मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २६ आइतबार १२:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस–जसपा भेटवार्ता : महन्त ठाकुरले भने- हामी तटस्थ बस्छौँ, उपेन्द्र–बाबुरामको भर नपर्नुहोस्

Read Time : > 1 मिनेट
२०७८ बैशाख २६ आइतबार १२:५८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेलाई विपक्षी दलहरूको वैकल्पिक सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । देउवाले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन र संविधान, लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर वैकल्पिक सरकार गठनका लागि आग्रह गरेका हुन् । 

शनिबार मात्रै कांग्रेसको संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउने, असफल बनाउन अन्य दलहरूलाई पनि आग्रह गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । देउवाले आइतबार बिहानै जसपाका अध्यक्ष ठाकुर र नेता महताेलाई बोलाएर छलफल गरेका हुन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह भने यसअघिदेखि नै वैकल्पिक सरकारको पक्षमा उभिएको छ । पार्टीभित्र दुई समूहबीच मतभेद भएपछि जसपाले अहिलेसम्म विश्वासको मत वा वैकल्पिक सरकार भने निर्णय लिन सकेको छैन । 

बुढानीलकण्ठस्थित आफ्नै निवासमा पुगेका ठाकुर र महताेसँग देउवाले करिब डेढ घन्टा छलफल गरेका छन् । सत्तारुढ नेकपा एमालेमा माधव नेपाल समूहले राजीनामा दिने अवस्था आइसकेकाले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछिका विभिन्न विकल्पहरूमाथि छलफल भएको जसपाका एक नेताले बताए । 

कुराकानीका क्रममा देउवाले कांग्रेस र जसपा दुवै लोकतान्त्रिक शक्ति भएकाले मिलेर जानुपर्ने कुरामा जोड दिएका थिए । ‘उहाँले लोकतान्त्रिक शक्तिहरू मिलेर जाऔँ, विपक्षीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुँदैन, त्यसपछि विपक्षी दलहरू मिलेर बहुमतको सरकार बनाएर अघि बढौँ,’ भेटमा देउवाले भनेको कुरा ठाकुरलाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने । 

जवाफमा जसपाका नेताहरूले पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेकाले उपेन्द्र–बाबुरामको भर नपर्नुहाेला भनेर सुझाएका छन् । ‘अहिले हामी निर्णयमा पुगेका छैनौँ, अहिलेसम्म आएका कुरा व्यक्तिगत कुरा मात्रै हुन् । उपेन्द्र–बाबुरामको भर नपर्नुहोला । एमालेकै माधव नेपाल समूहले पनि राजीनामा दिने अवस्था भएकाले अब हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिदैनौँ, तटस्थ बस्छौँ,’ ठाकुरले भनेका थिए । 

अध्यक्ष ठाकुरले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछिको अवस्थामा भने वैकल्पिक सरकारभन्दा लोकतान्त्रिक प्रक्रियाबाट चुनावमा जान उपयुक्त हुने भनेका थिए । ‘प्रधानमन्त्री ओलीले हाम्रो मागहरूमाथि सम्बोधन गर्न सुरु गर्नुभएको छ । त्यसैले अहिले नै जसपाले वैकल्पिक सरकारका बारेमा सोचेको छैन । फेरि वैकल्पिक सरकारले पनि अहिलेका समस्याहरूको समाधान गर्न सक्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा चुनावको विकल्प छैन,’ भेटमा ठाकुरले भनेको उद्धृत गर्दै एक नेताले भने । 

अध्यक्ष ठाकुरले कांग्रेस र जसपाका लागि साझा र सहज विकल्प चुनाव हुने बताएका छन् । ठाकुरनिकट ती नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत हाल्ने कुरामा पार्टीभित्र विवाद हुने र विभाजनतर्फ जाने भएकाले आफूहरूले मत हाल्नु र नहाल्नुको अर्थ नहुने अवस्थामा आफूहरू तटस्थ बस्दा उपयुक्त हुने प्रस्ताव पार्टीको शीर्ष नेताहरूको बैठकमा उठ्दै छ । जसपाका शीर्ष पाँच नेताहरूबीच दिउँसो २ बजे छलफल हुँदै छ ।