१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २५ शनिबार ०८:२७:००
Read Time : < 1 मिनेट
अर्थ

पर्यटक फर्काउन लुक्लामा उडान हुने

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २५ शनिबार ०८:२७:००

सगरमाथा क्षेत्रको भ्रमणमा गएका पर्यटकलाई फर्काउन सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएको छ । आरोहण सिजन भएकाले हजारौँको संख्यामा रहेका आरोही तथा तिनका सहयोगीलाई फर्कनका लागि लुक्लामा उडानको अनुमति दिइएको हो ।

आरोहणको उचित समयको पर्खाइमा आधारशिविरमा अहिले रहेका आरोही तथा सहयोगीहरूलाई असहज अवस्थामा उद्धार गर्न तथा  आरोहणबाट फर्कनेहरूलाई काठमाडौं लैजानुपर्ने भएकाले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

उडान अनुमतिले आरोहणपश्चात् फर्कन तथा फाटफुट रूपमा आएका पर्यटकलाई फर्कन सजिलो हुने आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस्तै, सेभेन समिट क्लबका प्रमुख ङिमागेलु शेर्पाले लुक्लालाई उडान अनुमति दिएकोमा राम्रो काम भएको बताए । 

नेपाल वायुसेवा कम्पनीले आपत्कालीन अवस्थामा काठमाडौंबाहेक बाहिरका लुक्लाको तेन्जिङ हिलारी, पोखरा, नेपालगन्ज र सुर्खेत नागरिक उड्डयन कार्यालय गरी थप चार विमानस्थल कार्यालयबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको हो ।

यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो । त्यस अवस्थामा वायुसेवा कम्पनीहरूले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने प्राधिकरणले जनाएको छ ।