१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ११ मंगलबार
  • Saturday, 21 September, 2024
सिंगापुरबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दै गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ११ मंगलबार o९:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोर्खा ब्रुअरीको समन्वयमा २५ करोडको १३ टन स्वास्थ्य सामग्री सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ११ मंगलबार o९:२६:oo

कोभिड–१९ को महामारीसँग लड्न सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल सामग्री आएको छ । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरी प्रालिको समन्वयमा नेपाल वायुसेवाको चार्टर उडानबाट सो सामग्री नेपाल आइपुगेको हो । नेपाल सरकार, नेपालका कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँगको सहकार्यमा सो सहयोग आएको गोर्खा ब्रुअरीले जनाएको छ । 

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को अनुमानित बराबरका सामग्री दुई दाताहरूका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । यी सामग्रीमा सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएका १ लाख २३ हजारभन्दा बढी फोर्टिट्युड ३.० पिसिआर किटहरू छन् । त्यस्तै, २ लाख ५० हजार किट सिटोटेस्ट स्वाब किट्स भएको ५ हजार बाकस, दुईवटा म्यागेक, ३२ आरएनए एक्स्ट्र्याक्सन मेसिन, २ हजार ५ सय एक्स्ट्र्याक्सन किट र रिजेन्ट्स पनि सो कार्गोमा छन् । यसका साथै ३० वटा अल्फा टेली–भेन्टिलेटर, ६ वटा फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० वटा युवेल बि–पिएपी नन–इन्भेसिभ भेन्टिलेटरहरू पनि सिंगापुरबाट आएका छन् । ४ हजार पल्स अक्सिमिटर पनि सहयोग सामग्रीका रूपमा आएका छन् । आगामी केही सातामा थप मेडिकल सामग्री नेपाल आइपुग्ने पनि जनाइएको छ । 

तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकृत बेनेडिक्ट चिओङले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोभिड–१९ का विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएको अवस्थाले जीवन बचाउन र महामारीलाई नियन्त्रण गर्न हामीले निरन्तर मिलेर काम गर्नुपर्ने स्पष्ट रूपमा देखाएको छ । तामासेक फाउन्डेसन महामारीविरुद्ध विश्वव्यापी युद्ध लड्न नेपालमा रहेका हाम्रा मित्रहरूको साथमा रहेको छ ।’

सिंगापुरस्थित तामासेक फाउन्डेसनले गत साल ०७७ मा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पिसिआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी, ०७२ को भूकम्पपछि शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो ।

मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरीबाट प्राप्त यो सहयोगप्रति आभार व्यक्त गरेका थिए । ‘प्राथमिकताका आधारमा विभिन्न अस्पतालहरूलाई अविलम्ब यी सामग्री वितरण गरी कोभिड–१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु,’ उनले भने, ‘कोभिड–१९ को महामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा ब्रुअरीबाट आउँदा दिनहरूमा पनि यस्तै सहयोगको आशा गर्छु ।’ 

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि तत्काल प्रयोगमा आउने सामग्रीहरू नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे । ‘नेपाल सरकारले यी सामग्रीहरू प्राथमिकताका आधारमा विभिन्न अस्पतालहरूलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास छ,’ उनले भने । गोर्खा ब्रुअरीबाट यसअघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरूमा निरन्तर रूपमा विभिन्न सहयोग गर्दै आएको उनले बताए । ०७२ को भूकम्पमा पनि कम्पनीले नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोगस्वरूप प्रदान गरेको थियो ।

लोटस लाइफ फाउन्डेसन सिंगापुरले तामासेक फाउन्डेसन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद दिएको थियो । ‘यी उपकरणले फ्रन्टलाइन स्वास्थ्य सेवाकर्मीलाई महामारीमा नियन्त्रण गर्न मद्दत पुर्‍याउने आशा छ,’ फाउन्डेसनले भनेको छ ।