मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा प्रदेश प्रमुखले दिउँसै रात पार्ने काम गरे : खाण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार १९:१९:००

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरविपरीत अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेर दिउँसै रात पार्ने काम गरेको बताएका छन् । उनले प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहको कर्म संसदीय पद्धतिको विपरीत भएको प्रतिक्रिया दिए । ‘यो संविधानको मर्म र भावनाविपरीत मात्रै होइन, लोकतन्त्रको उपहास हुने काम हो, बहुमत सांसदको हस्ताक्षर एकातिर भएको अवस्थामा अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्ति गर्ने कुरा संविधान र लोकतन्त्रको बर्खिलाप हो,’ प्रमुख सचेतक खाणले भने । 

उनले नेकपा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षरविपरीत प्रदेश प्रमुख शाहले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर दिउँसै रात पारेको बताएका हुन् । 

खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रदेश प्रमुख शाहले संविधानमा उल्लेखित व्यवस्थाविपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए । ‘केपी ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतिविपरीत काम गर्दै आएका हुन् । अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतिविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ उनले भने । उनले प्रदेश प्रमुखको विधिविपरीतको कामको कांग्रेसले विरोध गर्ने बताए ।