नकारात्मकतालाई सकारात्मक सोचले प्रतिस्थापित गरेपछि खुसीको प्रवेश हुन थाल्छ, जीवनमा सौन्दर्य र स्वच्छता छाउँछ, ठूलो उपकार बन्न जान्छ
चीनको वुहान सहरमा उत्पत्ति भएर विश्वभर फैलिएको कोरोना भाइरसले विश्वशक्तिसामु नै भयानक प्रश्न जन्माइदिएको छ । विज्ञानका ठूला–ठूला आविष्कार गरेर चन्द्रमा र मंगल ग्रहसम्म बस्ती बसाउन सक्ने असीमित सफलताको दाबेदार मानव जाति कोरोनासँग यति लामो अवधिसम्म किन हायलकायल छ ? ब्रह्माण्डका सम्पूर्ण जीवजगत्लाई मात्रै होइन, पर्यावरणलाई समेत आफ्नो निगाहमा राख्न उद्यत् मानव जातिको रहरले नै कहर निम्त्याएको बहस यो प्रश्नसँगै झन् पेचिलो बनेको छ । शक्तिशाली बन्ने नाममा मानव–मानवबीच, देश–देशबीच चलेका विभिन्न प्रकारका द्वन्द्वले विश्वलाई प्रलयतिर धकेलिरहेको हुँदा थप चिन्ता बढेको छ ।
आफूलाई सफल ठान्ने सर्वश्रेष्ठ प्राणी मान्छे आखिर किन दुःख र तनावमा छ ? यो सबै हुनुमा सकारात्मक सोच, खोज र रोजको अभाव नै हो । अधिकार माग्नेले कर्तव्य नसम्झँदा, सकारात्मक धारणालाई नकारात्मक पार्दा, विद्वान्हरू सत्यबाट डगमगाउँदा, सभ्यताको नाममा समय अवस्थाअनुसार बानी व्यवहार नसुधार्दा यो दुर्दशा निम्तिएको हो । आफू नै शक्तिमान् बन्ने नाममा अन्य जीवजगत् र पर्यावरणमा हस्तक्षेप गर्दा मान्छेले नै कोरोनाजस्ता महामारीलाई निम्तो दिएर दुःख भोगिरहेको छ ।
हामी मानव सबैभन्दा बुद्धिमान् सामाजिक प्राणी हौँ । त्यसैले बिराएको बाटोबाट फर्किएर सही बाटो पहिल्याउन सक्ने क्षमता पनि हामीसँग छ । चाहियो त केवल सकारात्मक सोच । विगतका भोगाइ र कर्मलाई इतिहास मान्दै आगामी दिनलाई विनाश होइन विकासतिर, नाश गर्ने क्रान्ति होइन शान्तितिर, पतन होइन समृद्धितिर मोड्न सकियो भने हाम्रो दुःख पक्कै सुखमा रूपान्तरित हुनेछ । सभ्य, संस्कारयुक्त जीवनशैली, नैतिक शिक्षा र जीवनोपयोगी सीपका लागि सकारात्मक सोच, खोज र रोजका साथ अघि बढ्नु नितान्त आवश्यक छ ।
संसारमा ४२ सयभन्दा बढी धर्म छन् । संसारभर सबभन्दा धेरै र छरिएका क्रिस्चियनहरू हुन् । त्यसपछि इस्लाम मतको बहुलता मानिन्छ, हिन्दू तेस्रोमा छ । अधिकतर हिन्दू एसियामा बस्छन् । चौथोमा बुद्ध धर्म पर्छ र यो धर्म मान्नेहरू पूर्वी एसियामा बढी छन् । सबै धर्मले सकारात्मक सोच, खोज र रोजलाई महŒव दिएका छन् । सबै धर्मका कथनले उदाहरणीय जीवनको मार्गदर्शन गरेका छन् । तर, पनि मानिस यति अशान्त र विभ्रान्त किन छ ?
सकारात्मकलाई कुनै पक्ष वा विचारको समर्थन वा अनुमोेदन गर्ने, मञ्जुरी जनाउने, स्वीकृति सूचकको रूपमा परिभाषित गर्न सकिन्छ । साथै, यसलाई रचनात्मक, निश्चित, निश्चयात्मक, निःसन्देह, स्पष्ट र पक्काको समानार्थीमा पनि उपयोग गरिन्छ । तर, त्यसविपरीत नकारात्मकतालाई निषेध, अस्वीकृतिको अर्थमा बुझिन्छ ।
सकारात्मक शब्दको प्रयोग (नजरमा) फलानो धेरै सकारात्मक देखियो, (जवाफमा) सकारात्मक उत्तर आयो, सकारात्मक बातचित भयो (छलफलमा), इत्यादि सामान्य रूपमा उपयोगमा ल्याइएको पाइन्छ ।
सकारात्मक सोच, खोज र रोज (रोजाइ) नै सबैभन्दा ठूलो पुण्य वा धर्मकार्य हो भन्दा फरक नपर्ला । यसै सन्दर्भमा जीवनमा सुस्वास्थ्य, सफलता, सुखी, सन्तुष्टि र समृद्धिका लागि विश्वस्तरको सोच, (राष्ट्रिय तथा स्थानीय आवश्यकताअनुरूपको कर्म, तुरुन्तै र सकारात्मक सुरुआत जरुरी हुन्छ । हरेक दिनलाई विशेष दिन सम्झिएर सकारात्मक रूपले अगाडि बढ्न, हरेक दिन सकारात्मक रूपले स्वच्छतासाथ जीवनयापन गर्न, सकारात्मक र प्रसन्न भएर हाँस्न र हँसाउन, हरेक दिन कृतज्ञता र समानुभूतिपूर्ण भएर बाँच्न, मधुरताका साथ सद्भाव देखाउन सके जीवन सत्यम्, शिवम्, सुन्दरम् बन्न पुग्छ । वास्तविकतालाई अँगाल्दै संकल्पित हुने हो भने हामी सकारात्मक जीवन बाँच्न सक्छौँ । त्यसैले सकारात्मक पक्षलाई नै बानी बनाउन आवश्यक छ । म गर्न सक्छु भन्ने सकारात्मक आचरणबाट सुरु गरिएको क्रियाकलापले सोहीअनुरूपको परिणाम दिन्छ । हाम्रो जीवनोपयोगी ज्ञानसहितको सीप र दक्षताले हामीलाई प्रखर, सार्थक र महान् बनाउँछ । जटिल गाँठाहरू फुकाएर जीवन सहज बनाउँछ । जुन व्यक्तिको धारणा नै गलत वा पूर्वाग्रही छ, त्यस्तो मानिस हैसियतकै भए पनि समाजको बाधक बन्छ । अनावश्यक हठ र तर्कले समय बर्बादबाहेक केही गराउँदैन । सकारात्मक छलफल विद्वताको परिचायक हो भने अनावश्यक तर्क मूर्खहरूको कर्म हो ।
सकारात्मक मान्छेले जीवन जिउने कलालाई वासनादार फूलको रूपमा हेर्छ । नकारात्मक मान्छेले काँडा ठान्छ । त्यसैले जीवनभर खुसी हुनु छ भने सकारात्मक सोच, खोज र रोजका साथ सबैसँग मित्रवत् व्यवहार गरी ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय’को भावनाले सबैको हित र कल्याण सोचौँ । नकारात्मकतालाई सकारात्मक सोचले प्रतिस्थापित गरेपछि खुसीको प्रवेश हुन थाल्छ, जीवनमा सौन्दर्य र स्वच्छता छाउँछ, ठूलो उपकार बन्न जान्छ । यसर्थ, सकारात्मक सोचाइ सर्वाेत्तम सुरुवात हो । सकारात्मक जीवनोपयोगी ज्ञान, सीप एवं व्यवहारको विकास आजको आवश्यकता हो । सकारात्मक सोच राख्ने मानिस जीवन सुन्दर, शान्त र विशाल छ भन्नेमा विश्वास राख्छ र सफल हुन्छ ।
कोभिड–१९ को महामारीले पारेको विनाशलाई नेपालगन्जका नर्सहरूले पु¥याएको उत्कृष्ट मानवीय सेवालाई सम्मान गर्दै ‘कुन्ती स्मृति प्रतिष्ठान’ले ताम्रपत्र प्रदान गर्दै मे ५ लाई ‘विश्व सकारात्मक दिवस’को सुरुवात गरेको छ । हामीले नाजायज अभिलाषा, होडबाजी त्याग गरी कोभिड–१९ जस्ता विभिन्न कारणले उब्जाएको नकारात्मकतालाई परास्त गर्न अधिकार मात्र होइन, कर्तव्यको पनि ख्याल राख्नुपर्छ । ती नर्सको तस्बिरले निराशाका बीच सकारात्मक सन्देश प्रवाहित गरेको छ । सकारात्मकता नै जीवनको आशा हो । यसले हामीलाई संकटसँग जुझ्ने शक्ति दिन्छ ।
(नमस्तेलाल सरसफाइ अभियन्ता हुन्)