पाकिस्तानका बाबर अजाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । आइसिसीले अप्रिल महिनामा विश्वभरका खेलाडीले गरेको प्रदर्शनका आधारमा नेपालका कुशल भुर्तेल, पाकिस्तानका फखर जमान तथा पाकिस्तानकै बाबरलाई प्लेयर अफ दी मन्थमा मनोनीत गरेको थियो । आइसिसीले गत साता मात्र तीनजना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
आइसिसीले स्वतन्त्र मतदान अनुसार पाकिस्तानका बाबर गत महिनाको उत्कृष्ट खेलाडी घोषित भएको सोमबार जनाएको हो । बाबरले यो उपाधि हात पार्न आफ्नै देशका फखर र नेपालका कुशललाई पछि पारेका हुन् । आइसिसीको वेबसाइटमा आएको समर्थकको भोटिङ र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो ।
आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २–२ प्रतिनिधि छन् । यसैगरी थप २ जना अन्य प्रतिनिधि गरी स्थायी सदस्यमा २६ जना रहेका छन् । आइसिसी भोटिङ एकेडेमीको भोट ९० प्रतिशत र आइसिसीको वेबसाइटमा फ्यानहरूले रजिस्टर भोटको १० प्रतिशत गणना भएको थियो ।
गत महिना बाबरले दक्षिण अफ्रिकाविरुद्धका टी–२० र एक दिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बाबरले एक दिवसीय खेलमा दक्षिण अफ्रिकाविरुद्ध दुई सय २८ रन र टी–२० मा तीन सय पाँच रन प्रहार गरेका थिए । उनले एक दिवसीय र टी–२० मा समान एक शतकीय इनिङ्स खेलेका थिए ।
नेपालका टी–२० राष्ट्रिय पुरुष टोलीका ओपनर कुशलले यसै महिना नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक सिरिजमा डेब्यू अवसर पाएका थिए । डेब्यू गरिरहेको सिरिजअन्तर्गत पहिलो तीन खेलमै अर्धशतकीय इनिङ्स खेल्दै कुशलले सनसनी मच्याउनुका साथै विश्व कीर्तिमानसमेत कायम गरेका थिए । समग्रमा कुशलले पाँच खेलमा चार अर्धशतकीय इनिङ्सको रेकर्ड राखे । यसै प्रदर्शनका आधारमै कुशललाई आइसिसीले अप्रिल महिनाको प्लेयर अफ दी मन्थमा मनोनीत गरेको हो । त्रिकोणात्मक सिरिजमा कुशलले पाँच खेलमा दुई सय ७८ रन जोडेका थिए । आइसिसीको टी–२० पुरुष ब्याटिङमा कुशल ६१औँ स्थानमा छन् ।