१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ६ बिहीबार ११:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिब्बत सरकारले भेन्टिलेटर, अक्सिजन सिलिन्डर र आइसियू बेड पठाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ६ बिहीबार ११:३४:००

चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले कोभिड– १९ को नियन्त्रण तथा उपचारका लागि नेपाललाई ३० हजार लिटर तरल अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोग घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमार्फत बिहीबार यो जानकारी दिएकी हुन् । तिब्बत जनसरकारका प्रतिनिधिले बिहीबार ल्हासामा नेपाली अधिकारीहरूलाई खोप हस्तान्तरण गरेका छन् । 

चिनियाँ दूतावासका एक अधिकारीका अनुसार ल्हासाबाट सामग्री नेपालतर्फ प्रस्थान गरिसकेको छ भने शनिबार तानोपानीस्थित नेपाली सीमामा आइपुग्दै छ । राजदूत यान्छीका अनुसार तिब्बतले तरल अक्सिजनका साथै भरिएको आठ सय अक्सिजन सिलन्डिर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, पाँचवटा भेन्टिलेटर सहयोग गर्दै छ । यसैगरी दुई सय आइसियू बेड र १५ हजार एन्टिजेन किट्स पनि तिब्बतले पठाउने भएको छ । 

ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार पहिलो चरणमा एक सय ५० वटा लिक्विड अक्सिजन सिलिन्डर ल्हासाबाट खासातर्फ हिँडेको छ । यसबाट ४० केजी क्षमताका ६ हजार सिलन्डिर भर्न सकिने ढकालले जानकारी दिए । 

तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिड– १९ को नियन्त्रणसँग सम्बन्धित कार्गो विनारोकावट नेपाल पठाउन सहयोग गर्ने वचन दिएको छ । ‘महावाणिज्य दूतावास कार्गो आवतजावतको निरन्तर अनुगमन गरिरहेको छ र तिब्बत सरकारका सम्बन्धित अधिकारीहरूसँग सघन सम्पर्कमा छ,’ महावाणिज्यदूत ढकालले भनेका छन् । 

चीनको सान सिको एक कम्पनीले ३० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले निःशुल्क रूपमा ल्हासाबाट शुक्रबार काठमाडौं ल्याउने पनि ढकालले जानकारी दिएका छन् । तिब्बतकै गुडविल फाउन्डेसनले आगामी साता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको छ । महावाणिज्यदूत ढकालका अनुसार निजी क्षेत्रबाट कोभिड नियन्त्रणसँग सम्बन्धित सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने क्रममा छन् । अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर बोकेका १५ गाडी सामान खासा पुगेका छन् । 

एभरेस्ट ग्यासका चार हजार पाँच सय खाली सिलिन्डर अक्सिजन भर्नका लागि यही साता तिब्बत पुग्दै छन् ।  नेपाललाई चीनबाट पहिलोपटक तरल अक्सिजन सहायतामा आएको हो । यसअघि चीनको सिचुवान जनसरकारले चार्टर जहाजमा बुधबार स्वास्थय सामग्री पठाएको थियो ।