सुत्केरी महिला भन्छन्– घर ढल्यो, त्रिपालको ओत पाउँदा खुसी छौँ
दोर्दी गाउँपालिका–८ दुवारकी दिलमाया मगर सुत्केरी भएर अस्पतालबाट फर्केको दुई दिनमै भूकम्पले उनको घर भत्कियो । गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दी–८ भुलभुले केन्द्र भएर गएको ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्केपछि उनले वास गुमाइन् । घर भत्किएसँगै दिलमायासहित उनको परिवार अहिले टेन्टको ओत लागेर बसेका छन् ।
‘भूकम्पले घर भत्काएपछि दुई रात गोलभेडाको टनेलमा बिताएँ, प्रशासनले राहतस्वरूप टेन्ट दिएपछि अहिले टनेलबाट टेन्टमा सरेकी छु,’ दिलमायाले भनिन्, ‘टेन्टले ओत पाउँदा खुसी छु । दुवारकै मीना मिजार सुत्केरी भएको एक साता मात्रै भएको थियो, भूकम्पले उनको पनि उठीवास बनायो । उनको परिवार पनि अहिले टेन्टमै बसेका छन् । भूकम्पबाट घाइते भएकी मर्स्याङ्दी–८ घेर्मु छिचु घर भई हाल बेँसीसहर–८ चनौटेकी उमा गुरुङको परिवार टेन्टमै बस्न थालेका छन् । ‘भूकम्पले घर भत्कायो, घरमा बस्ने ठाउँ छैन, घरमुनि टेन्ट हालेर बसेका छौँ,’ उनी भन्छिन्, ‘टेन्टको वास पाउँदा खुसी छु ।’ बेँसीसहर नगरपालिका–११ रामचोककी भूकम्पबाट घाइते ८३ वर्षीया वृद्धा खवाकुमारी पाण्डे पनि घर भत्किएपछि टेन्टकै सहारामा छिन् ।
१३ घरलाई १५ हजारसहित राहत प्रदान
जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषबाट दुई सुत्केरीलाई १५ हजार, टेन्ट र उमाको परिवारलाई टेन्टसहित तत्काल १५ हजार रुपैयाँ हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, ‘जिल्लामा भूकम्पपछि बस्नै नमिल्ने गरी भत्किएका घरलाई टेन्ट, त्रिपाल र आर्थिक समस्या हुनेलाई १५ हजार दिइएको छ ।’ सुत्केरी, अपांगता, वृद्धवृद्धा र दलित तथा पूर्णरूपमा घर ढलेका बेँसीसहरका ६, दोर्दीका दुई र मस्र्याङ्दीका पाँच घरपरिवारलाई १५ हजार रुपैयाँ राहत दिइएको उनले बताए ।
हालसम्म दुई सय आठ घर पूर्ण क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । पूर्ण क्षति भएकाको तथ्यांक संकलन भइरहेकाले सबै तथ्यांक आएपछि पूर्ण क्षति भएकाले सबैलाई सुरुमा १५/१५ हजार रुपैयाँ राहत दिइने प्रशासन कार्यालयले जनाएको छ । बेँसीसहर–१० का १४ परिवारलाई टेन्ट, एक सय आठ परिवारका लागि त्रिपाल, बेँसीसहर नपा–११ का चार परिवारलाई टेन्ट, २१ परिवारका लागि त्रिपाल, बेँसीसहर नपा–६ का एउटा परिवारलाई टेन्ट, दोर्दी–८ का १६ परिवारलाई टेन्ट र २९ वटा त्रिपाल दिइएको छ ।
मर्स्याङ्दीका पाँच घरमध्ये दुईलाई एक/एक थान टेन्ट र तीन घरलाई ६ थान टेन्ट वितरण गरिएको प्रशासन कार्यालयका लेखापाल रमेश विकले बताए । जिल्लामा संघीय सरकार, प्रदेश सरकार र गैरसरकारी संस्थामार्फत आएको राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रशासनले जनाएको छ । जिल्लामा भूकम्पबाट ६ जना घाइते हुनुका साथै तीन सय बढी घर क्षति भएको अनुमान गरिएको छ । स्थानीय तहको वडा, प्राविधिक र स्थानीय प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । भूकम्प र त्यसपछिको परकम्पले स्थानीय अझै त्रसित छन् ।