मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २४ शुक्रबार १०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यनेपालमा अक्सिजनसहित अस्थायी कोभिड अस्पताल सञ्चालन

Read Time : < 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार १०:१३:००

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६० पुग्याे

लमजुङकाे मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि नगरपालिकाले मध्यनेपाल १, जिताबेंसी निबुवाटारीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । 

मध्यनेपाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले निबुवाटारीको सहरी स्वास्थ्य केन्द्र नजिकैको सूर्यज्योति माविको पुरानो भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । 

अस्पतालका लागि नगरपालिकाले एकजना एमबिबिएस डाक्टर, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी खटाएको छ । पौडेलका अनुसार नगरपालिकाले कोभिड अस्पताललाई निरन्तरता दिई थप अक्सिजनको व्यवस्था गरेको हो । 

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पाँच बेड बनाएर सबै बेडमा अक्सिजन राखिएको बताए । उनका अनुसार २५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन् । नगरपालिकाले हरेक साताको सोमबार भोर्लेटार र रम्घामा दुई स्थानबाट स्वाब संकलन गर्ने व्यावस्थासमेत मिलाएको छ । 

यस्तै, लमजुङमा बिहीबार २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कन्ट्रयाक्ट ट्रेसिङको क्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बेसीसहर नगरपालिकाका १२, सुन्दरबजार नगरपालिकाका १४ जना र  दोर्दी गाउँपालिकाका  एकजनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएका संक्रमितसहित हालसम्म लमजुङका ६२ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये एकजना जिल्लाबाहिरका छन् भने एकजनाको एक साताअघि नै मृत्यु भइसकेको छ । 

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६० रहेको छ  । संक्रमित सबै होम आइसोलेसनमा छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डिसिसिएमसीले जनाएको छ ।