मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २६ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ बैशाख २६ आइतबार o७:५o:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिडले शिक्षा क्षेत्र अस्तव्यस्त

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २६ आइतबार o७:५o:oo

परीक्षा रोकिए पनि माथिल्लो कक्षा पढाउने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस महामारीका कारण परीक्षा रोकिए पनि माथिल्लो कक्षामा पठनपाठन गराउने तयारी गरेको छ । कोभिड–१९को संक्रमण बढेपछि सञ्चालन भएर अन्तिमतिर पुगेका परीक्षासमेत वैशाख दोस्रो सातामा रोकिएका थिए । निषेधाज्ञा सुरु भएसँगै स्नातक तहमा सञ्चालन भइरहेका परीक्षा रोकिएका थिए । यस्तै, स्नातकोत्तर तहमा सुरु हुन लागेका परीक्षा स्थगित भएका थिए । स्नातक दोस्रो वर्ष र स्नातकोत्तर तहमा तेस्रो सेमेस्टरको हुन लागेको परीक्षा रोकिएका थिए । 

धर्मकान्त बास्कोटा, उपकुलपति, त्रिवि

नीतिगत रूपमा पास भइसकेकाले माथिल्लो कक्षामा जान समस्या छैन । एउटा तह पार गर्ने विद्यार्थी कम छन्, परिस्थिति हेरेर परीक्षा लिन्छौँ । अवस्था सहज भएमा केही समयमा अनलाइनबाटै भए पनि बाँकी भएको परीक्षा लिन सकिनेछ ।

त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले परीक्षा नदिए पनि माथिल्लो कक्षामा वैकल्पिक विधिबाट पढ्न सक्ने व्यवस्था गर्न लागेको जानकारी दिए । अहिले एउटा तह पार हुने विद्यार्थीको संख्या धेरै नभएको र एउटा तहभित्र माथिल्लो वर्ष वा सेमेस्टरमा पढाउन सकिने उनको भनाइ छ । ‘नीतिगत रूपमा पास भइसकेकाले माथिल्लो कक्षामा जान समस्या छैन,’ उपकुलपति बास्कोटाले भने, ‘एउटा तह पार गर्ने विद्यार्थी कम छन्, परिस्थिति हेरेर परीक्षा लिन्छौँ ।’ अवस्था सहज भएमा केही समयमा अनलाइनबाटै भए पनि बाँकी भएको परीक्षा लिन सकिने उनले बताए । 

एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी थिए । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी थियो । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी थिए । अधिकांश विद्यार्थीका एक÷एक विषय मात्र परीक्षा दिन बाँकी थियो । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका छन् । त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

प्रथम वर्षमा दुई ब्याच, पुरानो प्रथम वर्षका विद्यार्थीले २० महिनासम्म पनि परीक्षा फारम भर्न पाएनन्
त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षमा अहिले दुई ब्याच विद्यार्थी छन् । ०७६ भदौमा भर्ना भएका पुरानो प्रथम वर्षका विद्यार्थीले समेत परीक्षा दिन पाएका छैनन् । त्रिविले पुरानो प्रथम वर्षका लागि परीक्षा फारम खुलेको सूचना निकाले पनि अधिकांश विद्यार्थीले भर्न पाएनन् । पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले कोभिडका कारण प्रथम वर्षका विद्यार्थीलाई कम्तीमा दुई वर्ष लाग्ने देखिएको यस्तै अवस्था लम्बिएमा पूरा गर्न अझै धेरै समय लाग्ने बताए । नयाँ प्रथम वर्षको विद्यार्थीको ०७७ माघमा भर्ना खुलेको थियो । नयाँ प्रथम वर्षले अध्ययन गरिरहेका छन् । मानविकीका दोस्रो वर्षका विद्यार्थीले झन्डै दुई वर्ष एउटै कक्षामा बिताउन लागेका छन् । तेस्रो वर्ष सकिने वेलामा कोभिडका कारण दोस्रो वर्षमा छन् । कोभिडका कारण चलिरहेको परीक्षा रोकिएपछि अहिलेसम्म तेस्रो वर्ष प्रवेश गर्न पाएका छैनन् ।

चिकित्सा शिक्षाका प्रवेश परीक्षा स्थगित
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । आगामी जेठ दोस्रो सातादेखि एकीकृत प्रवेश परीक्षा लिने तयारी गरे पनि कोभिडको संक्रमण उच्च दरले फैलिएकाले अनिश्चितकालका लागि स्थगित गरेको हो । 

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले सिसिएमसीको सुझाबअनुसार स्नातक तहका प्रवेश परीक्षा बिहीबार स्थगित गरेको बताए । सिसिएमसीले कोभिडको संक्रमणको दर सामान्य अवस्थामा आएमा र सरकारबाट निषेध आदेश निष्क्रिय भएमा मात्र परीक्षा सञ्चालन हुन सक्ने भनी शिक्षा मन्त्रालयलाई जवाफ पठाएपछि परीक्षा स्थगित भएको हो । पहिलोपटक हुन लागेको स्नातक तहको एकीकृत परीक्षामा अनलाइनमार्फत ३२ हजार दुई सय ८५ विद्यार्थीले फारम भरेका छन् । सबैभन्दा बढी एमबिबिएसका लागि १० हजार सात सय ३४ विद्यार्थीले फारम भरेका छन् । त्यसैगरी, बिडिएसका लागि चार हजार पाँच सय २४, बिएससी नर्सिङमा चार हजार पाँच, बिएनमा तीन हजार चार सय ८०, बिफाममा तीन हजार एक सय ९० जनाले फारम भरेका छन् । 

वार्षिक प्रणालीका विद्यार्थीलाई अनलाइन परीक्षा कठिन
सेमेस्टर प्रणालीमा सञ्चालन भएका कार्यक्रममा सीमित विद्यार्थी हुने र प्रविधिमा समेत अलि बढी पहुँच भएकाले अनलाइन पठनपाठन र परीक्षा सम्भव हुने भए पनि वार्षिक प्रणालीमा कठिन भएको सरोकारवाला बताउँछन् । परीक्षा नियन्त्रक जोशीले वार्षिक प्रणालीका विद्यार्थी जहाँ छन्, त्यहीँको जिल्लामा रहेका नजिकको केन्द्रबाट परीक्षा लिन सकिने भए पनि अनलाइन परीक्षा सम्भव नभएको बताए । प्रविधिको पहुँच नहुने र अधिकांशको आर्थिक अवस्थाका कारण पनि सबै विद्यार्थीलाई समेट्न कठिन हुने उनको भनाइ छ । वार्षिक प्रणालीमा अध्ययन गरेका विद्यार्थीको आन्तरिक मूल्यांकनसमेत नहुने भएकाले परीक्षा लिएर मात्र माथिल्लो कक्षामा लैजान सकिने एक क्याम्पस प्रमुखले बताए । 

एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा : महामारीमा परीक्षा के हुने भन्ने निर्णय नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । १३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको छ । एसइईका लागि सबै जिल्लाबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् । 

अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ : डा. चन्द्रमणि पौडेल अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा केन्द्र जिल्लाबाट सिफारिस भएर आएर प्रश्नपत्र छपाइ गरी केही प्रदेशको प्याकिङसमेत भइसकेको छ । तत्काल प्रश्नपत्र ढुवानी गराउने अवस्था छैन, अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ । त्यसैले परीक्षाका विषयमा छिट्टै निर्णय गर्छौँ ।

महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ । महामारीका कारण परीक्षा के हुने हो भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थी सरकारको निर्णयको पर्खाइमा छन् ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले वैकल्पिक विषयमा सरकारले छिट्टै निर्णय गर्नुपर्ने बताए । ‘विद्यार्थीको परीक्षा धेरै किसिमले लिन सकिन्छ । आवश्यकताअनुसार ऐन र कार्यविधि संशोधन गरेर परिस्थिति अनुकूल बनाउन सकिन्छ,’ उनले भने, ‘अवस्था तत्काल सामान्य हुने देखिँदैन । त्यसैले अघिल्लो वर्षको एसइईजस्तै शिक्षकले मूल्यांकनको व्यवस्था गर्नुपर्छ । मापदण्ड राम्रो बनाएमा आन्तरिक मूल्यांकन पनि विश्वसनीय बनाउन सकिन्छ । धेरै उपल्लो ग्रेड छ भने शिक्षकले कारण खुलाउनुपर्ने व्यवस्था गर्न सकिन्छ ।’

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ०७७ को एसइई परीक्षाका लागि करिब पाँच लाख १५ हजार विद्यार्थीले आवेदन भरेका छन् । कक्षा १२ को यकिन विवरण नआए पनि करिब साढे चार लाखको हाराहारीमा हुने आकलन छ । नेरिक एकेडेमीका प्रिन्सिपल मन खत्रीले सरकारले औपचारिक निर्णय नगरेका कारण अहिले पनि एसइईका विद्यार्थीलाई समेत अनलाइन कक्षा लिइरहेको बताए । ‘एसइई हुन्छ कि हुँदैन भनेर विद्यार्थीले सोधिरहेका हुन्छन् । सरकारले एउटा निर्णय गरेमा अन्योल हट्थ्यो,’ उनले भने । सरोकारवालाले पनि शिक्षा मन्त्रालयलाई आकस्मिक योजना बनाएर अघि बढ्न सुझाब दिएका छन् । अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विकल्पसहितको आकस्मिक योजना बनाएर शिक्षा मन्त्रालय अघि बढ्नुपर्ने बताए । अघिल्लो वर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको सुझाब छ । 

‘अहिले एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्छ । पछि एसइई अरू कक्षाको जस्तै गरी मूल्यांकन गर्ने र कक्षा १२ का विद्यार्थीलाई घरमै प्रश्न पठाएर उत्तर लेख्न लगाएर मूल्यांकनको व्यवस्था गर्नु उचित हुन्छ,’ उनले भने । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले वेलैमा सूचना दिएर अन्योल हटाउने बताए । ‘परीक्षा केन्द्र जिल्लाबाट सिफारिस भएर आएर प्रश्नपत्र छपाइ गरी केही प्रदेशको प्याकिङसमेत भइसकेको छ,’ उनले भने, ‘तत्काल प्रश्नपत्र ढुवानी गराउने अवस्था छैन, अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ । त्यसैले परीक्षाका विषयमा छिट्टै निर्णय गर्छौँ ।’ 

काठमाडौं महानगरपालिकाले कक्षा आठको परीक्षा ३ जेठबाट लिने तय गरेको थियो । यो परीक्षा पनि अहिलेसम्म स्थगित गरिएको छैन । कोरोना संक्रमणकै कारण अघिल्लो वर्ष पनि एसइई परीक्षा सुरु हुने अघिल्लो दिन स्थगित भएको थियो । प्रश्नपत्र छपाइ भएर परीक्षा केन्द्रनजिकैको प्रहरी चौकीसम्म पुगेका थिए । राष्ट्रिय परीक्षा बोर्डले ०७६ को एसइईका प्रश्नपत्र नष्ट गर्न निर्देशन दिएको थियो । यसपटक शिक्षा मन्त्रालय प्रधानमन्त्रीसहितसँग छलफल गरेर मात्र निर्णय गर्ने योजनामा छ । अघिल्लो वर्ष शिक्षा मन्त्रालयले एउटा निर्णय गर्ने र त्यसभन्दा माथिल्लो निकायबाट अर्कै निर्णय आउने भएकाले यसपटक निर्णय गरिने शिक्षाका एक अधिकारीले बताए । 

कक्षा १२ को परीक्षाका प्रश्नपत्र अब अनलाइनबाटै 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इन्टरनेट सुविधा भएको ठाउँमा मात्रै परीक्षा केन्द्र राख्ने तयारी गरिएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय गरी बोर्डले परीक्षाको तयारी गरिरहेको छ । हिमाली जिल्लाका सदरमुकाममा पनि इन्टरनेटको सुविधा भएकाले अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको छ । प्रश्नपत्र छपाइ नगर्दा करिब तीन करोड रुपैयाँ बचतसमेत हुने बोर्डको विश्लेषण छ । अघिल्लो वर्ष कोरोनाका कारण आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । हिमाली जिल्ला र इन्टरनेटको सुविधा नभएका ठाउँमा बोर्डले प्रश्नपत्र छपाइ गरेर पठाएको थियो । अघिल्लोपटक अनलाइनबाट प्रश्नपत्र पठाएर सफल परीक्षा सञ्चालन भएकाले अब सबै केन्द्रमा इमेलमार्फत नै प्रश्नपत्र पठाइने बोर्डका एक अधिकारीले बताए ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल भन्छन्–भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था छैन, सरकारले छिट्टै निर्णय गर्नुपर्छ

अहिले भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था छैन । अब के गर्ने भन्ने विषयमा सरकारले छिट्टै निर्णय लिनुपर्छ । विद्यार्थीको परीक्षा धेरै किसिमले लिन सकिन्छ । आवश्यकताअनुसार ऐन र कार्यविधि संशोधन गरेर परिस्थिति अनुकूल बनाउन सकिन्छ ।

तत्काल अवस्था सामान्य हुने देखिँदैन । त्यसैले अघिल्लो वर्षको एसइईजस्तै शिक्षकले मूल्यांकनको व्यवस्था गर्नुपर्छ । मापदण्ड राम्रो बनाएमा आन्तरिक मूल्यांकन पनि विश्वसनीय बनाउन सकिन्छ । धेरै उपल्लो ग्रेड छ भने शिक्षकले कारण खुलाउनुपर्ने व्यवस्था गर्न सकिन्छ । विश्वसनीय मूल्यांकन गर्नु शिक्षकको दायित्व पनि हो ।