मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७८ जेठ १४ शुक्रबार ०७:४७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भिल्लारियलले जित्यो युरोपा लिग

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ जेठ १४ शुक्रबार ०७:४७:००

युरोपियन क्लब फुटबल इतिहासमै सर्वाधिक लामो पेनाल्टी सुटआउटमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै स्पेनी टोली भिल्लारियलले युरोपा लिगको पहिलो उपाधि जित्यो 

एजेन्सी÷ युरोपियन क्लब फुटबल प्रतियोगिताकै लामो र रोमाञ्चक पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया चुकेपछि स्पेनी टोली भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । पोल्यान्डको गदान्स्कस्थित रंगशालामा बिहीबार भएको प्रतियोगिताको पेनाल्टी सुटआउटमा भिल्लारियलले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गरेको हो ।

त्यसअघिको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट १–१ गोलको बारबारी भएपछि पेनाल्टी सुटआउटमार्फत विजेता चुनिएको हो । युनाइटेडका तर्फबाट ११औँ नम्बरमा पेनाल्टी प्रहार गर्न गएका गोलरक्षक डी जिया गोल गर्न असफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलरक्षक गेरोनिमो रुल्लीले देब्रेतर्फ डाइभ गर्दै असफल बनाइदिएका थिए । त्यससँगै भिल्लारियलका खेलाडीहरूले मैदानमा उपाधिको खुसी मनाएका थिए । 

निर्धारित र अतिरिक्त समयमा मैदानको मध्यभागमा अल्झिएका दुवै टोलीका खेलाडीहरूले एकअर्काको पोस्टमा गतिलो आक्रमण गर्न सकेनन् । एक सय २० मिनेटको खेलमा मात्रै तीनवटा राम्रा आक्रमण भए । यद्यपि, त्यसपछि प्रहार गरिएको पेनाल्टी सुटआउट भने रोमाञ्चक बन्यो । मैदानमा रहेका २२ मध्ये २० खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरे । त्यसपछि बाँकी रहेका दुई गोलरक्षकको पालो आयो । भिल्लारियलका गोलरक्षक रुल्लीले टोलीको ११औँ गोल गरे । त्यसपछि डी जियाको प्रहार रोकेर उनले आफ्नो टोलीको जित निश्चित गरेका हुन् ।

भिल्लारियलले युरोपा लिगको उपाधि जितेको यो नै पहिलो अवसर हो । भिल्लारियलका प्रशिक्षक उनई इमेरीका लागि भने यो चौथो उपाधि हो । यी दुई टोलीबीचको प्रतिस्पर्धा युरोपका दुई फरक आर्थिक अवस्थाबाट गुज्रिरहका क्लबहरूबीचको प्रतिस्पर्धाको रूपमा रहेको थियो । भिल्लारियलको तुलनामा म्यान युनाइटेडले खेलाडी अनुबन्धमा ठूलो रकम खर्चेको छ । खेलाडीलाई दिने तलबमा पनि म्यान युनाइटेड निक्कै अघि देखिएको छ । तर, म्यान युनाइटेडका महँगा खेलाडीले कुनै जादू देखाउन सकेनन् । म्यानचेस्टर युनाइटेडले राम्रो सुरुवात गर्न सकेन र खेलमा सुरुवातमै पछि प¥यो । जेरार्ड मोरनोको गोलमार्फत भिल्लारियलले खेलको २९औँ मिनेटमा अग्रता बनाएको थियो ।

दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै इडिसन काभानीले म्यान युनाइटेडलाई १–१ को बराबरीमा फर्काए । मार्कस रासफोर्डले प्रहार गरेको बल फर्किएर आफूतर्फै आएपछि काभानीले गोल गरेका थिए । तर, त्यसपछि फेरि अर्काे गोल थप्न नसक्दा म्यानचेस्टर युनाइटेड पेनाल्टी सुटआउटमा पुगेर उपाधिबाट चुक्यो ।

योजनामै समस्या 
यो सिजन घरेलु लिगमा दुई छिमेकी क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच को अघि बढ्ला भनेर अनुमान लगाउन धेरैलाई मुस्किल रह्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा सिटीले उपाधि जित्यो । युनाइटेड पछि रह्यो । 

गत सिजनकै कुरा गरौँ, युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले अर्काे स्पेनी टोली सेभिलसँग प्रतिस्पर्धा गरेको थियो । म्यान युनाइटेड पराजित भएको उक्त खेलको ८७औँ मिनेटसम्म प्रशिक्षक ओले गुनर सोल्स्कजइरले आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेनन् ।

बुधबार राति पनि फाइनल खेलमा अतिरिक्त समयतर्फ पुगिसक्दासमेत प्रशिक्षक सोल्स्कजइरले खेलमा प्राप्त ६ मध्ये खेलाडी परिवर्तनको कुनै पनि अवसर सदुपयोग गरेनन् । उनले सुरुवातमै आफ्नो आक्रामक टोलीलाई मैदानमा उतारे । सम्भवत उनले आफूले पहिलो रोजाइमा अवसर दिएका खेलाडीको स्थानमा मैदानमा प्रवेश गरेर कुनै पनि खेलाडीले सुधार्न सक्नेमा विश्वास गरेनन् । 

उनले खेलको अन्तिममा जुवान माटा र एलेक्स टेल्लेसलाई पेनाल्टी सुटआउटकै लागि मात्रै मैदानमा प्रवेश गराए । उनका केही आलोचकहरूले पराजयमा प्रशिक्षक सोल्स्कजइरको यो शैली जिम्मेवार रहेको तर्क गरेका छन् । टोलीको रक्षात्मक क्षेत्रमा पनि कमजोरी देखियो । विशेष गरी म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिमा कप्तान हारी मागुइरेको अनुपस्थिति खट्किएको देखियो । उनकै स्थानबाट मोरेनोले भिल्लारियलका लागि गोल गरेका थिए ।

डानी परेजोले प्रहार गरेको फ्रीकिकलाई मोरेनोले गोलमा परिणत गरेका थिए । मोरेनोले यो बललाई खुला प्रहार गर्ने अवसर पाएका थिए । उनलाई रोक्न म्यानचेस्टर युनाइटेडका कुनै पनि रक्षक त्यहाँ थिएनन् । म्यान युनाइटेडले यस्तो गल्ती यो सिजनमा धेरैपटक व्यहोरेको छ । 

तथ्य
भिल्लारियल सन् २००८–०९ को सिजनपछि युरोपियन क्लब फुटबलको कुनै पनि फाइनलमा पुगेको पहिलोपटक नै उपाधि जित्ने टोली बनेको छ । सन् २००८–०९ को सिजनमा सख्तर डोनेटस्कले यो उपलब्धि हात पारेको थियो ।

म्यानचेस्टर युनाइटेडले सबै प्रतियोगितामा गरी पछिल्लो सात पेनाल्टी सुटआउटमध्ये ६ मा पराजय व्यहोरेको छ । भिल्लारियलका प्रशिक्षक उनई इमेरी युइएफए कप वा युरोपा लिग चारपटक जित्ने पहिलो प्रशिक्षक बनेका छन् । भिल्लारियल यो सिजन युरोपको पाँच ठूला घरेलु लिगमध्ये सबै प्रतियोगितामा गरी सय गोल प्रहार गर्ने १३औँ टोली बनेको छ ।

बुधबारको खेलमा सम्भव भएको सट अन टार्गेट (एक भिल्लारियलका लागि र दुई म्यानचेस्टर युनाइटेडका लागि) युरोपा लिगको फाइनलमा सन् २०११ यताकै कमजोर प्रदर्शन रह्यो । सन् २०११ मा पोर्ताे र स्पोर्टिङ ब्रागाबीचको खेलमा पनि तीन सट अन टार्गेन सम्भव भएको थियो ।

गेरार्ड मोरेनोले भिल्लारियलका लागि सबै प्रतियोगितामा गरी ८२ गोल गरेका छन् । उनी भिल्लारियलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडीमा परेका छन् ।