१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ ४ मंगलबार १४:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल र दाल

बाँड्ने तयारीमा रहेको थप आठ हजार केजी चामल समाचार प्रभावको कारण नष्ट गर्ने निर्णय

Read Time : > 3 मिनेट
२०७८ जेठ ४ मंगलबार १४:३५:००

झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले पानी चुहिने गोदाममा एक वर्ष राखेर कुहिएको चामल वितरण गरेका हुन् । 

त्यस्तै अवस्थाको थप पाँच हजार केजी चामल नगरपालिकाले गोदाममै राखेको छ । सो चामल पनि विपन्नलाई वितरण गर्ने तयारी भइरहेका वेला नयाँ पत्रिकामा यससम्बन्धी समाचार आएपछि सोमबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले कुहिएको चामल नष्ट गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक वर्षसम्म पाँच हजार केजी चामल कुहाएर राखेको समाचार केही दिनअघि प्रकाशित भएको थियो । 

बैठकले गौरादहस्थित साझाको सरकारी भवनमा राखिएको चामल खान अयोग्य रहेको निष्कर्ष निकाल्दै नष्ट गर्ने निर्णय लिएको नगरउपप्रमुख गीता भेटवालले जानकारी दिइन् । ‘हामीले अनुगमन गर्‍यौँ । त्यो चामल कामै नलाग्ने गरी कुहिएको छ,’ उनले भनिन्, ‘अब चाँडै नस्ट हुन्छ ।’

नगरपालिकाले गत वर्ष ३८ रुपैयाँ प्रतिकेजीमा आठ हजार केजी चामल खरिद गरेको थियो । त्यसलाई मासिक दुई हजार रुपैयाँ सटर भाडा तिरी थन्क्याएर राखिएको थियो । ओस र पानी चुहिने भएकाले चामल कुहिएको थियो । तर, कुहिएकै अवस्थाको तीन हजार केजी चामल नगरपालिकाले विपन्न परिवारलाई बाँडेको हो । नगरपालिकाले एक सय १५ परिवारलाई प्रतिपरिवार २० केजीका दरले कुहिएको चामल र त्यस्तै अवस्थाको दुई केजी दाल वितरण गरेको थियो । 

विपन्न भन्छन्– पेट भर्नै परेको छ, अमिलो चामलको भातले भोक मेटेका छौँ
चामल लगेका विपन्नले कुहिएको चामल खानै मुस्किल परेको बताए । ‘रोजगारी गुम्दा छाक टार्ने मुस्किल परेका वेला नगरपालिकाले चामल दिने खबरले धेरै खुसी बनाएको थियो । तर, जब चामल र दाल हात पर्‍यो, खुसी सबै निराशामा परिणत भयो,’ गौरादह १ की सम्नी मुसहरले नयाँ पत्रिकासँग भनिनँ, ‘सबै चामल र दाल त बिग्रिएको रहेछ । चामल हेर्दै कालो छ । दालमा किरा परेको छ । चार–पाँचपटक पखालेर पकाउँदा पनि भात अमिलो हुन्छ ।’ उनले पेट भर्ने अर्को कुनै विकल्प नभएकाले कुहिएकै अमिलो चामलको भात खाएर भए पनि भोक मेट्ने गरेको दुखेसो सुनाइन् । ‘हामी गरिब पर्‍यौँ । मजदुरी गरेर खान काम बन्द छ, कुहिएकै चामल दाल भए पनि आँखा चिम्लिएर खानुपरेको छ,’ उनले भनिन् ।

गौरादह– १ डिठ्ठाचोकका अर्जुन ताजपुरिया सिटीरिक्सा चलाउँथे । वैशाख लागेयता महामारी सुरु भएसँगै उनको काम चलेको थिएन । त्यही समयमा नगरपालिकाले राहतस्वरूप चामल र दाल दिने खबर सुनेपछि राहत थाप्न गए । ‘२० केजी चामल र दाल ल्याएँ, तर कुहिएको रहेछ । निषेधाज्ञा नहुन्जेल त त्यो चामल थन्क्याएर राखेको थिएँ, रिक्सा चलाएको पैसाले किनेरै खाएँ । तर, अहिले काम पनि छैन, खाने बाटो पनि छैन, त्यही चामल र दाल खाँदै छु,’ उनले भने । 

नगरपालिकाले दिएको राहतको चामल र दाल खानै नसक्ने अवस्थाको रहेको सोही ठाउँकी सावित्रा मुसहरले बताइन् । ‘गरिब भनेर हेपेर यस्तो दिएको होला नि ! केही नभएपछि खानै पर्‍यो,’ उनले भनिन्, ‘भात त नाक थुन्दै खाँदै छु । दालमा किरा थियो । किरा फालेर पानीले पखालेर पकाएँ । तर, तीतो भएर खान सकिनँ । फालिदिएँ ।’

नगरप्रमुख साह भन्छन्– कुहिएको भए किन ‘कम्प्लेन’ गरेनन् ?
कुहिएको चामल र दाल वितरण गरेको गौरादहका नगरप्रमुख रोहितकुमार साहले भोकै परेका नगरवासीलाई राहत दिएको दाबी गरेका छन् । चामल कुहिएको विषयमा अहिलेसम्म जनप्रतिनिधिलाई कसैले गुनासो नगरेको उनको भनाइ छ । ‘गरिब जनताले खान पाएनौँ भनेर निवेदन हाले । भोका जनतालाई हामीले राहत दियौँ,’ उनले भने, ‘चामल कुहिएको थियो भने अहिलेसम्म हामीलाई कम्प्लेन किन गरेनन् ? मलाई त चामल कुहिएको छ भन्नेबारे जानकारी नै छैन ।’

आइतबार नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै नगरप्रमुख साहले यसबारेमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाएको बताएका थिए । तर, सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले वितरण गरिएको तीन हजार केजी चामलसँगै राखिएको बाँकी पाँच हजार केजी चामल खान नसक्ने अवस्थामा रहेको निष्कर्ष निकाल्दै नष्ट गर्ने निर्णय गर्‍याे ।

उपप्रमुख भन्छिन्– बिग्रिएको चामल नबाँडेको भए हुन्थ्यो
नगरप्रमुख साहले विपन्न नागरिकले भोकै परेको भनेर निवेदन दिएको बताए पनि उपप्रमुख भेटवालले भने कसैले पनि त्यस्तो निवेदन नदिएको दाबी गरिन् । ‘खान पाएनौँ, भोकै पर्‍यौँ भनेर अहिले कसैको निवेदन पनि आएको थिएन । खानै नसकिने अवस्थाको चाम कसरी वितरण भयो । यसबारे मेयर साबलाई नै धेरै थाहा होला,’ उपप्रमुख भेटवालले भनिन्, ‘बिग्रिएको चामल नबाँडेको भए हुन्थ्यो । लानेले पनि नराम्रो भएपछि फिर्ता गरेको भए हुन्थ्यो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गौरादहको नौवटा वडामा प्रत्येक वडाका १०–१२ घरलाई २० केजीका दरले चामल दिइएको बताए । तर, आफू आउनुअघि नै चामल वितरण गरिसकिएकाले कुन अवस्थामा थियो भन्नेबारे भन्न नसक्ने बताए । ‘करिब आठ हजार केजी चामल गोदाममा रहेछ । त्यहीबाट करिब तीन हजार केजी चामल वितरण गरेको रेकर्ड छ, गुणस्तर परीक्षणचाहिँ गरिएको छैन,’ उनले भने, ‘बाँकी पाँच हजार केजी चामल सटर लिएर थन्क्याएका छौँ । त्यो त अब काम लाग्दैन । यो बाँड्यो भने त जनता बिरामी पर्छन् ।’