१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Monday, 01 July, 2024
एजेन्सी लन्डन
२o७८ जेठ ४ मंगलबार o८:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

खुल्न थाल्यो युरोप

Read Time : > 2 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
२o७८ जेठ ४ मंगलबार o८:२८:oo

युरोपका सबैजसो देशहरूले आवश्यकताअनुसार तत्काल लकडाउन, नागरिकलाई नियन्त्रणमा राख्नेदेखि कर्फ्युसम्मको आदेश जारी गरे । फलस्वरूप अहिले युरोपले कोरोनामाथि नियन्त्रण कायम गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दा युरोप महामारीको निकै नै ठूलो चपेटामा पर्‍यो । त्यसवेला युरोपले कोभिड–१९ लाई निकै हल्का रूपमा लिएका कारण क्षति व्यहोर्नुपरेको थियो । तर, यस वर्ष फैलिएको कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न भने युरोपले निकै नै सतर्कता अपनाएको छ । कोरोना महामारीबाट पहिलो लहरमा झैँ विकराल अवस्था नआओस् भनेर अधिकांश युरोपियन देशले सुरुमै सुरक्षित रहने सबै विधि अपनाए ।

युरोमा सबैजसो देशहरूले आवश्यकताअनुसार तत्काल लकडाउन, नागरिकलाई नियन्त्रणमा राख्नेदेखि कफ्र्युसम्मको आदेश जारी गरे । यसैको फलस्वरूप अहिले युरोपले कोरोनामाथि नियन्त्रण लिएको छ । वल्डोमिटरअनुसार युरोपमा अहिलेसम्म चार करोड ६१ लाख आठ हजार सात सय ५८ जना संक्रमित भएका छन् । जसमध्ये चार करोड १९ लाख १० हजार दुई सय ३९ जना निको भइसकेका छन् । अहिले पनि युरोपमा ३१ लाख ४८ हजार चार सयजना संक्रमित नै छन् । महामारी सुरु भएयता यहाँ १० लाख ५० हजार एक सय १९ जनाले ज्यान गुमाए । 

युरोपमा ३० मध्ये २० देशमा लकडाउन हट्दै
युरोपका ३० मध्ये २० देशले लकडाउन पूर्ण रूपले हटाउने तयारी गरिसकेका छन् । यद्यपि बेलायतले धेरै अगाडि नै ‘अनलक’ गरिसकेको थियो । अब बेलायतकै बाटोमा इटाली, फ्रान्स र ग्रिस छन् । पश्चिमेली समाचार एजेन्सीहरूका अनुसार यी तीन देशले अर्को सातासम्म लकडाउन हटाउनेछन् । विश्वका अन्य देशहरू कोरोनाको दोस्रो लहरविरुद्ध संघर्ष गरिरहँदा युरोप भने सामान्य जीवनमा फर्किएको छ । सामान्य जीवनमा फर्कन लागे पनि युरोपियन देशहरूले विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले जारी गरेको स्वास्थ्य प्रोटोकलअनुसारै लकडाउन हट्ने जनाएका छन् । 

युरोपको यस सफलतापछाडि यहाँ भ्याक्सिनप्रतिको विश्वास र दूरदर्शी नीति नै हो । फेरि कोरोना महामारीका रूपमा फैलन सक्ने सम्भावना देखिएपछि युरोपले भ्याक्सिनेसन अभियानलाई बढीभन्दा बढी प्रभावकारी बनाएको हो । यी देशहरूले सबै नागरिकलाई भ्याक्सिन लगाउने नीति लिएका छन् । कतिपय देशले त आफ्ना नागरिकलाई एक सहरबाट अर्को सहरमा र वैदेशिक यात्रामा समेत रोक लगाएका थिए । 

बेलायत

दोस्रो लहर फैलिने क्रममा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि बेलायतले तत्कालै लकडाउन जारी गरेको थियो । बेलायती सरकारले दुई महिना कडा मापदण्ड लागू गरेपछि सोमबारदेखि लकडाउन हटाएको छ । यद्यपि बेलायतले नयाँ भेरियन्टबाट अझै पनि जोखिम रहेको जनाएको छ । आफ्ना नागरिकलाई खुला भए पनि आफू सुरक्षित रहन सरकारले आग्रह गरेको छ । बेलायतमा एकैपटक ६ जनासम्म बस्न पाउँछ । 

अस्ट्रिया
अस्ट्रियामा १९ मेदेखि लकडाउन हट्नेछ । यहाँ स्कुल, कलेज, खेलकुद, सिनेमाघर, होटेल तथा रेस्टुरेन्ट पूर्णकालीन खुला हुनेछन् । विदेशीको हकमा कोरोनाको रिपोर्ट नेगेटिभ हुनुपर्छ ।

स्विट्जरल्यान्ड

स्विस सरकारले गत सातादेखि नै सबैजसो प्रतिबन्ध हटाएको थियो । स्विट्जरल्यान्डमा अहिले होटेल, संग्रहालय, पसल, सिनेमाघर, पार्क तथा रेस्टुरेन्ट पूर्ण रूपले खुला भएका छन् । ग्रिसमा जस्तै स्विट्जरल्यान्डमा पनि विदेशी नागरिकले कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट र खोप लिएको प्रमाण प्रस्तुत गर्नुपर्छ ।  

फ्रान्स
फ्रान्समा १९ मेदेखि एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने अनुमति पाइने भएको छ । तर, रात्रिकालीन कफ्र्यु भने यथावत् छ । यसमा केवल समय मात्र परिवर्तन भएको छ । अब राति ७ बजेको स्थानमा ९ बजेदेखि मात्र कफ्र्यु जारी हुनेछ । १९ मेपछि पसलहरू, रेस्टुरेन्ट तथा सांस्कृतिक स्थान खुला हुनेछन् । 

स्पेन
स्पेनमा धेरैजसो प्रतिबन्ध हटिसकेको छ । तर, सर्वसाधारणलाई विभिन्न सर्त पालना गर्ने भनी ती प्रतिबन्ध हटाइएको हो । कोरोनाले जोखिम भएका सहरमा रात्रिकालीन कफ्र्यु यथावत् नै छ । घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । स्पेनमा तेस्रो मुलुकबाट सहजै नागरिकले प्रवेश पाउन सक्छन् । तर, उनीहरूले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्छ । 

इटाली

गत वर्ष कोरोनालाई सामान्य रूपमा लिँदा यहाँ महामारीले भयानक रूप लिएको थियो । सोही कारण सचेत बन्दै यसपटक भने इटालीले सुरक्षाका सबै रणनीति अपनाएको छ । इटालीमा २ जुनदेखि सबै प्रतिबन्ध र लकडाउन खुला हुनेछ । अहिले इटालीमा समुद्र, पर्यटन स्थल, रेस्टुरेन्ट, सिनेमा घर तथा संग्रहालय खुला भइसकेका छन् । 

ग्रिस
ग्रिसमा रेस्टुरेन्टमै बसेर गफ गर्न सकिन्छ । यहाँका विभिन्न धार्मिक तथा पयर्टन क्षेत्र खुला भएका छन् । विदेशीहरूलाई पनि भ्रमणका लागि छुट दिएको छ । तर, विदेशी नागरिकले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्छ । यदि कोरोनाविरुद्धको खोप लगाएको छ भने यसको पनि प्रमाण प्रस्तुत गर्नुपर्छ । अहिले ग्रिसमा अनिवार्य क्वारेन्टाइन व्यवस्था हटाइएको छ । 

ad
ad
ad
ad