रिङरोड र सिस्नेखोला पुल निर्माणको काम  सक्नुपर्ने समयभन्दा एक वर्षअगावै सम्पन्न भएका हुन् ।

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं. १ उच्चस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड रुम्जाटार–सानीटार–बनपाले–बुलादी–देउराली फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रा.लि बालाजु काठमाडौंले ठेक्का लिएको थियो । ०७८ पुस २१ गतेसम्म म्याद राखेर ०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नाै किलोमिटर आठ सय मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ । 

भ्याटसहित १५ करोड ६२ लाख ७० हजार ६ सय ७५ रुपैयाँ ४९ पैसामा ठेक्का लिएको सडक चौडाइ गरेर ग्राभेल गर्ने काम तीन वर्षको समय हुँदा पनि डेढ वर्षभित्रै सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको निर्माण व्यवसायी तेजबहादुर भुजेलले बताए । 

महालक्ष्मी कन्स्ट्रक्सनले ठेक्का लिएका पूर्वाधार निर्माणका कामहरू सबै समयअगावै सक्ने गरिएको उनको भनाइ छ । ‘यो त मन्त्रीज्यूले थालेको गौरवको योजना सकेसम्म राम्रो काम गरेर छिटो सम्पन्न गर्नुपर्ने दबाब थियो नै । हाम्रो कम्पनीले यसअघि दोलखासहितका अन्य ठाउँमा जिम्मा लिएका काम पनि नेपाल सरकारले दिएको समयभन्दा अगाडि नै सम्पन्न गर्दै आएको छ,’ उनले भने, ‘ढिलो गरेर कम्पनीको बदनाम गराउनु, जरिवाना तिर्नुभन्दा छिटो छिटो काम सकेर बोनस खाने हाम्रो नीति छ । काम थालेपछि रफ्तारमा गर्छौँ । सकाएर सरकारलाई बुझाउँछौँ ।’ समय तालिका बनाएर निरन्तर काम गर्दा ठेक्कामा तोकिएको समयभन्दा अगावै काम गर्न सकिने उनको भनाइ छ । 

ओखलढुंगाको सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती रुम्जाटार सडकखण्डअन्तर्गत सिस्ने खोलामा दुई वर्षमा बनाई सक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । 

के.एम. इन्जिनियर्स बिल्डर्स प्रा.लि. काठमाडौंले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको ३५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको प्रिस्टिस आरसिसी पुल एक वर्षभित्रै निर्माण सम्पन्न गरिएको ठेकेदार कम्पनी के.एम. इन्जिनियर्स बिल्डर्स प्रा.लि.का मोहन कार्कीले बताए ।

जिम्मा लिएको काम तोकिएको समयभित्रै सक्ने कम्पनीको नीतिअनुरूप गुणस्तरीय काम गरेर समयअगावै निर्माण सम्पन्न गरी हस्तान्तरणको तयारीमा रहेको उनको भनाइ छ । ‘ठेक्का सम्झौता गरेको एक वर्ष हुन केही दिन अझै बाँकी छ । सक्नुपर्ने समय अझै एक वर्ष छ, तर हामीले काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेका छौँ,’ निर्माण व्यवसायी कार्कीले भने, ‘शिलान्यास गरेर काम थालेका दिनदेखि कुनै दिन काम रोकिएन । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्रीज्यूको निरन्तर अनुगमन निरीक्षण भइरह्यो । बजेट पनि समयमै निकासा भएपछि काम वेलैमा सक्न हामीलाई सजिलो भयो ।’ निर्माण व्यवसायीले ढिला सुस्ती गर्ने समस्या देखाउँदा निर्माण जगत् नै बदनाम बनेको भन्दै आफुहरु समय अगावै काम सकेर पुरस्कृत हुने नीतिका साथ लागिपरेको कार्कीको भनाइ छ । ठेक्का सम्झौतापछि उक्त योजनाका लागि विनियोजित बजेट अन्यत्र खर्च नगरी त्यसैमा लगाएर काम गर्दा समयमै सकिने उनको अनुभव छ । 

सिस्नेखोला पुल स्थानीय सडक पुल कार्यक्रम, स्थानीय सडक पुल सहयोग इकाइको सहयोगमा भ्याटसहित पाँच करोड ४४ लाख चार हजार ४२ रुपैयाँ २१ पैसा लागतमा सिस्नेखोला पुल निर्माणको ठेक्का लागेको थियो । प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेका दुवै आयोजना सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले एकैपटक दुवै योजना उद्घाटन गरेका छन्  ।

नेपालको समृद्धि निर्माण व्यवसायीको गतिमा भरपर्छ : मन्त्री गुरुङ 
प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले नेपालको समृद्धि निर्माण व्यवसायीको गतिमा भरपर्ने बताएका छन् । गृहजिल्ला ओखलढुंगामा आफ्नो निर्वाचन क्षेत्रस्तरीय चक्रपथ आयोजना र सिस्नेखोला पुल उद्घाटन गर्दै मन्त्री गुरुङले निर्माण व्यवसायीले समयमै काम गर्दा सरकारको प्रगति देखिने र मुलुकमा समृद्धि आउने बताएका हुन् ।

अधुरा आयोजना सम्पन्न गर्दै नवनिर्माणलाई अघि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मन्त्री गुरुङले निर्माण व्यवसायीहरुले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने बताए । छिटो र राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने र म्याद सकिँदासम्म काम नसक्नेलाई जरिवाना गर्ने सरकारको नीति प्रदेश १ मा कडाइका साथ लागू गरिएको उनको भनाइ छ ।

‘सरकारले बजेट मात्रै पठाएर विकास देखिन्न । बजेट आएपछि ठेक्का लाग्छ, तर ठेकेदारले काम समयमै गर्दैनन् । आयोजना अलपत्र पारेपछि न समृद्धि आउँछ न त सरकारको काम देखिन्छ,’ मन्त्री गुरुङले भने, ‘प्रदेश १ का १४ वटै जिल्लामा अधुरा आयोजना तत्काल सम्पन्न गर्ने हाम्रो नीति छ । अब काम नगर्ने ठेकेदार कारबाहीमा पर्छन् राम्रो गर्नेले नियमानुसार बोनस पाउँछन् । अर्को ठेक्का पाउँछन् ।’ ओखलढुंगा जिल्लामा विकासका काम जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन कर्मचारीलाई मन्त्री गुरुङले निर्देशन दिएका छन् । 

आफूले रोजेको चक्रपथको पहिलो खण्ड र सिस्नेखोला पुल निर्माणको काम समयअगावै सकिएको खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले जिल्लाको विकासले गति लिएको सन्देश दिएको बताए । ‘आज मेरो त्यो संकल्प पूरा भएको महसुस गरेको छु । बजेट आगामी वर्षका लागि पर्याप्त छ  । अब ओखलढुंगामा जनताले चाहेको र हामीले बोलेकोभन्दा बढी विकास देखिनक्रम सुरु भएको छ,’ मन्त्री गुरुङले भने ।

सरकारले विकासका लागि बजेट अभाव हुन नदिने बताउँदै उनले राष्ट्रिय गोरवको आयोजनामा समेटिएको चक्रपथ जिल्लाका ३४ वटा वडामा एकसाथ पुग्नेगरी काम सुरु हुने बताए । मन्त्री गुरुङकै पहलमा जिल्लाको मान्द्रे दोभानसहितका ठाउँमा निर्माणाधीन पुराना पुलको कामले तीव्रता पाएको छ भने यस वर्ष जिल्लामा दर्जनभन्दा बढी नयाँ सडक पुल निर्माणको काम थालिएको छ । 

चक्रपथ निर्माणको बाँकी काम गर्न आगामी वर्षको बजेट आइसकेकाले ठेक्कामार्फत नयाँ सडक निर्माण र बनेको सडक स्तरोन्नतिको काम अघि बढाइने पूर्वाधार विकास कार्यालय ओखलढुंगाका प्रमुख गंगासागर यादवले बताए । 

ठेकेदारले जिम्मा लिएर योजनाहरू अलपत्र पार्ने गरेका थुप्रै उदाहरणका बीच उच्चस्तरीय चक्रपथ र सिस्ने खोला पुल समय अगावै निर्माण सम्पन्न हुनु सुखद सन्देश भएको सरोकारवालाहरूले बताएका छन् । समयअगावै ठेक्का लिएको काम सक्ने निर्माण कम्पनीले नियमानुसार बोनस रकम पाउने जनाइएको छ । जिल्लामा ठेकेदारले समयमै काम नगर्दा पटकपटक म्याद थपिएर पनि काम नभएका दर्जनौँ आयोजना अलपत्र अवस्थामा छन् ।