१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २५ मंगलबार १३:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा फुटेसँगै प्रदेश २ मा सरकार फेरबदलको खेल सुरु, उपेन्द्र यादव जनकपुरमा 

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:३९:oo

एकताको केही वर्षमै विभाजन हुन पुगेको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ सरकार फेरबदलको खेल सुरु भएको छ । पार्टी एक अध्यक्ष महन्थ ठाकुर– राजेन्द्र महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ सरकारमा फेरबदलको खेल तीव्र भएको छ ।

केन्द्रमा महन्थ ठाकुर– राजेन्द्र महतो सरकारमा गएपछि त्यसको बदला लिन अर्का अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ नै प्रदेश २ सरकारको पुनर्गठनका लागि जनकपुर आइपुगेका छन् । शनिबार बिहानैदेखि उनी मुख्यमन्त्री लालबाबु राउतसहित आफ्ना पक्षका मन्त्रीसँग छलफल गरिरहेका छन् भने शनिबार नै विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र नेकपाका माधन–खनाल समूहका संसदीय दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । 

बैठकमा आगामी रणनीति कसरी बनाउने ? प्रदेश सरकारलाई कसरी निरन्तरता दिने विषयमा सामान्य छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री जानेन्द्रकुमार यादवले बताए । अहिले प्रदेश सरकारमा राजपाका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातारणमन्त्री रामनरेश राय यादव, सामाजिक विकासमन्त्री नवल किशोर साह, राज्यमन्त्रीहरू डिम्पल झा, सुरेश शर्मा र अभिराम शर्मा सरकारमा छन् । तर, वनमन्त्री यादव र सामाजिक विकासमन्त्री साह राजपालाई छोडेर उपेन्द्र यादवकै खेमामा लागेपछि उनी दुवैलाई तत्काल सरकारमा राखेर बाँकी राजपाका तर्फका मन्त्री र राज्यमन्त्रीलाई हटाउने तयारी भइरहेको बताइएको छ । 

राजपाका मन्त्रीहरूलाई हटाएर कांग्रेस, माओवादी केन्द्रलाई सरकारमा सामेल गराउने रणनीतिअनुसार अध्यक्ष यादव जनकपुर आएका हुन् । प्रदेश २ सरकारको पुनर्गठनको विषयमा शुक्रबार काठमाडाैंमै कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग अध्यक्ष यादवले भेटघाटसमेत गरेका थिए । 

यता, अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतोका समूहका भौतिक पूर्वाधार विकासमन्त्री तथा तत्कालीन जनता समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनल आफ्नो नेतृत्वमा प्रदेश मन्त्रिमण्डल गठनको अन्तरिक तयारीमा सक्रिय देखिएका छन् । वर्तमान मुख्यमन्त्री तथा तत्कालीन संघीय समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबु राउत आफ्नो नेतृत्वमा प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिरहेका छन् । 

यस्तो छ अहिले प्रदेशको दलीय अवस्था  
अहिले तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपाले सरकारको नेतृत्व गरिरहेको छ । प्रदेश २ का १ सय ७ सांसद छन् । त्यसमध्ये तत्कालीन सपा ३०, राजपा २५, नेकपा २१, काग्रेस १९, माओवादी केन्द्र ११ र रिजवान अन्सारी नेतृत्वको समाजवादी पार्टी १ गरी एक सय ७ जना सांसद छन् ।

राजपाका एक सभामुख भएपछि बहुमतको सरकारका लागि ५४ जना आवश्यक छ । मुख्यमन्त्री राउत अहिले बहुमतका मुख्यमन्त्री हुन् । तर, अहिले उक्त संख्या हेरफेर भएको छ । माओवादी केन्द्रले आफ्ना तीनजना सांसदलाई कारबाही गरेपछि सभामा उसको आठजना सांसद मात्रै छ ।

त्यसैगरी, राजपाका २५ मध्ये २३ जना मात्रै छन् । दुईजना उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले राजपा छाडेर उपेन्द्र यादव समूहमा लागेका छन् । त्यसैगरी, नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसदसहित नेपाल–खनाल समूह बहुमतमा छ भने ओली पक्षमा आठजना मात्र छन् । खनाल–नेपाल समूहका संसदीय दलको नेता शत्रुधन महतो रहेका छन् । 

अहिलेको अवस्थामा राउतलाई मुख्यमन्त्री कायम रहने सम्भावना बढी देखिएको छ । कारण अहिले सपाको ३२, माओवादीको ८ र खनाल नेपाल समूहको १३ र नेपाल संघीय समाजवादी पार्टीका एकजना सांसदले समर्थन गरेपछि कांग्रेसबाहेक पनि सरकार बनाउन सक्ने अवस्था छ ।

अर्कोतर्फ पूर्वराजपाका सांसद पनि मन्त्री पद दिए आफ्नो पक्षमा ल्याउने सम्भावना पनि उत्तिकै रहेको छ । यता, सोनललाई कांग्रेस, ओली पक्षले सहयोग गरे पनि बहुमत संख्या पुर्‍याउन कठिन देखिएको छ । तर, माधव नेपाल समूहको सांसदलाई कारबाही गरिएको खण्डमा समीकरण हेरफेर हुन सक्ने बताइएको छ । 

ad
ad