१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o४:oo

धेरै पहिलेको घटना हो । दुई मित्र एउटा घना जङ्गलको बाटो हुँदै सहरतिर जाँदै थिए । गर्मी निकै थियो । बिचबिचमा रोकिँदै, आराम गर्दै, खोल्सामा भेटिएको पानीले प्यास मेटाउँदै उनीहरू अघि बढिरहे । लामो बाटो पार गर्नुपर्ने हुनाले दुवैले घरबाटै खाजा बनाएर साथमा ल्याएका थिए । भोक बढ्दै गएपछि दुवैले एउटा फराकिलो ढुंगामा बसेर खाजा खाने सहमति गरे । 

उनीहरू कुराकानी गर्दै खाजा खाँदै थिए । कुरैकुरामा कुनै विषयलाई लिएर दुवैबीच विवाद सुरु भयो । विवाद यति बढ्यो कि पहिलो साथीले जुरुक्क उठेर दोस्रो साथीको गालामा एक थप्पड लगायो । थप्पड खाएर पनि दोस्रो साथीले कुनै प्रतिक्रिया जनाएन । उसले केवल एउटा सानो छेस्को टिप्यो र माटामा लेख्यो– आज मेरो सबैभन्दा मिल्ने साथीले मलाई एक थप्पड हिर्कायो । यसैबीच दुवैले चुपचाप खाजा खाइसके । केही बेरपछि दुवैले सँगसँगै यात्रा सुरु गरे । तर, दुवैबीच आपसमा बोलचाल भने भएन । अघि बढ्दै जाँदा केही अघि थप्पड खाने साथी चिच्याएको आवाज आयो ।

भूलवश ऊ दलदलमा फसेको थियो । साथी त्यसरी दलदलमा फसेको देखेपछि पहिले थप्पड हिर्काउने साथीले अनेक प्रयत्न गरेर उसलाई दलदलबाट बाहिर निकाल्यो । दलदलबाट बाहिर निस्किसकेपछि दलदलमा फस्ने साथीले एउटा अलि कडा खालको ढुंगो टिप्यो र अर्को ढुंगामा घोटीघोटी लेख्यो– आज मेरो सबैभन्दा मिल्ने साथीले मेरो ज्यान बचायो । 

यो सब देखेपछि थप्पड हिर्काउने साथीले उसलाई सोध्यो– मैले थप्पड हिर्काएपछि तिमीले माटामा लेख्यौ, अहिले ढुंगामा लेखिरहेका छौ ? यसको कारण के हो ? अर्को साथीले ऊतिर हेर्दै जवाफ दियो– नराम्रो काम हावाको झोकासँगै मेटिएर जाओस् भनेर मैले माटामा लेखेको थिएँ भने राम्रो कामचाहिँ कहिल्यै नमेटियोस् भनेर यसरी ढुंगामा लेखेको हुँ । साथीको जवाफले थप्पड हिर्काउने साथीका आँखा रसाए ।

ad
ad