बालस्याहार र अन्य सुविधा विस्तार नगरी बालबच्चा जन्माउने संख्याको सीमा बढाएर मात्र प्रजनन दर बढ्दैन
मे महिनामा सार्वजनिक चिनियाँ जनगणनाको तथ्यांकले चीनमा पछिल्लो दश वर्षको जनसंख्या वृद्धिदर हालसम्मकै न्यून रहेको सार्वजनिक गर्यो । जनगणनाअनुसार चीनको प्रजनन दर प्रतिमहिला १.३ बालबालिका पुगेको छ । यो दर न्यून जनसंख्या वृद्धिको सामना गरिरहेको भन्दै पहिल्यैदेखि चिन्तित जापानको भन्दा पनि कम हो ।
चीनको प्रजनन दर घटिरहेको छ भनेर विभिन्न सर्वेक्षणले पहिलेदेखि नै संकेत गरेका थिए । तर, पछिल्लो जनगणनाको तथ्यांकप्रति भने मिडियामा व्यापक हलचल मच्चियो । चिनियाँ मिडियाले त यसले चीनको आर्थिक तथा भूराजनीतिक भविष्यमाथि खतरा उत्पन्न गराउन सक्ने विश्लेषण गर्न थाले । चीनबाहिरका टिप्पणीकारले पनि चीनले ‘जनसांख्यिक संकट’ सामना गर्न लागेको टिप्पणी गरे । म्याक्किन्सेका एकजना पूर्वपरामर्शदाताले त जन्मदर उच्च बनाउन दुई वा दुईभन्दा कम बच्चा जन्माउने दम्पतीलाई उच्च शिक्षा हासिल गर्नबाट रोक्नुपर्नेसम्मको सल्लाह दिए । जनसंख्या वृद्धिदर घटेको चर्चामाझ मेको अन्त्यमा चिनियाँ सरकारले उसको दुई बच्चा नीति बदलेर सम्पूर्ण चिनियाँ जोडीलाई तीनजनासम्म बच्चा जन्माउन दिने घोषणा ग¥यो । यस्तो खालको घोषणा हुन सक्ने अनुमान पहिल्यैदेखि गरिएको थियो । तर, यो परिवर्तनले पनि चीनमा बुढ्यौली जनसंख्याको बढ्दो संख्यामा उलेख्य प्रभाव पार्न सक्दैन । किनकि विभिन्न सर्वेक्षणका तथ्यांकले बताएअनुसार थोरै संख्याका मानिसले मात्र तीन बच्चा पाउने चाहना देखाएका छन् ।
नयाँ बालनीतिले बढ्दो बुढ्यौली दरलाई घटाउन सकिने चीन सरकारको आशा भए पनि सर्वेक्षणहरूले त्यस्तो सम्भावना न्यून रहेको देखाएका छन्
अन्य पूर्वी एसियाली मुलुकमा जस्तै चीनका अभिभावक र अभिभावक हुन चाहने मानिस बच्चा हुर्काउन लाग्ने महँगो खर्च (विशेष पढाउन लाग्ने खर्च र बालस्याहार) लाई लिएर चिन्तित छन् । बच्चा जन्माएपछि महिलाको करियरमा पर्ने असरलाई लिएर आमा बन्न चाहनेहरू हच्किन्छन् । सरकारले बालस्याहार र अन्य सुविधा विस्तार नगरी बालबच्चा जन्माउने संख्याको सीमा बढाएर मात्र प्रजनन दर बढ्दैन । चीनले जन्मसंख्यामा सीमा किन लगाइरहेको छ भन्ने प्रश्न पनि छ । चीनले उसको परिवार नियोजन कार्यक्रममा पूर्ण रूपमा पुनर्संरचना गर्न र स्थानीय परिवार अधिकारीलाई पुनः परिचालन गर्न ठूलो समय र रणनीतिको आवश्यकता पर्छ । केही विश्लेषकले अहिले धेरै बच्चा जन्माएर चीनको अल्पकालीन जनसांख्यिक चुनौती सम्बोधन नहुने बताइरहेका छन् ।
आज जन्मिने बालबच्चा सन् २०४० तिर मात्र श्रम क्षेत्रमा प्रवेश गर्छन् । तर, चीनको एकेडेमी अफ सोसल साइन्सको प्रक्षेपणअनुसार २०३० को दशकको सुरुतिरै सहरी पेन्सन कोष रित्तिनेछ । त्यसैले अहिले बच्चाको संख्या वृद्धि गरेर अल्पकालमा आइपर्ने समस्या सम्बोधन हुँदैन । रिटायरमेन्टको उमेर वृद्धि सजिलो उपाय हुन सक्छ (भलै यो अलोकप्रिय हुन्छ ।) तर, त्यसपछि परिवारमा वृद्ध मानिसको आर्थिक सहयोग कटौती हुने हुँदा बालस्याहारमा असर पुग्छ र अन्ततः जन्मदरमै दबाब पर्छ । न्यून जन्मदर, तीव्र दरले बुढो हुँदै गएको जनसंख्या र सुस्त जनसंख्या वृद्धिलाई सम्बोधन गर्न बृहत्तर रूपान्तरण आवश्यक हुन्छ । चीन विगत दशकमा देशमा उपलब्ध ठूलो र सस्तो श्रमशक्तिलाई उपभोग गरेर आर्थिक वृद्धि हासिल गर्न सफल भयो । अब उसले यो शैलीमा परिवर्तन गरेर सीपयुक्त श्रमको प्रयोग गरेर उत्पादकत्व वृद्धिलाई टिकाउनुपर्छ । यसो भएमा न्यून जनसंख्याले पनि त्यति समस्या हुँदैन । साथै उसले उच्च बुढ्यौली संख्याको समस्या भोगिरहेका देशलाई हेरेर वृद्ध मानिसको हितरक्षा गर्ने सबल सामाजिक र आर्थिक संस्थानहरू निर्माण गर्न सक्छ ।
अर्थतन्त्रमा उल्लेख्य प्रभाव नपारे पनि तीन बच्चा नीतिले केही सकारात्मक रूपान्तरण ल्याउनेछ । कैयौँ श्रमिक दम्पतीले विगतमा सरकारले सीमा तोकेभन्दा बढी बच्चा पाएकोमा जरिवाना तिर्नुपरिरहेको थियो । कैयौँ परिवारले यसका कारण आफ्नो आयको महत्वपूर्ण हिस्सा गुमाउँदै आएका छन् । तीन बच्चा नीतिपछि कैयौँ परिवारले तिर्नुपर्ने जरिवाना हट्नेछ । नयाँ बाल नीतिले मानिससँग कति बालबच्चा जन्माउने भन्ने थप विकल्प प्रदान गर्नेछ । यस परिवर्तनले हजारौँ परिवारले आफ्नै चाहनामा तीनजनासम्म बालबच्चा जन्माउलान् तर यतिले मात्र समग्र जनसंख्यामा उलेख्य फरक भने पार्दैन । तथापि यस परिवर्तनले पहिल्यैदेखि धेरै बालबच्चा भएका कैयौँ परिवारले राहत महसुस गर्ने पक्षलाई भने नजरअन्दाज गर्न मिल्दैन ।
(गेटेल–बास्टेन हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका सामाजिक विज्ञान तथा सार्वजनिक नीतिका प्राध्यापक हुन्)
गार्जियनबाट