मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ६ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ जेठ ६ बिहीबार o९:१o:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसको निष्कर्ष : प्रधानमन्त्रीको गलत धारणाले कोरोनाबाट धेरै क्षति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ६ बिहीबार o९:१o:oo

विपक्षी दल कांग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओलीको गलत धारणा र हेलचेक्र्याइँका कारण हजारौँ नेपाली दिवंगत हुनुपरेको र लाखौँ नेपालीको स्वास्थ्य जोखिममा परेको कांग्रेसले आरोप लगाएको छ । 

पूर्वतयारीका लागि पर्याप्त समय र सहजता हुँदाहुँदै पनि सरकारको गैरजिम्मेवारीपन, अक्षमता र अकर्मण्यताका कारण कोरोनाकै कारण हजारौँ नेपाली जनताले ज्यान गुमाउनुपरेको कांग्रेसको ठहर छ । बुधबार बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले राज्यको सम्पूर्ण स्रोत, साधन र शक्ति कोरोना रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि केन्द्रीकृत गर्न पनि माग गरेको छ । 

‘जनताको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व हो, त्यसैले मुख्यतः बैठकले राज्यको सम्पूर्ण शक्ति लगाएर जनताको जीवनरक्षाका निम्ति काम गर्न आग्रह गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले भने । उनले प्रधानमन्त्रीकै कमजोरीका कारण हजारौँ नेपाली नागरिकले दिवंगत हुनुपरेको कांग्रेसको निष्कर्ष रहेको बताए । 

‘मानव जातिका लागि कोरोना यो शताब्दीकै ठूलो खतरा साबित भइसकेको छ । तर, प्रधानमन्त्री स्वयंले यसबारे गलत धारणा राख्ने र हेलचेक्र्याइँ देखाउने गर्नुभयो । एक वर्षअघि प्रधानमन्त्रीले नै ‘कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्र्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ’ भन्नुभयो । अहिले उहाँ आफैँ ‘यो त मैले सोचेजस्तो रहेनछ, यस रूपमा बढ्छ भन्ने लागेकै थिएन’ भनेर हिँड्दै हुनुहुन्छ,’ प्रमुख सचेतक खाणले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्री नै महामारीको नियन्त्रण र आमनागरिकको जीवनरक्षाका लागि गम्भीर र संवेदनशील बन्नुभएन । हामीसँग पर्याप्त समय थियो, तर सरकारले पूर्वतयारी गर्न सकेन, चाहेन । त्यसैले यो सबै उहाँकै कमजोरीका कारण भएको हो ।’ 

कांग्रेसले सबै प्रदेशमा संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर, आइसियूसहितको व्यवस्थित अस्थायी कोभिड अस्पताल बनाउन माग गरेको छ । ‘कोरोना सहरमा मात्रै होइन, दूरदराजमा पुगिसकेको छ, त्यसैले अब सरकारले कोरोना नियन्त्रणलाई नै पूर्ण प्राथमिकतामा राखेर काम गरोस् भन्ने हाम्रो ठहर छ,’ उनले भने ।

बैठकले औषधि, स्वास्थ्य उपकरण र भ्याक्सिन खरिदमा अनियमितता भएका समाचार आएको भन्दै ती प्रकरणमा गहिरो छानबिन गरी दोषीलाई कारबाहीको व्यवस्था गर्न माग गरेको छ । यस्तै, फ्रन्टलाइनरहरूका लागि उचित सुरक्षा र आवश्यक सुविधाको व्यवस्था गर्न, निषेधाज्ञाका कारण किसान र मजदुर वर्गमा परेको असरलाई मध्यनजर गर्दै राहतका कार्यक्रम तुरुन्त ल्याउन माग गरेको छ । 

सधैँ निषेधाज्ञा गरेर देश नचल्ने भन्दै कांग्रेसले कोरोनाबाट सधैँका लागि सबै नागरिकलाई बचाउन यथाशीघ्र खोप खरिद गरेर ल्याउन माग गरेको छ । यस्तै, तत्काल रोकथाम र जनताको जीवनरक्षाका लागि परीक्षण, संक्रमितको उपचारका लागि आइसोलेसन, औषधि, अक्सिजन, भेन्टिलेटर र आइसियूको उचित प्रबन्ध गर्न माग गरेको छ । 

यसअघि आइतबार, सोमबार र मंगलबार कांग्रेसले देशभरि कोभिड– १९ संक्रमणको अवस्थाबारे आफ्ना नेता, कार्यकर्ता र जनप्रतिनिधिसँग प्रदेशस्तरीय भर्चुअल संवाद गरेको थियो । संवादका क्रममा तल्लो तहमा महामारीका कारण जनताले भोगिरहेको दुःख बाहिरिएको कांग्रेसका सहमहामन्त्री एवं कोभिड– १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बताए । पार्टीका प्रदेश र जिल्ला तहको नेतृत्वले महामारी नियन्त्रणमा सरकारको असफलताबारे चर्को आलोचना गरेको उनले सुनाए । भर्चुअल संवादका क्रममा नेताहरूले तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्नेदेखि कांग्रेसले आफ्नै लगानीमा अस्पताल खोलेर भए पनि जनताको जीवनरक्षामा ध्यान दिनुपर्ने सुझाब दिएका थिए । 

देउवाले ओलीलाई भेटेर ध्यानाकर्षण गराउने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेटका लागि समय मागेका छन् । देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ । देउवाले देशव्यापी छलफल र संसदीय दल कार्यसमितिको निर्णयपछि सरकारलाई त्यसबारे ध्यानाकर्षण गराउन लागेका हुन् । कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसका शीर्ष नेताले भेटमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि राज्यको सबै स्रोत, साधन र शक्ति खर्च गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराउने सहमहामन्त्री डा. महतले बताए ।