गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहेका छन् । साथसाथै इजरायलभित्रै पनि अरब र यहुदी समुदायबीच सडकमा हिंसात्मक झडप भइरहेका समाचार सार्वजनिक भएका छन् ।
हिंसामा उत्रेका दुवै समुदायले सवारीसाधन, रेस्टुरेन्ट र यहुदी प्रार्थनागृहमा आगो लगाइदिएका छन् । दुवै समुदायको मिश्रित बसोवास रहेको सहर लोडका मेयरले यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गरेका छन् ।
अरबविज्ञ एवं अधिकारवादीहरूले जेरुसेलममा भड्किएको हिंसाले अर्को गाजामा युद्ध निम्त्याउने सम्भावना रहेको दाबी गरेका छन् । यही क्रममा बुधबार राति एक–अर्कामाथि प्रतिशोध राखेर रकेट आक्रमण गरेका छन् । दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरबी व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर कारमा सवार व्यक्तिलाई रक्ताम्य हुने गरी कुटपिट गरे । अस्पतालमा उपचार गराइरहेका ती कारचालकको अवस्था जटिल रहेको बताइएको छ ।
यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले एउटा अरबीले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहुदीहरूले टेलिभिजनको प्रत्यक्ष प्रसारणमै ‘अरबीहरू मर्नुपर्छ’ भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी सहर टिबेरियाजमा इजरायली झन्डा बोकेका अतिवादीहरूले सम्भवतः अरबी चढेको कारमाथि ढुंगामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।
यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट पनि प्यालेस्टिनी विद्रोहीहरूले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । त्यसको प्रतिशोधमा इजरायलले पनि भीषण सैन्य कारबाही गरिरहेको छ ।
गत सोमबारदेखि एक–अर्काबीच आक्रमणको सिलसिला भएको हो । यसबीचमा इजरायलले हमास लडाकु रहेको भन्दै गाजाका दुईवटा अग्ला भवन ढालिदिएको छ । सो भवनमा निसाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्वसाधारणलाई खाली गर्न चेतावनी दिएको थियो । इजरायली सेनाका अनुसार अहिलेसम्म एक हजार ६ सय क्षेप्यास्त्र गाजा क्षेत्रमा प्रहार गरिएको छ जसमध्ये चार सयवटा गाजा सहरमै खसेका थिए । इजरायली सेनाले ६ सयभन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकु रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ । हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली राष्ट्रपति रुभेन रिभलिनले अहिले देश गृहयुद्धमा पर्न थालेको बताएका छन् । उनले आफ्ना नागरिकलाई शान्तिको बाटो अपनाउन आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहुही र अरब दुवै समुदायलाई एक–अर्काविरुद्ध आक्रमण नगर्न आग्रह गरेका छन् । ‘तपाईंहरूमा रगत उम्लिरहेको होला, त्यससँग मलाई मतलब छैन । तपाईंहरूले कानुन हातमा लिन सक्नुहुन्न,’ प्रधानमन्त्री बेन्जामिनले भने । यसैबीच प्रहरीले हिंसात्मक भिडन्तमा सहभागी झन्डै चार सय व्यक्तिलाई गिरफ्तार गरेको छ ।
इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको हो । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरूको गठबन्धनमा अब्बासको पनि मूख्य भूमिका देखिएको छ ।
अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताएका छन् । ‘यदि युद्धविराम भए हामी नयाँ सरकार गठनका बारेमा फेरि छलफलमा जुट्नेछौँ,’ अब्बासले भने । अरब अल्पसंख्यकले इजरायलको कुल जनसंख्याको झन्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरू मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुवै पक्षबीच युद्धविरामको प्रयास जारी रहेको जनाएका छन् । तर, खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषद्ले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । महासचिव एन्टोनियोले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई टेलिफोन वार्तामा आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाव मत्थर पार्ने गरी वरिष्ठ कूटनीतिज्ञ त्यसतर्फ पठाइने जानकारी दिएका छन् ।