मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २० बिहीबार ०९:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन दिनदेखि बंगलादेशसँगको व्यापार ठप्प 

Read Time : > 1 मिनेट
२०७८ जेठ २० बिहीबार ०९:२६:००

नेपाल–बंगलादेशको व्यापार तीन दिनयता ठप्प भएको छ । बंगलादेशमा कोरोना महामारी बढेपछि त्यसको असर नेपाल–बंगलादेश व्यापारमा देखिएको हो । आइतबार साँझबाट बंगलादेशसँग आयात–निर्यात रोकिएको काँकडभिट्टास्थित  नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिडेटले जानकारी दिएको छ ।

संघीय सरकारअन्तर्गत रहेको यो संस्थानले नेपाल–बंगलादेश व्यापारको समन्वय र सहजीकरण गर्दै आएको छ । नेपाल–बंगलादेशसँगको व्यापारका लागि एक मात्र पूर्वी नाका काँकडभिट्टा हो । यो नाकाबाट बंगलादेशसँगको व्यापारमा भारतीय मार्गको प्रयोग गर्नुपर्छ ।

कोरोना महामारी बढेसँगै बंगलादेशको एक्सपोर्ट–इम्पोर्ट एसोसिएसन अफ पञ्चगढले आयात–निर्यात नगर्ने सूचना जारी गरेपछि व्यापार रोकिएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिडेट काँकडभिट्टाका प्रमुख लीलाधर सुवेदीले जानकारी दिए । ‘बंगलादेशमा महामारी बढेपछि त्यहाँको एक्सपोट–इम्पोर्ट एसोसिएसन अफ पञ्चगढले सूचना दिएर आयात–निर्यात रोकिएको छ । हामीले आइतबारसम्म काम गर्‍यौँ । बंगलादेशले शुक्रबारसम्म बन्द गर्ने जानकारी दिएको छ,’ सुवेदीले भने, ‘शुक्रबार बंगलादेशको सार्वजनिक बिदा हो । अब शनिबारदेखि फेरि आयात–निर्यात सुरु हुन्छ ।’ 

नेपालबाट दाल, चिराइतो जातको जडीबुटी निर्यात हुँदै आएको छ भने बंगलादेशबाट औषधि, सोयाबिन र नरिवलको तेल, प्लास्टिकका सामग्री र फ्रिज आयात हुन्छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्व संकलनको १९ प्रतिशत भारतीय सामग्रीको आयातले धान्दै आएको कार्यालय प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए । 

विगत लामो समयदेखि बंगलादेशबाट आयात हुँदै आएको जुट भने पछिल्लो ६ महिनादेखि ठप्प छ । ‘जुट मिलका लागि आवश्यक कच्चा पदार्थ ६ महिनादेखि आउन सकेको छैन । विगतमा दैनिक ढेड सय मेट्रिक्टनसम्म जुट नेपाल आउँथ्यो,’ उनले भने, ‘कोरोना महामारीले बंगलादेशमा कृषकले जुट उत्पादन नगर्दा आयात हुन नसकेको सूचना आएको छ ।’

पूर्वी नाकाबाट आयात घट्यो
कोरोना महामारीका कारण भारत, भुटान र बंगलादेशबाट हुने आयात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीका कारण बजारमा सामान खपत नहुँदा आयातमा कमी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए । महामारीका कारण गत वैशाख दोस्रो साताबाट देशका विभिन्न जिल्लामा निषेधाज्ञा हुँदै आएको छ । आयात कम हुँदा मेची भन्सार कार्यालय काँकडभिट्टाले राजस्व संकलनमा राखेको मासिक लक्ष्य पूरा हुन नसकेको विश्वकर्माले जानकारी दिए । विगतको तुलनामा एकतिहाइ पनि सामान आयात हुन नसकेको उनले जानकारी दिए । 

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षमा वार्षिक १२ अर्ब नौ करोड राजस्व संकलनको लक्ष्य राखेको छ । १८ वैशाखसम्म ११ अर्ब ३३ करोड राजस्व संकलन भएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए । ‘अझै ढेड महिना छ । वार्षिक लक्ष्य त पूरा हुन्छ । तर, मासिक लक्ष्य पूरा हुन सकेको छैन । वैशाख २२ गतेबाट झापामा लकडाउन सुरु भयो । वैशाखमा एक अर्ब २८ करोडको लक्ष्य थियो । एक अर्ब १८ करोड राजस्व संकलन भयो ।

जेठमा एक अर्ब २९ करोडको लक्ष्य हुँदा मंगलबारसम्म ४२ करोड मात्र उठेको छ । यसपटक लक्ष्य पूरा हुँदैन,’ उनले भने, ‘मेची भन्सारको आधा हिस्सा पेट्रोलियम पदार्थले ओगट्ने गरेको थियो । यसको आयात ह्वातै घटेको छ । अहिले अत्यावश्यक तरकारी तथा फलफूल र खाद्यान्न मात्र आइरहेको छ । यसले गर्दा राजस्व असुली घट्यो ।’