मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Thursday, 19 December, 2024
श्रवण थापा सर्लाही
२o७८ जेठ ५ बुधबार १o:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खर्बुजाले बजार पाएन, लाखौँको लगानी डुब्ने चिन्तामा किसान

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार १o:२५:oo

कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा उत्पादित लाखौँ मूल्यको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिकाको ७ नम्बर वडामा स्थानीय किसानले उत्पादन गरेको १५ लाख मूल्यबराबरको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले बताए । 

गिरीले राम्रो उत्पादन र आम्दानीको आसमा साहुको डेढ बिघा खेत भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समय घर्किंदो अवस्थामा छ । यता कोरोनाका कारण देशैभर निषेधाज्ञा लागेको  छ । अब खर्बुजा कहाँ लगेर बिक्री गर्ने ? उनी चिन्तामा परेका छन् । 

गिरी हरेक दिन बिहानै खर्बुजाको खेतमा पुग्छन् । खेतैभरि टिप्ने वेला भएको खर्बुजा हेर्छन् र घर फर्र्कन्छन् । कोरोनाले परिस्थिति बिग्रँदै जाँदा उनको मन झन् निराश हुँदै गएको छ । उनले फलेको खर्बुजा देखाउँदै भने, ‘यो अब कहाँ लगेर बेच्नु ? बजार सबै बन्द छ । आफैँले खाएर सक्ने कुरा पनि होइन । खर्बुजा बिक्री नभएपछि उनलाई खेती गर्दा ऋण गरेर लगानी गरेको ३ लाख २५ हजार रुपैयाँ कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

गिरीले साहुसँग बिघाको वार्षिक ७५ हजार रुपैयाँका दरले डेढ बिघा खेत भाडामा लिएको बताए । खर्बुजाबाट राम्रो आम्दानी होला र परिवारको भरणपोषण गरौँला भनेर लगाएको खेती बिक्री गर्न नपाउँदा निकै दुःख लागेको उनको गुनासो छ । उनले भने, ‘कस्तो आपत् आइलाग्यो, बिक्री हुँदैन, कसरी लगानी उठाउनु ?’ कोरोनाले निम्तिएको विषम परिस्थितिले सबैभन्दा धेरै किसानलाई क्षति भएको उनको कथन थियो । 

गिरीका अधिकांश साथीहरू वैदेशिक रोजगारमा छन् । केही व्यापार–व्यवसायमा रहेका छन् । तर, आफूलाई कृषि कर्ममा विशेष रुचि रहेको उनले बताए । गिरीले इजरायली नश्लका ५ जातका खर्बुजा लटरम्मै फलाएका छन्् । उनले लगाएका खर्बुजा एक थरी साढे ३ किलोसम्मका र अर्का थरी ५ किलोसम्मका फलेका छन् । उनका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको हो । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको गिरीले बताए । तर, बिक्री नहुँदा खर्बुजा कुहिन सुरु गरिसकेको छ । मौसमसमेत अनुकूल नबन्दा फल बोटबाट छुट्टिन थालेको उनको भनाइ छ ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री गर्न नसके सबै कुहिने उनको चिन्ता छ । पहिला कोरोनाका कारण भएको लकडाउनमा किसानले खेतमै ट्र्याक्टर लगाएर नष्ट गरेको उनले सुनेका रहेछन् । यसपटक आफ्नो पनि उस्तै अवस्था आएको गिरीले बताए । जिल्लामा कोरोेना संक्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।