मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ १२ बुधबार ०७:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गौरादह नगरपालिका परिसरमै पुरियो कुहिएको चामल

Read Time : > 1 मिनेट
२०७८ जेठ १२ बुधबार ०७:५७:००

गुणस्तर मापन नगरी हतारहतार तीन हजार १२१ केजी चामल नष्ट

गौरादह नगरपालिकाले तीन हजार १२१ केजी चामल नष्ट गरेको छ । कुहिएको पाँच हजार केजीमध्ये सो परिमाणको चामल गुणस्तर चाँज नगरी नष्ट गरेको हो । एक वर्षसम्म पानी चुहिने गोदाममा थन्क्याउँदा पाँच हजार केजी चामल कुहिएको थियो । 

नयाँ पत्रिका दैनिकले कुहिएको पाँच हजार केजी चामल स्टोर गरेर राखेको र विपन्न नागरिकलाई समेत बाँडेको समाचार प्रकाशित गरेपछि नगरपालिकाले बाध्य भएर नष्ट गर्ने निर्णय गरेको थियो । सोमबार नगरपालिका परिसरभित्रै कुहिएको चामल खाल्डो खनेर पुरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । ‘आँखाले हेर्दा नै काम नलाग्नेजस्तो देखिन्छ । किन गुणस्तर मापन गर्नुपर्‍यो र ?’ उनले भने, ‘पाँच हजार केजीमध्ये दुई हजार केजीचाहिँ काम लाग्छ कि भनेर ५ नम्बर र ३ नम्बर वडामा राखेका छौँ ।’

सामान्यतया सरकारी खाद्यान्न काम नलाग्ने अवस्थामा पुगेमा नष्ट गर्न त्यसको गुणस्तर मापन गर्नुपर्ने नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष अशोक पोखरेल बताउँछन् । ‘आँखाले देख्ने कुरा र कानुनी विषय फरक हो । कानुनी वैधताका लागि नगरपालिकाले खरिद गरेको चामल नष्ट गर्दा गुणस्तरको मापन गरिनुपर्दछ,’ उनले भने, ‘चामल नष्ट गर्न प्राविधिकले जाँच गरेको प्रतिवेदन चाहिन्छ ।’

गौरादह नगरपालिकाको नगर परिसर । यही ठाउँमा  पुरियो कुहिएको चामल । तस्बिर : नयाँ पत्रिका

नगरपालिकाले गल्ती लुकाउन हतारमा चामल नष्ट गरेको राजनीतिक दलको आरोप छ । नगरपालिकाले राजनीतिक दलका नेतृत्वलाई समेत जानकारी नदिई चामल पुरेको एमाले गौरादहका अध्यक्ष मित्रदेव काफ्लेले बताए । ‘नेतृत्वको गैरजिम्मेवारी हो । यसको जिम्मेवारी मेयर रोहितकुमार साहले लिनुपर्छ,’ उनले भने, ‘यत्रो चामल नष्ट गर्दा हामी राजनीतिक दललाई पनि जानकारी छैन । जनप्रतिनिधिलाई सोध्न खोज्दा उहाँहरूले टारिरहनुभयो ।’

केही राजनीतिक दलका नेतृत्वले भने नगरपालिकाले नष्ट गरेको चामलको क्षति जनप्रतिनिधिले व्यहोर्नुपर्ने तर्क गरेका छन् । ‘जनप्रतिनिधिकै कारण यो चामल कुहिन पुग्यो । अब मेयर, उपमेयर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र स्टोरको कर्मचारीबाट क्षति भराउनुपर्छ,’ कांग्रेस नगर सभापति यादवराज सेढाईंले भने, ‘गौरादह नगरपालिका गम्भीर कुशासनको चक्रमा चलिरहेको छ । महामारीमा स्रोतको चरम दुरुपयोग भयो । भलै मेयरले नेतृत्व गरेका होलान्, तर यसको जिम्मेवारी सबै जनप्रतिनिधिले लिनुपर्छ ।’

माओवादी केन्द्रका स्थानीय नेता शेरबहादुर कार्कीले नगरपालिकाले जनतालाई जानकारी पनि नदिई चामल पुरिएको भन्दै आपत्ति जनाए । ‘गुपचुपमा चामल नगरपालिका परिसरमै पुरे । चामल नै पुरे कि के पुरे शंका नै छ । स्थानीयवासीसहित हामी मंगलबार बिहान पुरेको ठाउँमा गएर हेर्न खोज्यौँ,’ उनले भने, ‘तर, प्रहरी लगाएर हामीलाई हेर्न दिएन । नगरपालिकाले जनतामारा स्थानीय सरकारको परिचय दियो ।’

गौरादह उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डा. तिलक खनालले खाद्य सामग्री उपभोग गर्न योग्य हो होइन परीक्षणसमेत नगरी वितरण गरेको पाइएको बताए । अब कुहिएको चामलबाट मानव स्वास्थ्यमा आइपर्ने समस्याको जवाफदेही नगरपालिका हुनुपर्ने उनले बताए । चामल नष्ट गरेपछि स्थानीयले नगरपालिकाको चौतर्फी विरोध गरेका छन् ।