निषेधाज्ञाका कारण उद्योगको उत्पादन, ढुवानीदेखि बिक्रीसम्मको चेन भत्किन पुगेपछि उद्योगमा स्टक थुप्रियो
कोभिड–१९ संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको असर खाद्यवस्तुका उद्योगहरूमा पनि देखिन थालेको छ । खाद्यवस्तुको नियमित माग घट्नुका साथै ढुवानी र बिक्रीमा पनि समस्या आएपछि देशभरका उद्योगहरूले ६० प्रतिशतसम्म उत्पादन घटाएका छन् । गत वर्षको लकडाउनमा शतप्रतिशत क्षमतामा चलेका खाद्यान्न उद्योगहरू यसपटक प्रभावित भएको केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले बताए ।
सरकारले शुक्रबारदेखि किराना पसल खोल्न पनि प्रतिबन्ध लगाएपछि खाद्यान्न उद्योगमा प्रत्यक्ष असर पर्ने व्यवसायीहरू बताउँछन् । ‘कोभिड व्यापक फैलिएपछि उपभोक्ताहरू पनि पसलमा किनमेल गर्न डराइरहेका छन्,’ नेपाल बिस्कुट उद्योग संघका अध्यक्ष एवं एसियन बिस्कुट इन्डस्ट्रिज र एसियन थाई फुड्सका सञ्चालक महेश जाजूले भने ।
अहिले निषेधाज्ञाका कारण उद्योगको उत्पादन, ढुवानीदेखि बिक्रीसम्मको चेन भत्किन पुगेको छ । एकातिर उद्योगका कर्मचारीहरू कोभिड संक्रमित हुँदा उद्योग चलाउन नै समस्या भइरहेको छ भने अर्कोतिर उत्पादित वस्तु बजारसम्म पुर्याउन कठिन भएको छ । बजारबाट डिलरहरूले नियमित अर्डर नपठाउँदा पनि उद्योगहरू उत्पादन कटौती गर्न बाध्य भएको व्यवसायीले बताए । ‘एकातिर मालवस्तु ढुवानीमा समस्या भइरहेको छ, अर्कोतिर बजारबाट उधारो उठाउन पनि सकस भइरहेको छ,’ उद्योगी जाजूले भने, ‘अहिले बैंकहरू कम खुलेका कारण पनि डिस्ट्रिब्युटरले आफूसँग भएको पैसा पनि पठाउन सकिरहेका छैनन् ।’ महामारीका वेलामा डिस्ट्रिब्युटर्सले मालवस्तु अर्डर गरिहाले पनि पुरानो पैसा हात नपर्दासम्म धेरै मालवस्तु पठाउनु जोखिमपूर्ण हुने व्यवसायीहरूको समान धारणा छ ।
गत वर्षको लकडाउनमा खाद्यान्न उद्योगहरू क्षमताभन्दा बढी क्षमतामा सञ्चालन भएको खाद्यान्न उद्योगीहरू बताउँछन् । लकडाउनले खाद्यान्नको अभाव हुन सक्ने अनुमान र हल्लाका कारण पनि उपभोक्ताले चाहिनेभन्दा बढी खरिद गरेर स्टक राखेको उद्योगी जाजू बताउँछन् । ‘त्यतिवेला मान्छेले अभाव होला कि भनेर खाद्यान्न स्टक राखे, जसले गर्दा एक्कासि माग बढेपछि उद्योगहरू पूर्ण क्षमतामा चलाउनुपरेको थियो,’ उनले भने, ‘अहिले मानिसले लकडाउन तथा निषेधाज्ञामा खाद्यान्नको अभाव नहुने थाहा पाए, त्यसैले पहिल्यै किनेर राखेनन् ।’ नेपाल फ्लोर एसोसिएसनका अध्यक्षसमेत रहेका दुगड पनि यसपटकको लकडाउनमा धेरैले स्टक नराखेको हुँदा खाद्यान्न अभाव हुन नपाएको बताउँछन् ।
उद्योगी जाजूले बजारमा माग घटेपछि ३–४ दिन गुड लाइफ बिस्कुटको उत्पादन नै बन्द गर्नुपरेको बताउँछन् । क्षमता घटाएर उत्पादन २० प्रतिशतमा झार्दा पनि बिस्कुट बजार ढुवानी गर्न नसकेको र गोदाम भरिएको उनको भनाइ छ । एकातिर अर्डर नआउने, अर्कोतिर अर्डर आइहाले पनि ढुवानी गर्न समस्या भएपछि उद्योग नै बन्द गर्ने निर्णयमा पुगेको उनले बताए । अहिले माग बिस्तारै बढ्न थालेपछि उद्योग पुनः सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
उनका अनुसार अहिले चाउचाउ उद्योगहरू पहिलाभन्दा ३० प्रतिशत कम क्षमतामा चलिरहेका छन् । नवलपरासीस्थित चौधरी उद्योग ग्रामका कर्मचारीका अनुसार अहिले वाइवाई चाउचाउको उत्पादन ५० प्रतिशतभन्दा बढी क्षमतामा चलिरहेको छ । वाइवाईका मात्र नेपालमा ८ वटा प्लान्ट छन् । मुलुकभर बिस्कुट उद्योग सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत क्षमतामा पनि चलेका छैनन् ।
व्यवसायी दुगडका अनुसार अहिले सबैभन्दा समस्यामा मैदा मिल छन् । ‘लकडाउन हुनेबित्तिकै मैदाको माग १०–१५ प्रतिशतमा झरिहाल्छ,’ उनी भन्छन्, ‘अहिले मुलुकभरका मैदा मिलहरू ७० प्रतिशत डाउनमा छन् ।’ केएल दुगड ग्रुपको विकास फुड्सले दिनमा सय टन मैदा उत्पादन गथ्र्यो भने अहिले २५–३० टन मात्र उत्पादन गरिरहेको छ । ज्ञानचक्की आँटाको बिक्री ७० प्रतिशत हाराहारी रहेको छ । मैदा उत्पादनका लागि कच्चा पदार्थको समस्या छैन । तर, चाउचाउ, बिस्कुट, बेकरी, चाउमिनलगायत उद्योगहरू निषेधाज्ञासँगै सुस्ताउँदा मैदाको बिक्री पनि घटेको उनको भनाइ छ । अहिले स्कुल बन्द हुनाले बिस्कुटको बिक्री पनि कम छ । उनका अनुसार अहिले नेपालभरि ३२ वटा मैदा मिल सञ्चालनमा छन् ।
निषेधाज्ञामा तेलको बिक्री पनि पहिलाको तुलनामा ५० देखि ६० प्रतिशतमा झरिसकेको छ । खाद्यान्न धेरै खपत गर्ने होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द हुँदा पनि माग घटेको उनको अनुमान छ । बिहान ५ बजेदेखि राति १० बजेसम्म चल्ने पसलहरू दिनमा दुई घन्टा मात्र खोल्न दिँदा पनि बिक्री घटेको व्यवसायी बताउँछन् । अझ काठमाडौं उपत्यकामा आगामी हप्ता खाद्यान्न पसलसमेत खोल्न नपाउने गरी कडा निषेधाज्ञा लगाइँदै छ ।
दुगडका अनुसार चिउरा मिलले पहिलाको तुलनामा ६०–७० प्रतिशत उत्पादन गरिरहेका छन् । केएल दुगड ग्रुपकै चिउरा मिलबाट अहिले ६० प्रतिशत मात्र उत्पादन भइरहेको छ । केएल दुगडका मैदा, तेल, चिउरा, चामल, दाललगायत खाद्यान्नका उद्योगहरू सञ्चालनमा छन् । सबै उद्योगहरू पहिलाको तुलनामा करिब ५० प्रतिशत क्षमतामा चलिरहेको उनी बताउँछन् । ‘माग नभएर उत्पादन घटाउन बाध्य भएका हौँ,’ उनी भन्छन्, ‘हामीले निषेधाज्ञाको समयमा आपूर्ति व्यवस्थापन मिलाउन कुनै पनि कसर बाँकी राखेका छैनौँ ।’
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाका अनुसार दूध र दुग्धजन्य पदार्थको बिक्री सामान्य अवस्थाको तुलनामा ३०–३५ प्रतिशतमा झरिसकेको छ । अझ उपत्यकाका तीन जिल्लामा किराना पसल पनि खोल्न नपाउने निर्णयले दूध र दुग्धजन्य पदार्थको बिक्री झन् घट्ने उनको अनुमान छ । ‘सामान्य अवस्थामै डेरी उद्योगहरू मुस्किलले ५०–६० प्रतिशत क्षमतामा सञ्चालन हुन्थे,’ उनी भन्छन्, ‘अहिले मुस्किलले ३०–३५ प्रतिशत क्षमतामा चलिरहेका होलान् ।’ अहिले निजी र सरकारी डेरी उद्योगमा साढे ३ अर्बको दुग्धजन्य वस्तुहरू स्टकमा रहेको उनको भनाइ छ । उत्पादन बजारमा पठाउन नसक्दा किसानको भुक्तानीमै असर परेको छ । कतिपय उद्योगले ४ महिनादेखि भुक्तानी दिन सकिरहेका छैनन् । ‘सरकारले डेरी उद्योगलाई पुनर्कर्जा दिएमा किसानलाई भुक्तानी दिन सक्थ्यौँ, पछि हाम्रो उत्पादन बिक्री भएपछि तिर्थ्यौँ,’ उनी भन्छन् ।
लकडाउनले मुलुकभरका पाउरोटी उद्योग पनि समस्यामा परेको नेपाल पाउरोटी उद्योग संघले जानकारी गराएको छ । पाउरोटी उद्योग राम्रोसँग चल्न नसक्दा मैदाको बिक्री घटेको मैदा उद्योगी दुगड बताउँछन् । पाउरोटी, केकलगायत बेकरी आइटममा ठूलो परिमाणमा मैदा खपत हुँदै आइरहेको छ ।
निषेधाज्ञामा चामलको अर्डर पनि कम आइरहेको दुगडले बताए । चामलको माग कम आएपछि उद्योगले पहिलाको तुलनामा ५० प्रतिशतसम्म उत्पादन घटाइसकेका छन् । ‘एकातिर चामको माग नै कम छ, अर्कोतिर कर्मचारी संक्रमित छन्, ढुवानीमा समस्या छ, बजारमा भएको उधारो उठिरहेको छैन,’ उनी भन्छन्, ‘मुख्य खाद्यान्न चामलको कारोबार पनि निषेधाज्ञाले सुस्ताएको छ ।’ अहिले चामल मिलका गोदामहरू भरिएको व्यवसायीहरूले बताए ।
सरकारले अत्यावश्यक वस्तुहरू उत्पादन गर्ने उद्योगहरूलाई स्वास्थ्य मापदण्ड पालना गरेर निर्बाध सञ्चालनका लागि स्वीकृति दिएको छ । उद्योग सञ्चालनका लागि स्वीकृति दिए पनि निषेधाज्ञाका कारण कर्मचारी उद्योगमा आउन सकिरहेका छैनन् । सबै उद्योगले भित्रै आवासीय सुविधा दिएर कर्मचारी राख्न सक्ने अवस्था छैन । अत्यावश्यक खाद्यान्न ढुवानी गर्ने ट्रकलाई पनि ठाउँ–ठाउँमा रोकेपछि ढुवानीमा पनि समस्या पैदा भइरहेको व्यवसायी बताउँछन् । खाद्यान्न बिक्री गर्नका लागि मुलुकभर दिनमा दुई घन्टा मात्र पसल खुल्ने गरेका छन् ।
उद्योगी जाजूका अनुसार चाउचाउ र बिस्कुट उद्योगमा राति खाने–बस्ने सुविधा उपलब्ध छ । तर, सबै कर्मचारीलाई आवासीय सुविधा भने दिन सक्ने अवस्था छैन । केही कर्मचारी घरबाटै जाने–आउने गर्छन् । रातिको सिफ्टमा काम गर्ने कर्मचारी उद्योगभित्रै बस्ने गरेको उनले बताए । अर्का उद्योगी दुगड पनि स्वास्थ्य मापदण्ड पालना गरेरै उद्योग चलाइरहेको बताउँछन् । उनका खाद्यान्नका नेपालगन्ज, वीरगन्ज, नारायणगढमा एक दर्जन हाराहारी उद्योग सञ्चालनमा छन् । ‘कर्मचारीको स्वास्थ्यमा समस्या आएको खण्डमा स्वास्थ्योपचारलगायतका सबै खर्च फ्याक्ट्रीले व्यहोर्छ । इमर्जेन्सीका लागि उद्योगमै अक्सिजन कन्सन्ट्रेटर राखेका छौँ,’ उनले भने, ‘धेरै कर्मचारी कोभिड भएर घरमै बसिरहेका छन्, कतिपय कोभिड संक्रमणको डरले बाहिर निस्कन सकेका छैनन्, हामीले सीमित कर्मचारीबाट उद्योग चलाइरहेका छौँ ।’