मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३१ शुक्रबार
  • Wednesday, 18 December, 2024
ललितपुरविरुद्ध गोल गरेपछि खुसी मनाउँदै काठमाडौंका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o७८ बैशाख ३१ शुक्रबार o६:५२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनएसएलको उपाधिका लागि  काठमाडौं र धनगढी भिड्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ३१ शुक्रबार o६:५२:oo

एनएसएलको पहिलो संस्करणमा धनगढी र काठमाडौंले तेस्रोपटक प्रतिस्पर्धा गर्ने पक्का भएको छ । लिग, प्लेअफ र फाइनल तीनै चरणमा यी दुई टोली आमने–सामने हुने भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्स भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा छिमेकी टोली ललितपुर सिटी एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले धनगढीसँगको उपाधि भिडन्त निश्चित गरेको हो । यसअघि धनगढी पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 

यससँगै एनएसएलको पहिलो संस्करणमा धनगढी र काठमाडौँले तेस्रो पटक प्रतिस्पर्धा गर्ने पक्का भएको छ । लिग, प्लेअफ र फाइनल तीनै चरणमा यी दुई टोली आमने सामने हुने भएका छन् । अघिल्लो दुई भेटमा धनगढीले बाजी मारेको छ । कम्तीमा नतिजाको दृष्टिकोणले प्रतियोगिताको दुई उत्कृष्ट टोलीबीचको तेस्रो भेटमा भने उपाधिको पनि टुङ्गो लाग्नेछ । अर्थात्, काठमाडौं र धनगढीमध्ये एक टोली नेपालमा पहिलोपटक आयोजित फ्रेञ्चाइज फुटबल प्रतियोगिता एनएसएलको पहिलो विजेता टोली बन्नेछ । काठमाडौंले लिग अंक तालिकाको शीर्ष स्थान र धनगढीले दोस्रो स्थानमा रहेर प्लेअफको प्रतिस्पर्धा सुरु गरेका थिए । 

उत्कृष्ट प्रदर्शन गरेर पनि स्कोरिङमा चुक्दा एनएसएलमा ललितपुरको फरक यात्रा दोस्रो क्वालिफायरमा आएर रोकिएको छ । सुरुवाती चार खेलसम्म जितविहीन रहेको ललितपुरले त्यसपछिको बाँकी खेल सबैमा जित हात पार्दै प्लेअफमा मात्रै स्थान सुरक्षित गरेन, इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरसम्म आइपुगेको थियो । 

ललितपुरले आफ्नो यो यात्राबाट कम्तीमा नियमितको प्रयास र मिहिनेतले अन्तिम अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।इलिमिनेटरमा प्रतिस्पर्धा गरेको २४ घन्टा पनि नबित्दै क्वालिफायरजस्तो महत्वपूर्ण प्रतिस्पर्धाका लागि तयार भएको ललितपुरले उत्कृष्ट प्रदर्शन गरेको हो । यद्यपि, अग्रपंक्तिमा गरेको गल्तीका कारण ललितपुर आवश्यक नतिजा निकाल्न असफल देखियो । टोली उपाधि होडबाट बाहिरिएपछि ललितपुरका प्रशिक्षक राजु तामाङले खेलाडी थाकेका कारणले पनि आवश्यक नतिजा हात पार्न नसकेको प्रतिक्रिया दिए ।

यस्तै, उनले काठमाडौंका विदेशी खेलाडीलाई रोक्न नसक्नु पराजयको अर्काे कारण बनेको बताए । ‘२४ घन्टाअघि मात्रै इलिमिनेटरमा बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गरेकाले पनि खेलाडी थाकेका थिए,’ उनले भने, ‘त्यसका बाबजुद पनि खेलाडीले राम्रै खेलेका हुन् । तर, काठमाडौंका विदेशी खेलाडीले राम्रो प्रदर्शन गरे । आज उनीहरूलाई रोक्न नसक्दा पराजित हुन पुग्यौँ ।’

काठमाडौंलाई दुई विदेशी खेलाडीको भर
खेलमा पहिलो आक्रमण ललितपुरले गरेको थियो । खेल सुरु भएको आठौँ मिनेटमै ललितपुरका कप्तान अञ्जन विष्टले दिएको बललाई डी बक्सको कर्नरअघिबाट नुर्लान नोभ्रुजोभ जहिदले क्रस गरेका थिए । तर, काठमाडौंका गोलरक्षक विकेश कुथुलाई समेत नाघेर आएको उक्त बललाई ललितपुरका अर्का विदेशी खेलाडी भिलिम पोसिन्कोभिकले खाली पोस्टमा प्रहार गर्न सकेनन् । 

त्यसपछि भने ललितपुरले काठमाडौंको दबाब व्यहोर्‍यो । विशेष गरी ललितपुरलाई काठमाडौंका दुई अफ्रिकी खेलाडी मेसोके ओलोउमोउ र स्टेफेन बिनोङको प्रहार रोक्न मुस्किल पर्‍यो ।

काठमाडौंले उनै मेसोकेको गोलमार्फत खेलमा अग्रता लिएको थियो । उनले पेनाल्टी अवसर सदुपयोग गरेका थिए । ललितपुरका कमल श्रेष्ठले बल लिएर अघि बढिरहेका मेसोकेलाई आफ्नो डी बक्सभित्र लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी अवसर दिएका थिए । सोही अवसर मेसोकेले काठमाडौंलाई अगाडि बढाए । 

पेनाल्टीमा मेसोकेको प्रहारलाई ललितपुरका गोलरक्षक अर्पण कार्कीले सही ठम्याएका थिए । यद्यपि दायाँतर्फ डाइभ गरेका अर्पणको हातमा लागेर बलले गोललाइन पार गरेको थियो । 

काठमाडौंले मेसोकेकै व्यक्तिगत दोस्रो गोलबाट अग्रता दोब्बर बनायो । खेलको २२औँ मिनेटमा तेज तामाङले दिएको बललाई डी बक्सभित्रबाट गोलमा परिणत गर्दै मेसोकेले काठमाडौंलाई २–० ले अघि बढाएका थिए । 

त्यसपछि खेलको ६०औँ मिनेटमा स्टेफेनले गोल गर्दा काठमाडौंको जित ३–० ले पक्का भएको थियो । स्टेफेनको गोल ललितपुरका रक्षकहरूको गल्तीमा सम्भव भएको हो । तेजले नै क्रस गरेको बललाई स्टेफनले ललितपुरको डी बक्सभित्र सहज नियन्त्रण लिँदै गोलमा परिणत गरेका थिए । त्यसवेला उनलाई रोक्न ललितपुरका कुनै पनि रक्षक थिएनन् । 

त्यसअघि खेलको नवौँ मिनेटमै स्टेफेनले ललिपुरको सिक्स यार्ड बक्स कर्नरमार्फत प्रहार गरेको बल साइड बारमा लागेर फर्किंदा काठमाडौं गोलबाट चुकेको थियो । 

टोली फाइनलमा पुगेपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले मिहिनेतको प्रतिफल प्राप्त भएको प्रतिक्रिया दिए । ‘छोटो तयारीका बाबजुद प्रतियोगितामा सहभागी भएर हामी फाइनलसम्म पुगेका छौँ । यसमा खेलाडी, प्रशिक्षण टोली, क्लब व्यवस्थापन सबैको मिहिनेत परेको छ’, प्रशिक्षक बालगोपालले भने, ‘हामी यो प्रतियोगितामा अब धनगढीसँग तेस्रोपटक भिड्दै छौँ । अघिल्लो दुईपटक पराजित भएपछि यो भेटले हामीलाई उपाधि जित्दै धनगढीसँगको त्यो खराब नतिजाको इतिहास मेटाउने अवसर पनि दिएको छ । हामी त्यो अवसरको सदुपयोग गर्न चाहन्छौँ ।’